लुम्बिनीमा डुंगा सञ्चालकद्वारा मनपरी असुली

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी घुमफिरमा आउने पर्यटकबाट केन्द्रीय नहरमा डुंगा सफारी वापत चर्को शुल्क असुली भइरहेको छ । पर्यटक लक्षित गरेर मोटरबोट चलाइएको छ । ती डुंगा सञ्चालकले चर्को शुल्क असुली गरेको पर्यटकको गुनासो छ । लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक डुंगा सफारीमा रमाउने गरेका छन् । तर, ती पर्यटकले डुंगा चढेवापत ठगिने गरेको बताए ।
लुम्बिनीको केन्द्रीय नहरको १ हजार ६ सय मिटरमा डुङ्गा सञ्चालन भइरहेको छ । नहरको दक्षिणी छेउमा अखण्ड शान्ति दीप छ । उत्तरतिरको किनारमा लुम्बिनी सङ्ग्रहालय छ । डुंगा सफारी गरेर नहरको दायाँ–बाँया रहेका बौद्ध विहार अवलोकन गरेका पर्यटकहरूले आफू ठगिएको पत्तो पाउँदैनन् । केन्द्रीय नहरमा डुङ्गा शयर गर्दा तोकिएभन्दा बढी शुल्क तिरेर पर्यटक ठगिएका हुन् ।
डुङ्गा सञ्चालन गर्न लुम्बिनी विकास कोष र रङ्गमल रिभर ल्यान्ड प्रालि भरतपुरबीच ५ वर्षका लागि सम्झौता भएको छ । १ करोड ७९ लाख ७८ हजार ३ सय रकममा ध्वनि कम भएको र धुँवा नभएको डुङ्गा सञ्चालन गर्ने सहमति भएको छ । सम्झौता अनुसार नेपाली र विदेशी नागरिकलाई एकतर्फी भाडा दर ५० रुपैयाँ तोकिएको छ । आउजाउ भाडा ८० रुपैयाँ शुल्क तोकिएको छ । तर, ठेकेदार पक्षले दुईतर्फी भाडा बापत १ सय रुपँयाँ लिँदै आएका छन् । दुईतर्फी टिकट नछाप्दा पर्यटकलाई अतिरिक्त शुल्क तिर्न बाध्य बनाएको स्थानीयको बुझाइ छ । भारतीय नागरिकले एकतर्फी भाडा बापत भारु ३५ रुपैयाँ (नेपाली ५६ रुपैयाँ) तिर्ने गरेका छन् ।
डुङ्गा शयर गर्दा विद्यार्थीलाई सहुलियतको व्यवस्था छ । तर, सहुलियत कार्यान्वयनमा छैन । टिकट काउन्टरका कर्मचारीले विद्यार्थीलाई छुट नभएको दाबी गर्छन् । समूहमा ३०–३५ जना विद्यार्थीसँगै आउँदा ५ वटा टिकट निःशुल्क दिने गरेको कर्मचारीहरू बताउँछन् । जसले गर्दा विद्यार्थीले पनि एकतर्फी टिकट बापत ५० रुपैयाँ तिर्छन् । तर सम्झौताअनुसार विद्यार्थीलाई एकतर्फी २५ रुपैयाँ र दुईतर्फी ५० रुपैयाँ भाडादर तोकिएको छ ।
बिहीबार डुङ्गा चढेर लुम्बिनी दर्शन गर्न आएका त्रिचन्द्र मल्टिपल क्याम्पसका विद्यार्थीले एकतर्फी ५० रुपैयाँ भाडा तिरेर डुङ्गा चढेको बताए । ‘टिकट काउन्टरमा भाडा दर सूची टाँसिएको छैन । ठेकेदारले एउटै टिकट मात्र देखाउँछन् । भाडा दर टाँस गरेको भए थाहा पाइन्थ्यो’, विद्यार्थी सम्झना निरौलाले भनिन् । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले भर्खर टेन्डर भएका कारणले समस्या हुनसक्ने बताउँदै तत्काल सम्झौताअनुसारको टिकट दर कायम गर्न ठेकेदार पक्षलाई निर्देशन दिने जनाए ।
प्रतिकृया दिनुहोस्