January 13, 2025, Monday
२०८१ माघ १

भैरहवाको चारतारे होटल नान्समा अब ५५० रूपैयाँमै थकाली खाना

भैरहवा– यहाँको चारतारे होटल नान्स प्रालिले ५५० रुपैयाँमै थकाली खानासेट उपलब्ध गराउन सुरु गरेको छ । थकाली खानाका पारखीहरुलाई तारे होटलमा यति सस्तो दररेटमा खाना उपलब्ध गराउने नान्स होटल सम्भवतः पहिलो हो । मसिनो चामलको भात, खसीबोका वा कुखुराको मासु, भटमास र गुन्द्रुकको अचार, जिम्बुले झानेको कालो दाल, गोलभेंडा र टिमुर, तितेकरेला र मुलाको अचार, साग, मौसमी तरकारी, आलुको परिकार, सलाद, घिउ र दही लगायत थकाली खानासेटमा समाबेस गरिने होटलका महाप्रबन्धक सुनिल श्रेष्ठले जानकारी दिए ।

Advertisement

‘बजारमा थकाली खानाको स्वाद लिने बढीरहेका छन्, यसैलाई मध्येनजर गरी नान्स होटलले पनि थकाली खाना खुवाउन सुरु गरेको हो’, उनले भने, ‘पाहुनाले अर्डर गरेपछि चरेसको थाल र कचौरामा पस्किएको, तात्तातो खाना हामीले उपलब्ध गराउने छौं ।’ उनका अनुसार अघिल्लो हप्ताबाट नान्स होटलले थकाली खाना पस्कन सुरु गरेको हो ।

‘थकाली खाना सुरु गरेपछि धेरै जनाले आएर स्वाद लिइसक्नु भएको छ’, महाप्रबन्धक श्रेष्ठले भने, ‘जतिजनाले खानु भएको छ, उहाँहरुले स्वादिष्ट भएको भनेर प्रशंसा गर्नुभएको छ । यसले हामीलाई हौसला मिलेको छ ।’ चारतारे होटलमा सस्तो दररेटमा यतिधेरै परिकार खान पाउँदा ग्राहकहरु आकर्षित हुन थालेका छन् । अन्य तारे होटलहरुमा एकजना बराबर ७ सय देखि एक हजार रुपैयाँसम्म थकाली खानाको मूल्य लिने गरेको बताइन्छ ।

पछिल्लो दिनहरुमा भैरहवामा धेरै होटल तथा रेष्टुरेन्टले थकाली खाना उपलब्ध गराउँदै आएका छन् । तर, तारेस्तरको होटलमा सस्तो दररेटमा भने थकाली खाना उपलब्ध छैन । जसले गर्दा न्युन र मध्यमस्तरका ग्राहकको रोजाई थकाली खाना खानकै लागि तारे होटल पर्न सकेका छैनन् । ‘सबैको पहुँच होस्, तारे होटलमा सबै किसिमका ग्राहकले थकाली खाना खान पाउन भनेरै हामीले नाफा भन्दा पनि सेवाभावले मूल्य निर्धारण गरेका हौं’, महाप्रबन्धक श्रेष्ठले भने ।

थकाली खाना थकाली जातिको आफ्नो मौलिक खान समेत हो । यसैले महत्व र स्वाद लिनेहरु दैनिक बढ्दो छन् । भैरहवाको देवकोटा चोकमा रहेको उक्त होटलमा थकाली खानासँगै अन्य परिकार पनि सस्तोमा उपलब्ध छ । महाप्रबन्धक श्रेष्ठका अनुसार आन्तरिकसँगै बाह्य पर्यटकले पनि विस्तारै थकाली खानालाई रुचाउने विश्वास छ । ‘केही विदेशी पर्यटकले पनि यहाँ थकाली खाना खाइसक्नुभएको छ, यसले गर्दा नेपाली थकाली खानामा विदेशीको पनि इच्छा देखिएको छ’, उनले भने, ‘यो खानालाई ब्राण्डिङ गर्ने उद्देश्य होटल नान्सको छ ।’

यसअघिबाटै होटल नान्सले ३५० रुपैयाँमै नेवारी खाजासेट उपलब्ध गराउँदै आएको छ । नेवारी खाजाका पारखीलाई लक्षित गरी सस्तो मूल्यमा गुणस्तरीय खाजासेट उपलब्ध गराइँदै आएको होटलका निर्देशक अभिनास श्रेष्ठले बताए । होटलको पछाडी पट्टी स्विमिङगपुल साइडमा ‘कुची भ्वय’ रेष्ट्रो सञ्चालनमा ल्याई जहाँ ३ सय ५० रुपैयाँमै नेवारी खाजासेट उपलब्ध गराइँदै आएको निर्देशक श्रेष्ठ बताउँछन् । कुची भ्वयमा प्रायः बफ आइटमहरु पाइन्छ र नेवा खाजा सेटमा बफ नखानेका लागि भने बफको सट्टा चिकन दिइने गरिन्छ । ‘अन्यत्र बफका छोयला, सुकुटी पाइएला तर सबै ठाउँमा बारा, चटामरी लगायतका नेवारी परिकार पाइँदैन, त्यसैले हामीले नेवारी खाजाको संरक्षण पनि हुने र होटलमा आउने ग्राहकले नौलो स्वाद पनि पाउने भएकाले कुचि भ्वयमा नेवा खाजा उपलब्ध गराइरहेका हौं’ निर्देशक श्रेष्ठले भने ।

खाजासेटमा ८ थरीका परिकारहरु बफ छोयला, बफ सुकुटी, बोडीको गेडाको तरकारी, साग, मुलाको अचार, बजि (चिउरा), लसुनभटमास, अन्डा रोटी (अमलेट) र बारा हुन्छ । बफ नखानेलाई भने बिकल्पका रुपमा चिकन छोयला दिने गरिएको छ । नान्समा ५० रुपैयाँदेखि चटामरी, घिन्टी (बफ ससेज), मारी, बफ चाउमिन, बफ मोमो, भटमास साधेको, टिमुर आलु, चुकाउनी, आलु पिरो, आलु चप, हाँसको छोयला, माछा तारेको, बफ भुटुवा, बफ सेकुवा, बफ तास, टिम्मुर चिकेन, चिकेन मोमो लगायत बिभिन्न नेवारी परिकार उपलब्ध छ ।

सन् २०१० मा रुपन्देहीकै पहिलो तीन तारे होटलका रुपमा स्थापित नान्स होटलले कोठाहरु थप गरी रिन्नोभेसन समेत गरेपछि करिब ३ वर्ष अघि चारतारे होटलमा पर्यटन बिभागमा सुचिकृत छ । होटलमा क्यासिनो समेत सञ्चालनमा छ । ६० वटा कोठा रहेको होटलमा स्वीमिङपुल, सेमिनार हल, पुलपार्टी, कफीसप लगायत सुविधा पनि छन् ।