July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

फूलको उत्पादन बढेपछि किसान उत्साहित

Advertisement

भैरहवा– यस वर्ष लुम्बिनी प्रदेशमा फूलको उत्पादन बढेपछि किसान उत्साहित देखिएका छन् । स्वदेशमै उत्पादन बृद्धि भएपछि बिदेशमा माला आयात गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । बुटवलस्थित लुम्बिनी प्रदेश कृषि निर्देशनालयले गत वर्षभन्दा सयपत्री र मखमलीको उत्पादन बढेको जनाएको छ ।

Advertisement

निर्देशनालयका अनुसार गत वर्ष लुम्बिनी प्रदेशमा ३ लाख ८ हजार ५ सय किलो सयपत्री उत्पादन भएको थियो । यस वर्ष ३ लाख २३ हजार ९ सय २५ किलो उत्पादन भएको छ । गत वर्ष २४ हजार ४ सय ९५ मखमली माला उत्पादन भएकोमा यस वर्ष २६ हजार माला उत्पादन भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका बागवानी विकास निर्देशक सन्देश धितालले प्रदेशमा विभिन्न फूल खेती गरिने जमिनको क्षेत्रफल पनि विस्तार भएको बताए ।

गत वर्ष सयपत्री फूल २५ दशमलव ७२ हेक्टरमा खेति गरिएको थियो । यसपाली २७ दशमलव ०१ हेक्टर खेती बिस्तार भएको छ । गत वर्ष शून्य दशमलव ३३ हेक्टर मखमली खेती गरिएकोमा यसपटक शून्य दशमलव ३५ हेक्टरमा खेती बिस्तार भएको निर्देशनालयले जनाएको छ ।

गत वर्ष तिहारमा लुम्बिनी प्रदेशमा सयपत्री फूल १२ करोड ३४ लाख रुपैयाँको बिक्री भएकोमा यस वर्ष १२ करोड ९५ लाख ७० हजार रुपैयाँको कारोबार हुने अनुमान कृषि निर्देशनालयले गरेको छ । मखमली फूलको गत वर्ष ८ लाख ५७ हजार रुपैयाँको उत्पादन भएकोमा अहिले १० लाख ४० हजार रुपैयाँ बराबरको उत्पादन भएको अनुमान गरिएको छ ।

बुटवल उपमहानगरपालिका–१५, चम्कीपुरमा रहेको फोकस मल्टी एग्रो कन्सर्न एण्ड रिसर्च सेन्टरले अहिले १० कट्ठामा फूल खेती गरेको छ । गत वर्ष ८ कट्ठामा खेती गरेका राजेशले यस वर्ष तिहारको फूलबाट राम्रो आम्दानी हुने भएकाले क्षेत्रफल बढाएको छ । अहिले यहाँ ७ हजारभन्दा धेरै माला उत्पादन हुने आकलन गरिएको छ ।

विगतका वर्षहरूभन्दा अहिले मौसम पनि राम्रो भएकाले फूलको उत्पादनमा वृद्धि भएको हो । बुटवल उपमहानगरपालिकाभित्र तिहार लक्षित फूल उत्पादन गर्ने व्यावसायिक कृषि फर्महरूले कात्तिक २ गतेबाट बुटवलको ट्राफिक चोकमा फूल र माला बिक्री गर्ने स्टल राख्ने छन् । अहिले पनि १४ जना स्थानीय महिलालाई फूल टिप्न र माला बनाउन रोजगारी दिइएको छ । निर्देशनालयले फूल उत्पादन गर्ने किसान बढ्न थालेपछि तालिम प्रदान गरिरहेको जनाए ।