July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

कुमाल समुदायको पेसा जोगाउन अब मर्चवारीमा माटाका कपमा चिया

Advertisement

भैरहवा– रुपन्देहीको मर्चवारी गाउँपालिकाले कुमाल समुदायको परम्परागत पेश जोगाउन उनीहरुले निर्माण गरेका माटाका कपमा चिया विक्री गर्ने योजना ल्याएको छ । पालिकाले उनीहरुको पेशलाई आधुनिक तुल्याउँदै उनीहरुले तयार गरेका यस्ता कपमा चिया विक्री गर्ने तयारी गरेको छ ।

Advertisement

माटाका भाँडाकुँडाको सट्टा फलाम र प्लाष्ट्रिका कप प्रयोग हुन थालेपछि परम्परागत सीप उपयोग गरेर जिविकोपार्जन गर्दै आएको कुमाल समुदाय अहिले मर्कामा परेका छन् । आफूले तयार गरेको माटाका सामाग्री विक्री हुन छाडेपछि उनीहरु परम्परागत पेशाबाट बिस्थापित हुन जोखिम छ । यस्तो संकटबाट उनीहरुलाई पार लाउन पालिकाले नयाँ योजना ल्याएको जनाएको छ । गाउँपालिकाले सामाग्री विक्रीसँगै कुमाल समुदायको सीप प्रवद्र्धन गरिने जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपमन्यू त्रिपाठीका अनुसार पालिकामा रहेका करिब दुई दर्जन कुमाल समुदायको जिविकोपार्जनका लागि उनीहरुले तयार गरेका माटाका कपको व्यवसायिक प्रवद्र्धन गर्न लागिएको छ । ‘गाउँका चिया पसलमा प्लाष्टिकका कपमा चिया विक्री भइरहेको छ,’ उनले भने, ‘अब सबै चिया पसलेलाई माटाका कपमा चिया बेच्न प्रोत्साहित गर्न लागेका छौं ।’

उनका अनुसार माटाको कपको मूल्य पनि दुई रुपैयाँ प्रतिकप गोटा छ । प्लाष्टिकको कप खरिद गर्दा पनि त्यति नै मूल्य तिर्नुपर्छ । ‘माटाका कपको प्रयोगले वातावरण संरक्षणमा पनि सहयोग पुग्छ,’ उनले भने, ‘आफ्नै गाउँठाउँका कुमाल समुदायको गुजारा पनि चल्छ ।’

त्रिपाठीले कुमाल समुदायले माटाका सामाग्री बनाउन प्रयोग गर्दै आएको चक्रलाई पनि आधुनिक तुल्याउन गाउँपालिकाले बजेट विनियोजन गरेको जानकारी दिए । अहिले उपयोगमा रहेको परम्परागत चक्रलाई सुधार गरेर मोटर जडान गरेपछि स्वचालित बन्ने उनले बताए । यस्ता स्वचालित चक्र चलाउन कुमाल समुदायलाई बिजुली आपूर्ति गरिने र महशुल छुट गरिने उनको भनाई छ ।

गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले पनि विपन्न समुदायको सहयोगका लागि माटाका कपमा चिया कार्यक्रम ल्याइएको जानकारी दिए । यस्ता कप विक्रीका लागि सुरुमा पालिकाभित्रका सबै चिया पसलेको भेला आयोजना गरिने उनले बताए । ‘सबै चिया पसलेलाई भेला गराएर माटाका कपको फाइदा बुझाएपछि अनिवार्य प्रयोगका लागि अनुरोध गरिनेछ,’ उनले भने, ‘माटाका कप माटोमै बिलाउँछन्, प्लाष्टिकका कप नकुहिने भएकाले माटोलाई हानी गर्छ ।’

उनका अनुसार पहिले चिया पसलमा स्टिल र काँचका गिलामा चिया दिने गरिन्थ्यो । केही वर्षयता प्रयोग गरेर फ्याँक्न मिल्ने भएकाले प्लाष्टिकका कप प्रयोग भइरहेका छन् । यसले पसल आसपास फोहोर देखिनुका साथै प्रदूषण बढेको छ । अर्कोतर्फ आफूले तयार गरेका माटाका कप विक्री हुन थालेपछि कुमाल समूदाय पनि उत्साहित हुने अध्यक्ष बरईले बताए । ‘यस्तो कार्यक्रमले परम्परागत सीप बचाउन पनि भूमिका खेल्नेछ,’ उनले भने, ‘कुमाल समुदायलाई घर खर्च चलाउन समस्या हुने छैन ।’