एकीकृत बस्तीको उपयोग नै भएन


गुल्मी– प्राकृतिक आपत परेपछि बिस्थापित परिवारलाई राहत दिन निर्माण गरिएको एकीकृत बस्तीको उपयोग हुन सकेको छैन । एकीकृत बस्तीमा मानव बसोबास नभएपछि अहिले झाँडी पलाएको छ । बस्तीमा निर्माण गरिएका घर खेर गएका छन् । पीडित स्थानान्तरण नहुँदै घर जीर्ण बनेपछि लगानी खेर जाने अवस्था बनेको छ ।
जिल्लास्थित मदाने–३, सिर्सेनीका चार स्थानमा निर्माण गरिएका ४८ मध्ये १३ घरमा मात्रै बसोबास छ । बाँकी ३५ घरमा बसोबास नहुँदा थोत्रा बनेका छन् । जस्ताले छाएका घरमा विद्युत्, खानेपानी र शौचालयको सुविधा भए पनि बस्ती साँघुरो हुँदा आकर्षण छैन । आफ्नो खेतबारीबाट टाढा भएकाले समस्या भएको जनाउँदै पीडित बस्तीमा आएका छैनन् । उनीहरू जोखिम मोलेर पुरानै घरमा बसिरहेका छन् ।
पीडित माया विश्वकर्माले एकैठाउँमा घर हुँदा पशुचौपाया र बालबालिकाबीच झगडा हुने चिन्ताले घर नसरेको बताइन् । उनका अनुसार घरमा एउटा सानो खाट र सामान्य दराज राख्नेबाहेक अरू ठाउँ छैन । पीडित निर्मला सुनारले छुट्टाछुट्टै घर बनाएर कम्तीमा करेसाबारी हुने जग्गा भएमा राहत हुने बताइन् । ‘साँघुरा घर मात्रै छन्, जग्गाजमिन टाढा छ,’ उनले भनिन्, ‘सहरमा जस्तो गाउँमा बसाइँ सम्भव हुँदैन ।’ सुविधायुक्त घर भए पनि साँघुरो र करेसाबारी नभएको बस्तीमा खेतीकिसानी गर्ने ग्रामीण भेगका परिवार बस्न नसक्ने बताइरहेका छन् ।
बस्तीमा गएर बसेका १३ परिवारले आफूहरू बसे पनि समस्या देखाइरहेका छन् । बस्तीमा जान बाँकी रहेका परिवार त्यहाँ घरबाहेक अन्य सुविधा नभएको बताउँछन् । सागपात लगाउने ठाउँ, वस्तुभाउ राख्ने ठाउँ, छुट्टाछुट्टै धाराहरू बनाउनुपर्ने र रोजगारीसमेत हुनुपर्ने उनीहरूको माग छ । सालझण्डी–सन्धीर्खक–ढोरपाटन सडक निर्माण गर्ने क्रममा बिस्थापित तथा जोखिममा परेका परिवारका लागि एकीकृत बस्ती विकास योजना मार्फत बस्ती निर्माण गरिएको थियो ।
मदाने गाउँपालिकाले आर्थिक वर्ष २०७५–०७६ मा जग्गा प्राप्ती गरेर अर्को वर्ष पालिकामार्फत् बाटाकाचौर र खन्यूखर्क साथै काफलपाटामा पुनःनिर्माण प्राधिकरणमार्फत् तीन करोड रूपैयाँ लागतमा समग्रमा एकीकृत बस्ती निर्माण भएको मदाने गाउँपालिकाका सूचना अधिकारी सुरेश पोखेरेलले जानकारी दिए । वडाध्यक्ष चेतबहादुर सेनले लक्षित गरेर बनाइएका पीडित घरपरिवारले आफ्नो पुरानो बस्ती छाड्न नमानेका कारण एकीकृत बस्ती खाली अवस्थामा रहेको बताए ।








प्रतिकृया दिनुहोस्