बजारभरी तस्करीबाट भित्र्याइएका प्लास्टिकका फूलमाला छ्यापछ्याप्ती, स्वदेशी फूल उत्पादक मर्कामा (भिडियो रिपोर्टसहित)


भैरहवा– तिहारमा प्लास्टिकजन्य माला प्रयोग नगर्न सरकार र स्थानीय पालिकाहरुले आह्वान गरेका छन् । तर, रुपन्देही लगायत आसपासमा तराईका जिल्लाहरुमा भने प्रतिबन्धित मालाको खुलेयाम खरिदविक्री भइरहेको छ । तर, नियामक निकायले भने अवैध मालाको विक्री रोक्ने भने कुनै ध्यान दिएका छैनन् ।
सरकारले प्रतिबन्ध गर्नुको मुख्य कारण– स्वदेशी फूलको प्रबद्र्धन गर्न र वातावरण संरक्षण हो । तर, सीमावर्ती जिल्लाहरुमा भने खुलेयाम प्रतिबन्धित प्लास्टिकका माला विक्री हुँदा कुनै किायले रोकावट गरेको देखिँदैन । तिहारलाई लक्षित गरेर अहिले रुपन्देही लगायत आसपासका तराईका जिल्लाहरुमा छ्यापछ्याप्ती प्लास्टिकका माला विक्रीका लागि राखिएको छ ।
पाइलैपिच्छे प्रतिबन्धित प्लास्टिकका माला विक्री भइरहे पनि नियामक निकायमले भने नियन्त्रणका लागि कुनै चासो नदेखाएको कृषकहरुको गुनासो छ । भन्सार कार्यालयहरुबाट अहिले यस्ता माला आयात पूर्णरुपमा रोकिएको छ । तर, नेपाल–भारत दुबै तर्फका व्यवसायी र घुमन्ते व्यापारीले नेपाली गाउँ–सहरमा प्रतिबन्धित माला भित्र्याएर विक्री गरिरहेका छन् ।
ठाउँठाउँमा तिहार लक्षित संचालित पसल र कतै हाटबजारहरुमा समेत प्लास्टिकका माला विक्री भइरहेका छन् । तर, नियामक निकाय जिल्ला प्रशासन र स्थानीय तहले भने अनुगमन र प्रतिबन्धित माला जफत गर्न कुनै ध्यान दिएका छैनन् । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले केही दिनसम्म अनुगमन गर्दा बजारमा प्लास्टिकका माला नदेखिएको तर हाल आएर एकाएक बजारभरी त्यस्ता माला देखिने गरेको जनाए ।
‘हामीले पालिकाहरुलाई पत्र काटेर अनुगमन गर्न भनेका छौं । प्रशासनले पनि अनुगमन गर्छ’, उनले भने, ‘हाम्रो आग्रह स्वदेशी ओर्जिनल फूलको प्रयोग गर्नु भन्ने नै हो । यसैमा ध्यान दिन आम उपभोक्तालाई आग्रह गर्छौं ।’ सबै पालिकामा उपप्रमुख तथा उपाध्यक्षको नेतृत्वमा र जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन समिति छ । तर, यी सबै अनुगमन समिति निस्प्रवाही छन् । जसले गर्दा बजारमा प्रतिबन्धित प्लास्ष्टिकका मालाहरुको कारोबार बढेको छ ।
सीमा क्षेत्रमा खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरुले समेत माला भित्र्याइरहेका छन् । सुरक्षा निकायमले समेत कुनै रोकतोक गरेको देखिँदैन । यसपटक तिहारका लागि स्वदेशमै प्रशस्त थुँगे, मखमली लगायतका फूल उत्पादन छ । तर, अवैध बाटोबाट प्रतिबन्धित प्लास्टिकको माला भित्रिँदा एकातर्फ यसले स्वदेशी पुष्प र प्लान्ट व्यवसायी मर्कामा छन् भने अर्कातर्फ करोडौंको राजस्व गुमिरहेको छ । अझ जथाभावी प्लाष्टिकका माला प्रयोगले वातावरणमा समेत नकारात्मक प्रभाव पारिरहेको छ ।
पुष्प तथा प्लान्ट व्यवसायी दीपक भगतले प्लास्टिकको माला भित्रिँदा आफूहरुको व्यवसायमा नराम्रो मर्का परेको बताउँछन् । उनी भन्छन्, ‘प्लास्टिकको माला सस्तो पर्छ । मखमली र थुंगे फूल उत्पादनमै लागत बढी हुन्छ’, उनले भने, ‘कम्तिमा सरकारी घोषणा कार्यान्वयन भए राम्रो हुन्थ्यो । कार्यान्वयन नै हुँदैन । पूरै तस्करी भएर प्लास्टिकका माला आयात भइरहेका छन् ।’
हुनतः प्लास्टिकका माला निषेधको घोषणाविपरीत बजारमा यसको कारोबार भइरहने कुरा नयाँ भने होइन । विगतमा पनि यस्तो घोषणा गरिएका थिए, तर कार्यान्वन पक्ष निकै फितलो थियो । यसपटक पनि उस्तै नियती दोहोरिएको छ । सरकारले आयातमा प्रतिबन्ध लगाएपछि भन्सार कार्यालयहरुले यसको कार्यान्वयन गरेका छन् । तर, अनुगमन नहुँदा सधैं मौकाको फाइदा उठाउने समूहले पने खुलेयाम प्रतिबन्धित प्लास्टिक मालाको अवैध बाटोबाट आयात गरी व्यापार गरिरहेका छन् ।
भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले भन्सार विन्दुबाट प्लास्टिक र अन्य कुनै पनि फूलमाला आात नभएको बताउँछन् । उनले भने, ‘सरकारले रोक लगाएपछि हामीलाई भन्सार विभागबाट पनि परिपत्र आएको छ । त्यसैले भन्सारबाट प्लास्टिकका फूलमाला आयात छैन । चोरीतस्करी भएर आयात भएको भए हामीले जफत गर्छौं ।’ प्रतिबन्धित प्लास्टिकका माला बजारमा निकै सस्तोमा विक्री हुँदा पुष्प व्यवसायीले लागत समेत उठाउन नसकेको गुनासो गरेका छन् ।








प्रतिकृया दिनुहोस्