April 22, 2025, Tuesday
२०८२ बैशाख ९

आइतबार साँझ सडक खाना महोत्सवमा रम्दैछ भैरहवा

भैरहवा– पर्यटक क्षेत्रलाई माथि उकास्न व्यवसायीहरुले अनेक उपाय खोज्दै आएका छन् । यसैको शिलशिलामा पर्छ, सडक खाना महोत्सव । प्रायः गरेर भैरहवा क्षेत्रका पर्यटन व्यवसायीहरुको संस्थाले विगतदेखि नेपाली र अँग्रेजी नयाँ वर्षमा सडक खाना महोत्सव आयोजना गरेर आन्तरिक र बाह्य पर्यटकलाई रमाउने वातावरण बनाइरहेका छन् । यसपटक नेपाली नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा आइतबार (चैत्र ३१ गते) भैरहवा सिद्धार्थ सडक खाना महोत्सवमय बन्दैछ । अर्थात् भैरहवा खाना महोत्सवमा रम्दैछ ।

Advertisement

‘सडकमा जाऊँ, सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नाराकासाथ होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीले नयाँ वर्ष २०८२ को स्वागातार्थ सिद्धार्थ सडक खाना महोत्सव आयोजना गरेको हो । खाना महोत्सवमा भैरहवा क्षेत्रका दर्जन संघसंस्थाले सहयोग र सहकार्य गरेका छन् । यससँगै पर्यटन क्षेत्रसँग सम्बन्धित केही सरकारी निकायको पनि साथ छ ।

‘पर्यटन क्षेत्रलाई गुल्जार बनाउने खाना महोत्सवको उद्देश्य हो’, संगठनका अध्यक्ष रामप्रसाद पोखरेलले भने, ‘आन्तरिक तथा बाह्य पर्यटनको प्रबद्र्धन गरी पर्यटन क्षेत्रलाई उकास्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो ।’ सिद्धार्थनगर नगरपालिका–३ रंगशाला रोडमा साँझ ५ बजेदेखि राति १२ बजेसम्म खाना महोत्सव संचालन हुनेछ । संगठनले आयोजना गर्न लागेको यो पाँचौ संस्करणको खाना महोत्सव हो ।

अध्यक्ष पोखरेलले सडकमै खाने र गीतसंगितसँग रमाउने गरी कार्यक्रम तय गरिएको जनाए । उनले खाना महोत्सवमा विभिन्न होटल तथा रेष्टुरेन्टका खानाका परिकार छुटसहित पस्कने बताए । यस क्षेत्रको पहिचान तथा सांस्कृतिक परम्पराको विकास गर्ने र समग्रमा यहाँको आर्थिक एवं पर्यटकीय विकासमा सहयोग पुर्याउने आयोजकको लक्ष्य छ ।

संगठनका महासचिव बालबहादुर घिमिरे (सुनिल)ले खाना महोत्सवपछि पर्यटन व्यवसायले थोरै भए पनि राहत पाउने विश्वास व्यक्त गरे । ‘यसले बजार चलायमान गर्न सहयोग पुग्नेछ’, उनले भने, ‘सबैजना सडकमै खाएर रमाउँदा भैरहवाको माहोल संगीतमय पनि हुनेछ ।’ महोत्सवमा स्थानीय कलासंस्कृति, विद्यालय नृत्य, स्थानीय कलाकारहरुबाट प्रस्तुती तथा डिजेसहितका साँस्कृतिक कार्यक्रम हुनेछन् । स्थानीय खानाका परिकारलाई प्राथमिकता दिइएको छ ।

महोत्सवमा १ सय १ वटा स्टल राखिने छ । ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको खाना महोत्सवमा करिब १ करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ । महोत्सवमा भैरहवा, बुटवल, तिलोत्तमा, लुम्बिनी, धकधई, मर्चवारसहित छिमेकी जिल्ला कपिलवस्तु, नवलपरासी, पाल्पा लगायतबाट समेत आन्तरिक पर्यटक आउने विश्वास गरिएको छ । यस्तै, छिमेकी मुलुक भारतबाट समेत उल्लेख्य पर्यटक आउने जनाइएको छ । महोत्सव धेरैभन्दा धेरै पाहुनाको उपस्थिति बनाउन प्रचारप्रसारलाई तिव्रता दिइएको छ ।