सातौं लुम्बिनी महोत्सवः ५० प्रतिशत तयारी सम्पन्न


भैरहवा– यस पटक भैरहवामा आयोजना हुने सातौं लुम्बिनी महोत्सव–२०८२ केही फरक बनाउने तयारी गरिएको छ । जसअनुसार महोत्सवमा फिस टनेल, जलपरी, आइफिल टावर लगायत निर्माण भइरहेका छन् । यस्तै, महोत्सवमा बाल उद्यानको मनोरञ्जन र विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती मुख्य आकर्षण छ ।
आयोजक चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)का अध्यक्ष सचिन रोक्काले महोत्सवले कृषि, पर्यटन, उद्योग र व्यापार प्रबद्र्धन गर्ने मुख्य उद्देश्य राखेको जनाए ।
नेपालमैं पहिलो पटक भियतनामबाट चारजना महिला जलपरी ल्याएर घण्टौंसम्म पानीभित्र विभिन्न आकर्षक क्रियाकलापको प्रदर्शनी गरिने र महोत्सवको टिकटदर पहिला भन्दा सामान्य केही थप भए पनि त्यस भित्रै जलपरी, फिस टनेल र समग्र महोत्सवको अवलोकन गर्न पाउने जनाइएको छ । यस्तै, महोत्सवमा तराईदेखि हिमालका उत्पादन खरिद तथा अवलोकन गर्न पाइने छ । मंसिर ३ देखि २१ गतेसम्म सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा हुने महोत्सवको हालसम्म ५० प्रतिशत बढी तयारी भइसकेको महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका अध्यक्ष रोक्काले बताए ।
अध्यक्ष रोक्काका अनुसार मंसिर १–२ गतेसम्म महोत्सवको पूरा तयारी भइसक्नेछ । महोत्सवको तयारीमा ३५ वटा उपसमिति जुटेको उनले जनाए । ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवले स्वदेशी उत्पादनको विशेष रुपमा बजारीकरण गर्ने अपेक्षा गरिएको छ ।
‘यसपटकको मेला अझ स्तरीय र अब्बल सावित हुनेछ । फरक किसिमका हेर्न लायक वस्तुहरु र उत्पादन राख्ने छौं । हामी सबैलाई महोत्सवको अवलोकन गर्न र सहभागी हुन आग्रह गर्दछौं’, रोक्काले भने । अध्यक्ष रोक्काले महोत्सवलाई सफल बनाउन सबैलाई आ–आफनो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।
लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलको विकास गर्ने र लुम्बिनीलाई यस क्षेत्रको पर्यटकीय आर्थिक पर्यटनको रुपमा विकास गर्ने, परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी राष्ट्रिय, साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहन स्वरुप प्रवद्र्धन गर्ने लगायत महोत्वको उद्देश्य रहेको उनको भनाई छ ।
संस्थाका निवर्तमान अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका सह–संयोजक दर्पण श्रेष्ठले यो महोत्सव यहाँका स्थानीय र उद्योगी–व्यवसायीले चाडपर्वको रुपमा मनाउनृ विश्वास व्यक्त गरे ।
महोत्सवमा यस क्षेत्रको रैथाने खेलको रुपमा परिचित कुस्ती प्रतियोगिता यसपटक पनि सञ्चालन गरिने छ । श्रेष्ठअनसार तीन दिनसम्म सञ्चालन हुने कुस्तीमा महिला पहलमानको पनि सहभागिता रहनेछ । ‘मसिर ३ गते झाँकीसहितको र्यालीपश्चात महोत्सवको उद्घाटन गरिनेछ । महोत्सवको अवलोकन गरी सबैलाई सफल बनाउन म आग्रह गर्दछु’, उनले भेन ।
संस्थाका वरिष्ठ उपाध्यक्ष तथा स्टल दर्ता व्यवस्थापन उपसमिति संयोजक राममिलन यादवले महोत्सवमा २५० बढी स्टल रहने जानकारी दिए । उनले अहिले धेरैले स्टल बुकिङ गरिसकेको जनाउँदै सबैलाई समयमै स्टल बुकिङ गर्न आग्रह गरे । महासचिव लक्ष्मी अधिकारीले संस्थामा दर्ता रही नविकरण भएका सम्पूर्ण साधारण सदस्य एवं आजीवन सदस्यहरुलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहेको जनाइन् । उनले महोत्सव आकर्षक बनाउने गरी काम गरिरहेको जनाइन् ।








प्रतिकृया दिनुहोस्