February 8, 2025, Saturday
२०८१ माघ २७

भैरहवामा चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना

भैरहवा– आफ्ना चौपायाहरु जथाभावी छाडा छोड्नेलाई सिद्धार्थनगर नगरपालिकाले सात हजार जरिवाना गराएको छ । नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रणका लागि सिद्धार्थनगर नगरपालिकाले गत हप्तादेखि अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत हालसम्म ७८ वटा गाईगोरुको व्यस्थापन गरिएको छ ।

Advertisement

त्यसमध्ये छाडा चौपाया आफ्नो भनि दावी गर्न आएका दुई जनालाई सात हजार जरिवाना गरेर गाई जिम्मा लगाइएको नगरपालिकाका प्रवत्ता एवं छाडा चौपाया नियन्त्रण अभियानका संयोजक मुक्तिनाथ यादवले जानकारी दिए । छाडा चौपाया निन्त्रणका लागि स्थानीय सरकारले गरेको निर्णय बमोजिम पहिलो पटकलाई सात हजार जरिवना गराई पुनः छाडा नछोड्ने शर्तमा सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो ।

बजारमा छाडारुपमा हिँडिरहेका चौपायाहरुलाई नियन्त्रणमा लिएर अस्थायी होल्डिङ सेन्टरमा राखिएको र त्यहाँबाट कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ मा रहेको गौशालामा लगेर वयस्थापन गरिएको उनले बताए । छाडा चौपायाले सडकमा सवारी साधन र यात्रुलाई अवरोध गर्नुका साथै किसानको कृषि उपज खाइदिन थालेपछि छाडा चौपायाको व्यवस्थापन गर्न अभियान थालिएको नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए ।

‘विशेषगरी छाडा गाइगोरुले नगरमा बढी समस्या ल्याएको छ,’ उनले भने, ‘छाडा गाईगोरुका कारण सवारी दुर्घटनाको जोखिमको साथै मलमुत्रले नगर दुर्गन्ध र किसानले आफ्नो कृषि उपज खाइदिने गरेको गुनासो गर्ने गरेका छन् ।’

नियन्त्रणमा लिइएको गाइगोरु कसैले आफ्नो भनी दाबी गर्न आएमा न्यूनतम ७ हजार जरिवाना तिराएर दिइने अन्यथा नियन्त्रणमा लिइएका गाईगोरुलाई गौशाला लगिने गरिएको छ ।

सिद्धार्थनगरमा बर्सेनि छाडा गाईगोरुको समस्या विकराल बन्ने गरको छ । गाई पाल्ने किसानले बाच्छा जन्मिएको केही दिनमै माउसँग छुटाउन बजारमा छाडिदिने, दूध दिन छाडेपछि गाईलाई घरबाट लखट्ने र केही किसानले दिनभरि बजारका फलफूल, तरकारी पुलआसपास छाडी रातपरेपछि घर लैजाने प्रचलनले नगरमा छाडा गाईगोरुको समस्या बर्सेनि दोहोरिने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । नगर प्रमुख खाँले सिद्धार्थनगरमा छाडा गाईगोरु तथा चौपाया नियन्त्रणका लागि लगातार तेस्रो वर्षसम्म अभियान सञ्चालन गरेको बताए ।