गहुँको उत्पादन बढाउन सातै प्रदेशमा रोग सम्बन्धि प्रशिक्षण सञ्चालन

भैरहवा–राष्ट्रिय बाली रोग बिज्ञान अनुसन्धान केन्द्रले गहुँ बालीमा लाग्ने रोगहरुको परिचय, व्यवस्थापन र तीनको जोखिमका वारेमा राष्ट्रिय स्तरमैं प्रशिक्षण दिन थालेको छ ।
गहुँ बालीमा लाग्ने रोगको जोखिमका वारेमा समयमैं सचेत भइ रोगको व्यवस्थापन गर्ने वारेमा उक्त अनुसन्धान केन्द्रले सातै प्रदेशमा बढि गहुँ उत्पादन हुने पालिकाका किसान र कृषि प्राविधिकलाई प्रशिक्षण दिन थालेको हो ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद् अन्र्तगतको उक्त केन्द्रका प्रमुख सुरज बैद्यले गहुँ बालीमा लाग्ने रोगको जोखिमका वारेमा समयमैं सचेत भइ रोगको व्यवस्थापन गरी गहुँको राष्ट्रिय उत्पादन बढाउनकालागी यो प्रशिक्षण सुरु गरिएको पब्लिककुरासँग बताए ।
‘रोग प्रतिरोधी जातका गहुँ समयमैं लगाएर मौसम अनुरुप गहुँ बालीमा लाग्न सक्ने रोगको वारेमा पुर्व सर्तकता अपनाइ रोग नियन्त्रण गरेमा गहुँको उत्पादन अहिलेको तुलनामा २० प्रतिशत भन्दा धेरै बढ्छ’ भैरहवामा आयोजित लुम्बिनी प्रदेस स्तरिय प्रशिक्षणका क्रममा बैद्यले भने, ‘गहुँ उत्पादन बढाउनकालागि मौसम तथा जलवायुसँगपनि जोडेर किसान र प्राविधकलाई प्रशिक्षण दिएका छौं ।’
केन्द्रका अनुसार, यस वारेमा सुदुरपश्चिम, कर्णाली, बागमती प्रदेशमा प्रशिक्षण सकेर लुम्बिनी प्रदेशमा प्रशिक्षण दिइएको छ । तिहार अघि मधेस प्रदेशमा सकेर त्यसपछि गण्डकी र कोशी प्रदेशमा प्रशिषण दिइने छ । सवै प्रदेशमा ४० जना किसान र ४० जना सम्बन्धित पालिकाका कृषि प्राविधिकलाई प्रशिक्षण दिइएको छ ।
हिमाल पहाड र तराइका जिल्लामा लगाउनकालागि सिफारिश गरिएको रोग प्रतिरोधी जातका गहुँ समयमैं लगाउने, रोग लागेको खेत बारीमा अनुगमन गर्ने, रोग लागेको देखेमा तत्कालै कृषि प्राबिधिकलाई परामर्श गरि अन्यत्र रोग पैmलिन नपाउने गरि तत्काल नियन्त्रण गरिहाल्ने र कृषि प्राविधिकको परामर्श अनुरुप बिषादी प्रयोग गर्ने बिधीका वारेमा सहभागीलाई जानकारी गराइएको छ ।
गहुँ बालीमा लाग्ने रोगको जोखिमका वारेमा र जलवायु तथा मौसम अनुरुप लाग्ने रोगका वारेमा समयमैं किसानलाई सजग बनाउन केन्द्रले ह्वाट्स एप र मोबाइल म्यासेज जस्ता समाजिक सञ्जालबाटपनि जोड्न थालेको छ ।
पहाडका जिल्लामा सामान्यतया कात्तिक मशान्तसम्म र तराइमा मंसिर मशान्तसम्ममा गहुँ छरिसकेमा रोगको प्रकोप कम हुने कुरा औंल्याइएको छ । नेपालमा मुख्यतया पहाडी जिल्ला र नदी किनाराको बढि चिस्यान हुने तराइका क्षेत्रमा पँहेलो सिन्दुरे र तराइमा खैरो सिन्दुरे रोगको प्रकोप व्यापक रुपमा देदिएको छ । यस बाहेक तराइमा पात डढुवा र पहाडी जिल्लामा खरानी ढुँसी रोगको प्रकोप बढि देखिएका छन् ।
खैरो सिन्दुरे रोगबाट तराइमा उत्पादनको करिव ४० प्रतिशत र पँहेलो सिन्दुरेले पहाडमा करिव ८० प्रतिशत उत्पादनमा नोक्शान पुर्याएको कृषि बिशेषज्ञले जनाएका छन् ।
नेपालमा हाल करिव ७ लाख हेक्टर क्षेत्रफल जमिनमा गहुँ खेती गर्ने गरिन्छ । २१ देखि २२ लाख मेट्रिक टन उत्पादन हुने गरेको छ ।

भैरहवास्थित राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमममा आयोजना गरिएको लुम्बिनी स्तरिय प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशमा १२ जिल्लाबाट बढि गहुँ उत्पादन हुने ४२ वटा पालिकाबाट किसान र कृषि प्राबिधिकको सहभागिता छ ।
रोगका वारेमा बिशेषज्ञ सुरज बैद्य, रोशन बस्नेत, बाली प्रजनन्का वारेमा ध्रुव बहादुर थापा, खेमराज पन्त र जलवायु तथा मौसमका वारेमा रामेश्वर रिमालले प्रशिक्षण दिएका छन् । अर्का रोग बिशेषज्ञ रोशन बस्नेतले गहुँ बालीमा जलवायु तथा मौसमले प्रत्यक्ष असर पार्ने भएकाले गहुँ बालीलाई रोगबाट जोगाउन मौसमका वारेमापनि प्रशिक्षण दिइएको बताए ।
‘कस्तो मौसमको वेला गहुँमा कस्तो रोग लाग्छ ? हावा चल्दा रोग लागेको खेतबाट अन्यत्र खेतमा कसरी जोगाउने ? भन्ने वारेपनि प्रशिक्षण दिइएको छ’ बस्नेतले भने, ‘गहुँमा लाग्ने रोग हजारौं किमीपनि हावाको माध्यमबाट सर्ने भएकाले हावा कुन दिशाबाट बगेको छ ? यस वारेमा किसानलाई सामाजिक सञ्जालको माध्यमबाट रोगको पुर्व सचेत गराएर जोखिम कम गर्ने गरिन्छ ।’








प्रतिकृया दिनुहोस्