लामो समयदेखि अलपत्र योजना पूरा गराउँदै सांसद चौधरी


भैरहवा– पश्चिम नवलपरासीमा दुईवटा निर्वाचन क्षेत्र छन् । तर, दुबै क्षेत्रमा समान विकास भएको देखिँदैन । पश्चिम नलपरासी सदरमुकाम रहेको दुई नम्बर निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधारसँगै बहुराष्ट्रिय कम्पनीका उद्योग स्थापना भइरहेका छन् । भैरहवा–भूमही औद्योगिक करिडोरका कारण चहलपहल बढ्दो छ । तर, पूर्वी क्षेत्रस्थित एक नम्बर निर्वाचन क्षेत्रमा भौतिक र न्युनतम मानवीय आवश्यकताका पूर्वाधार तयार छैनन् ।
उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद बिनोद चौधरीले लामो समयदेखि पिछडिएको क्षेत्रमा नयाँका साथै लामो समयदेखि अलपत्र परेका पुराना योजना पार लगाएर सर्वसाधरणका आधारभूत आवश्यकता पूरा गरेर क्षेत्रको मुहार फेर्न लागिपरेका छन् । यसैक्रममा सांसद चौधरीको पहलमा लामो समयदेखि अलपत्र पश्चिम नवलपरासीस्थित हुलाकीमार्ग अन्तर्गत बर्दघाट नगरपालिकाको नारायणचोकदेखि त्रिवेणीसम्मको १६ किलोमिटर खण्ड पुन ः निर्माण सुरु भएको छ ।
ठेक्कासम्झौंता अनुसार २०७९ मंसिरमा निर्माण सकिनुपर्ने सडक ठेकेदार कम्पनीको ढिलासुस्तीले अलपत्र परेको थियो । पटकपटक म्याद थप गर्दा समेत काम नभएपछि स्थानीय आक्रोशित बनेका थिए । निर्माण कार्यलाई पूर्णता दिन माग गर्दै स्थानीय बासिन्दासँगै जिल्लाका जनप्रतिनिधि समेत आन्दोलित बनेका थिए । सडक निर्माणका लागि २०७६ मंसिरमा ब्रजगुरु महालक्ष्मी जेभी कम्पनीले ठेक्का सम्झौता गरेर काम थालेको थियो । उक्त कम्पनीले सडक भत्काएर छाडेपछि स्थानीयले हिउँदमा धुलो र वर्खामा हिलो सहनु परेको थियो ।
हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालयका अनुसार गोपीगन्ज बजार क्षेत्रको १ हजार ५ सय मिटर सडक भैरहवाका रामु अधिकारीले कालोपत्रे गरिसकेका छन् । कुल ५८ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त हुलाकी खण्डको चौथोपटक म्याद थप भइसकेको छ । पछिल्लोपटक २०८२ चैत मसान्तसम्म समयसी तोकिएको छ । सडकखण्डको हालसम्म भौतिक प्रगती ४० प्रतिशत छ भने वित्तीय प्रगती ३८ प्रतिशत छ । बजार क्षेत्रमा नालीसहित ११ मिटर र अन्य ठाउँमामा नालीविनै ८ मिटर फराकिलो गरी यो सडकखण्ड निर्माण भइरहेको छ । यो खण्ड निर्माणमा सांसद चौधरीले अधिकारीलाई बैंकिङ लगायतका समस्या समाधानमा सहयोग गरेपछि काम अघि बढेको हो ।
सांसद चौधरी हुलाी सडकको निरीक्षण गर्दै अब तोकिएको समयमा काम सक्नुपर्ने र आवश्यक सहयोग गर्ने बताए । यस्तै, उनले स्थानीयसँग भलाकुसारी गर्दै निर्माणमा सहयोग र निगरानी बढाउन आग्रह गरेका थिए ।
यही निर्वाचन क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने पहाड छ । जसले गर्दा दिनुहँजसो दुर्घटना हुने गरेका छन् । ‘बर्दघाट र दाउन्ने क्षेत्रमा धेरै दुर्घटना हुन्छन्,’ सांसद चौधरीले भने, ‘त्यसैले बर्दघाटमा ट्रमा सेन्टर निर्माण धमाधम गरिरहेका छौं ।’ उनका अनुसार यसकासाथै बर्दघाटस्थित जीर्ण अवस्थामा रहेको सहीद स्मृति अस्पताललाई पुनर्जीवन दिने काम भइरहेको छ ।
‘सहीद स्मृति अस्पतालमा अहिले ६ वटा डायलासिस उपकरण जडान गर्न लागेका छौं,’ उनले भने, ‘नारायणगढदेखि बुटवलसम्म डायलासिस केन्द्र छैन । २–३ महिनामा जडान पक्रिया पूरा हुन्छ । त्यसपछि यस क्षेत्रका बासिन्दालाई डायलासिस गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।’ यसका साथै खुट्टा गुमाएका व्यक्तिका लागि स्थायी प्रकृतिको कृत्रिम खुट्टा जडानका लागि चिसापानीमा शिबिर सञ्चालन भइरहेको उनले जनाए ।
‘खुट्टा गुमाएका व्यक्तिको जीवन कति कष्टदायी हुन्छ भनेर हामीले कल्पना पनि गर्न सक्दैनौं,’ उनले भने, ‘न शौचालय जान सक्छन्, न त भान्छामा बसेर खान सक्छन् । यसैले शिविरमार्फत् हामीले पहलकदमी गरेका हौं ।’
यस बाहेक युवाको रोजगारीका लागि निर्वाचन क्षेत्रमै औद्योगिक क्षेत्र निर्माण अन्तिम चरणमा रहेको उनले बताए । औद्योगिक क्षेत्र निर्माणको पहिलो चरणको काम सकिएको छ । ‘दोस्रो चरणमा उक्त क्षेत्रमा ५० वटा उद्योग निर्माण गर्न लागेका छौं,’ उनले भने, ‘ती उद्योग चलाउनका लागि हामीले सीप सिकाउन कक्षा पनि सञ्चालन गरिरहेका छौं ।’ पश्चिम नवलपरासीकै स्थानीय बासिन्दालाई उद्यमी बनाउन सकेमात्र आफू सफल हुने उनको भनाई छ ।
‘स्वरोजगार कोषले बीउ पूँजी देओस्,’ उनले भने, ‘बैंकहरुले लोन देओस्, अनि औद्योगिक क्षेत्रले निःशुल्क भवन र जग्गा देओस् भन्ने उद्देश्य हो ।’ यसका साथै वर्षौदेखि अलपत्र परेको खजुराको पुल निर्माण अघि बढाइएको उनले जनाए । यी केही परियोजना मात्र भएको उनले बताए । ‘मैले के–के न गरेँ भन्ने होइन्,’ उनले भने, ‘म भन्दा अगाडि पनि यस क्षेत्रबाट धेरै जना माननीय हुनुभयो, तर, त्यो बेला गरेको भए पनि हुनेथियो । अहिले बिरोधै बिरोधका बीच उभिरहेको छु । उहाँहरुले के गर्नुभयो ? अहिले सामान्य सहजीकरण गरेपछि धेरै काम भएका छन् ।’ उनले वर्षौसम्म रोकिएका काम आफू निर्वाचित भएर आएपछि अघि बढाउन पहल गरेको र यसले सार्थकता पनि पाउन लागेको जनाए ।








प्रतिकृया दिनुहोस्