January 13, 2025, Monday
२०८१ माघ १

बुटवल–गोरुसिंगे सडकः वन्यजन्तुमत्रै बनाइने, सात हजार रुख काटिने

भैरहवा– आगामी माघदेखि बुटवल–गोरुसिंगे सडक निर्माणको काम हुँदैछ । यो खण्डमा घना बस्ती र वन क्षेत्र पर्ने भएकाले धेरैले सडक कस्तो डिजाइनमा निर्माण हुन्छ ? भनेर चासोसाथ हेरेका छन् । ५० किलोमिटर लामो दुरीको यो सडकखण्ड नेपाल र चीनको दुई कम्पनीले संयुक्तरुपमा निर्माण गर्दैछन् ।

Advertisement

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा काम पूरा गर्ने गरी गत असार १३ गते ठेक्का पाएका थिए । ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र सडक निर्माण सक्ने सम्झौता छ ।

वन्यजन्तुमैत्री बनाइने
तत्कालीन राजा महेन्द्रको पालामा २०१९ सालमा बनेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरूसिङ्गे सडकखण्ड आगामी माघ महिनादेखि विस्तारको काम सुरु हुन लागेको हो । यो सडकमा गाडी गुडाउन मिल्ने ६ वटा अण्डरपास, पैदल यात्रुका लागि १२ वटा अण्डर पास र ११ वटा ओभरहेड ब्रिज तथा वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा अण्डर पास बनाइने छ ।

विस्तारको क्रममा करिब सात हजार रुख काटिने छ । विस्तारपछि सडक फराकिलो हुने र सवारीसाधनको गति पनि बढी हुने हुँदा वन्यजन्तु आवतजावत गर्दा अवरोध नहोस् र उनीहरूलाई कुनै प्रकारको क्षति नहोस् भनेर वन्यजन्तुमैत्री अन्डरपास बनाउन लागिएको हो ।

बाक्लो बस्ती भएका सहरी क्षेत्रका चोकहरुमा सडकलाई ५० मिटरमा फराकिलो बनाइने र रणनीतिक सडकहरु जोडिने क्षेत्रमा अध्ययन पश्चात गाडी नै वारपार गर्न मिल्नेगरी सवारी अण्डरपास निर्माण गरिने आयोजनाका कार्यालय प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताइन् । ‘जंगल क्षेत्रमा बनाइने १९ अन्डरपासमध्ये सालझन्डी–पिपरा खण्डमा चारवटा र कोइली–घेरुवा–बनगाई–गोरुसिंगे खण्डमा १० वटा अन्डरपास बनाइने छ’, उनले भनिन् ।

बुटवलदेखि गोरुसिंगे सम्मको करिब ५० किलोमिटर खण्ड विस्तारको काम पूरा भएलगत्तै कपिलवस्तुको चन्द्रौटासम्मको सडकखण्ड विस्तारको प्रक्रिया अगाडि बढाउने सरकारको तयारी छ । गोरुसिंगे–चन्द्रौटा सडकखण्ड १९ किलोमिटर छ । अहिले सो सडकखण्ड डिजाइनको काम भइरहेको छ । रुपन्देहीमा पर्ने जितगढी बेलबास चोक, नयाँगाउँ चोक, तामनगर चोक, सैनामैनाका मुर्गिया बजार र बुद्धनगर चोक तथा कपिलवस्तुको चार नम्बर जीतपुर चोकमा ‘सवारी अण्डरपास’ बनाउनका लागि माटो परीक्षणको काम भइरहेको न्यौपानेले बताइन् । यस्तो ‘भेहिकल अण्डरपास’ पुल अहिले ललितपुरको ग्वार्कोमा बनिरहेको छ ।

आयोजनाका अनुसार सडक विस्तार भएपछि शहरी क्षेत्रमा ५० मिटर, शहरोन्मुख क्षेत्रमा ३७ दशमलब ४ मिटर र जंगल क्षेत्रमा २४ मिटर चौडा कायम हुनेछ । त्यसका लागि निर्माण व्यवसायीहरुले सडक क्षेत्रमा आवश्यक तयारीका काम सुरु गरिसकेका छन् ।

सात हजार रुख काटिने
विस्तार हुने सडक क्षेत्रको नापजाँच, सर्भे, विद्युत पोल सार्ने, सडक क्षेत्र मिचेर बनेका संरचना खाली गराउने, माटो परीक्षण र रुख कटानको अनुमति लिने प्रक्रिया पुरा भैसकेको छ । सडक विस्तारकै लागि सडक किनारमा रहेका करिव सात हजार बढी रूख काट्न सडक विभागले स्वीकृति दिइसकेको आयोजना प्रमुख न्यौपानेले बताइन् । ‘काटिने रुखमा मार्किङ गर्ने काम सम्पन्न भैसकेको छ’, उनले भनिन्, ‘सडक क्षेत्रभित्र बनेका संरचनालाई घर धनीले आफैं भत्काएर क्षतिपूर्ति समेत लिइसकेका छन् ।’

ठूलो परियोजना भएकाले पूर्व तयारीका काम धेरै हुने र अन्तर्राष्ट्रिय परामर्शदाताले निर्माण सामग्रीको गुणस्तर परीक्षण गरेर मात्र निर्माणको अनुमति दिने भएकाले पूर्व तयारीको काम धमाधम भैरहेको उनले बताइन् । ‘सडक विस्तारका क्रममा आवश्यक पर्ने तयारी अन्तर्गत निर्माण सामाग्रीहरु ठाउँ–ठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचनाहरु हटाउने, कटान गर्ने रुखको अन्तिम गणना गर्ने, पुल बनाउने र अण्डरपास हुने स्थानको माटो परीक्षण गर्ने लगायतका काम भइरहेको छ’ इन्जिनियर न्यौपानेले भनिन् ।

कसरी निर्माण हुँदैछ ?
बुटवल–नारायणगढ सडक खण्डमा जस्तो सवारी साधन र यात्रुहरुलाई सास्ती नहोस् भनेर बुटवल–गोरुसिंगे सडक विस्तार गर्दा अहिलेको पिच नभत्काई सुरुमा दायाँ–बायाँतर्फको लेन बनाइसकेर मात्र बीच भागको सडक भत्काउने तयारी छ । ‘सडक खनेर निर्माण कार्य माघदेखि मात्रै शुरु हुने छ’, आयोजना प्रमुख न्यौपानेले भनिन्, ‘बुटवल–नारायणगढ सडकमा जस्तो सवारी साधन र यात्रुलाई सास्ती हुन नदिन अहिलेको पिच नभत्काइ दायाँ–वायाँको काम गरेर मात्र बीचको सडक पछि बनाउने तयारी छ ।’

आयोजनाका अनुसार ५० किलोमिटर सडकखण्ड दुई चरणमा २५–२५ किलोमिटरमा विभाजन गरी विस्तार गर्न लागिएको हो । पहिलो चरणका लागि ७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि ५ अर्ब ६६ करोड २२ लाखमा ठेक्का लागेको छ । पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुनेछ भने १४९ वटा कल्भर्ट पनि निर्माण हुनेछ । सडक विस्तार क्षेत्रभित्रका पालिकाहरुले बुटवल–नारायणगढ सडक निर्माणका क्रममा भोग्नुपरेको जस्तो सास्ती फेरि नहोस् भनेर आयोजनाका अधिकारीहरुको ध्यानाकर्षण गराएका थिए ।