तिहारका बेला कुचो, नुन र धनिया बढी बिक्री, यस्तो छ कारण


भैरहवा– घर नजिकै चोकमा किराना पसल सञ्चालन गर्दै आएका सिद्धार्थनगर–९, गोलीगढका व्यवसायी प्रकाश कोइरीले शनिवार बिहानै बजारबाट साढे २ सय थान कुचो किनेर बिक्री गर्न पसलमा ल्याए ।
अन्य दिन मुस्किलले चार–पाँच वटामात्र बिक्रीका लागि पसलमा कुचो राख्ने गरेका कोइरीले शनिवार एकै दिन साढे २ सय थान कुचो किनेर बिक्रीका लागि राख्नुको कारणमा भने शनिवारको धनतेरस र दुई दिनपछि आउँदै गरेको लक्ष्मीपुजा हो ।
‘तिहारको वेलामा धनतेरस र लक्ष्मी पुजाको दिन आर्थिक सम्पन्नवालाले सुन, चाँदी समेत किन्ने प्रचलन छ भने निम्न र सामान्य बर्गका मानिसले सामान्यतया भाँडावर्तन, कुचो, नुन, धनिया किन्ने प्रचलन छ’, कोइरीले पब्लिक कुरासँग भने, ‘त्यसैले आज अन्य दिन भन्दा अत्यधिक बिक्री हुने भएकाले कुचो धेरै परिमाणमा किनेर ल्याएको छु । नुन र धनिया भने पसलमैं प्रशस्त स्टक छ ।’
शनिवार बिहानदेखि दिउँसोसम्म १ सय भन्दा धेरै कुचो बिक्री भैसकेको जानकारी दिँदै कोइरीले कुचो किन्ने ग्राहकको भिड साँझमा बढी लाग्ने गरेको सुनाए । ‘सकिन लाग्यो भने फेरि बजारमा गएर किनेर ल्याउँछु’, उनले भने ।
कोइरीले जस्तै भैरहवा क्षेत्रका सवै किराना पसलमा शनिवार बिक्रीका लागि धेरै परिमाणमा कुचो राखिएका छन् । भैरहवाको प्रत्येक पसल र सडकको चोकहरुमा बिक्रीका लागि कुचोको बण्डलहरु राखिएका छन् । बजारमा कुचोको अत्याधिक माग छ ।
धनतेरस र लक्ष्मीपुजाका दिन धेरै खरिद हुने भएपछि यस वर्ष तिहारको वेला ३० करोड रुपैयाँ भन्दा बढीको कुचोे किनबेच हुने अनुमान व्यवसायीको छ । तिहारका बेला फूलमाला र माटोका पालाजस्तै कुचोको माग पनि धेरै परिमाणमा हुने गर्दछ ।
नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले यस बर्ष अनुमान गरिएको मुलुकभरी ३० करोड रुपैयाँ मूल्यको कुचोको हुने कारोवारमध्ये काठमाडौं उपत्यकामा मात्रै ८ देखि १० करोड रुपैयाँ बराबरको हुने अनुमान गरिएको बताए ।
तिहारका बेला नेपालका मुख्य सहरहरूमा मात्र नभएर भारतीय बजारमा पनि नेपाली कुचोको माग उच्च हुने व्यवसायीहरू बताउँछन् । चलनचल्तीमा झाडु र अम्रिसोको कुचो बढि प्रयोगमा आउने गर्छ ।
जेनजी आन्दोलन र केही दिन अघि विभिन्न जिल्लामा आएको बाढी पहिरोले धेरै दिनसम्म सडक अवरुद्ध भएकाले बजारमा कुचोको सहज आपूर्ति गर्नमा समस्या भएको छ ।
कार्कीका अनुसार काभ्रे, काठमाडौं लगायत ठाउँमा व्यावसायिक रूपमा वर्षैभरि कुचो उत्पादन गर्ने कारखानामा उत्पादित कुचो र धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, पाल्पा र पश्चिमी पहाडी जिल्लाबाट बनेर आउने कुचोको समग्र कारोबार यो अनुमानमा समावेश छ ।
भारतको असम क्षेत्रमा स्थानीय कुचोको उत्पादनमा वृद्धि भएपछि भारततर्फको कुचो निर्यातमा भने यस वर्ष मूल्य घटेको अध्यक्ष कार्कीले बताए । ‘निर्यात परिमाण गत वर्षको अनुपातमा नै भए पनि मूल्य कम छ’, कार्की भन्छन् ।
नेपालले हरेक वर्ष १ अर्ब रुपैयाँभन्दा बढी मूल्यको कुचो बाहिरी मुलुकमा निर्यात गर्दै आएको छ । तिहार लक्षित गरी कुचोको मुख्य निर्यात असोज महिनामा हुने गर्छ ।
चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा १६ करोड ५० लाख ६१ हजार रुपैयाँको २५ लाख २ हजार ३ सय ८० थान कुचो भारत निर्यात भएको छ ।
दिपावली पर्वको धनतेरस र लक्ष्मी पुजाका दिन कुचो, नुन र धनियाको खरिद गर्नुको कारण के हो त ? सिद्धार्थनगर नपा–९, गोलीगढ निवासी सँस्कृितबिद तथा प्राध्यापक गितादेवी शर्मा देवी लक्ष्मीमातासँग जोडिएको प्रचलन र शरीरमा सकारात्मक उर्जाको बिश्वास र आर्थिक कारण रहेको बताउँछिन् ।
‘देवी लक्ष्मीलाई सरसफार्इ मन पर्ने र तिहारको वेला सरसफाइ गरेपछि लक्ष्मी घरमा आउछिन् भन्ने मान्यता अनुरुप लक्ष्मीका लागि सरसफाइ गर्दा नयाँ र पबित्र कुचोले गर्नु पर्छ भन्ने मान्यता हो’, शर्माले भनिन्, ‘तसर्थ कुचोलाई एक हिसावले लक्ष्मीको प्रतिकको रुपमा पनि लिने गरिन्छ ।’
शर्माका अनुसार, धनियाको बास्ना पनि लक्ष्मीलाई मन पर्छ भन्ने मान्यता छ । धनियाको प्रयोगले शरीर स्वस्थ्य हुन्छ । नुन पनि समुन्द्रदेखि आउने हुँदा सामुन्द्रिक तत्वहरुको समिश्रण हुने हुँदा सकारात्मक उर्जा प्राप्त हुन्छ भन्ने मान्यता हो ।
‘सुन चाँदी किन्ने आर्थिक हैसियत सवैको हुँदैन । तर, कुचो, नुन धनिया भने सवैले किन्न सक्ने भएकाले यि बस्तुको खरिद बढि हुने गरेको हो’, शर्माले भनिन्, ‘अर्कोतर्फ यि सामान किनेपछि सधैँ प्रयोगमा आउने खेर नजाने भएकाले पनि बजारमा बढी किनमेल हुने गरेको हो ।’
कुचोको आन्तरिक माग बढ्नुको मुख्य कारण लक्ष्मी पूजा र धनतेरसमा कुचो पूजा गर्ने संस्कृति नेपालभरि फैलिनु हो ।








प्रतिकृया दिनुहोस्