७० लाख लगानीमा भैरहवामा दुई युवाले संचालनमा ल्याए जीओडी
भैरहवा– यहाँका दुई युवाले ७० लाख रुपैयाँ लगानीमा रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । भैरहवाका युवाहरु रमेश कान्दु र दीपक बानियाँले सिद्धार्थनगर नगरपालिका–५, मैत्रीपथमा रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् ।
गार्डेन अफ ड्रिङ्स (जीओडी) रेष्टुरेन्टमा नेपालीसहित विदेशी स्वादिष्ट खानाका परिकार पस्किने संचालकले जनाएका छन् । रेष्टुरेन्टको शनिबार सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्घाटन गरे । उनले अहिलेको विषम् परिस्थितिमा समेत लगानी गरेर कान्दु र बानियाँले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।
‘अहिले धेरै व्यवसायी सिथिल हुनुहुन्छ, धेरै युवाहरु विदेश पलायन भइरहेका छन् । यस्तोबेला स्वदेशमै केही गर्नुपर्छ भन्ने सन्देश यहाँहरुले दिनुभएको छ’, उनले भने, ‘भैरहवा सम्भावना भएको ठाउँ हो, ग्राहकको चाहना र सन्तुष्टिलाई ध्यान राखेर खानाका परिकार पस्किए राम्रो मार्केट लिन्छ ।’ श्रेष्ठले उद्योगी व्यवसायीको हीतका लागि संघले सधैं सकारात्मक सहयोग गर्ने जनाए । यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई रेष्टुरेन्टसम्म ल्याउने वातावरण बनाएर सफल व्यवसायीको परिचय बनाउन सफल हुनेमा आफू विश्वस्त रहेको उनले सुनाए ।
संचालक कान्दुका अनुसार केही समययता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गुल्जार बन्न थालेपछि विमानस्थललाई लक्षित गरी रेष्टुरेन्ट संचालन गरिएको हो । ‘विभिन्न विमानबाट भैरहवा ओर्लिने पर्यटकलाई हामीले स्वादिष्ट खानाका परिकार पस्कने छौं’, उनले भने, ‘लुम्बिनी आउने पर्यटकलाई पनि हामीले लक्षित गरेका छौं । स्थानीय र आन्तरिक पर्यटक हाम्रा मुख्य पाहुना हुनुहुन्छ ।’
उनका अनुसार रेष्टुरेन्टमा सबै प्रकारका ड्रिङ्सका साथै स्वादिष्ट कफी फाइन्छ । यसका साथै नेपाली सबै किसिमका खानासँगै थकाली, थाई, चिनियाँ, इण्डियन खाना यहाँ पाइन्छ । यस्तै, तन्दुरीका साथै खाजासेट पनि उपलब्ध गराइने कान्दुले बताए । ‘पाहुनाको सन्तुष्टि नै हाम्रो खुशी हो’, उनले भने, ‘धेरै मुनाफा कमाउने लक्ष्य छैन । सस्तो दररेटमा स्वादिष्ट र गुणस्तरीय खाना रेष्टुरेन्टमा पाइन्छ ।’
अर्का संचालक बानियाले खुल्ला ठाउँ भएकाले यहाँ धेरैको रोजाइ हुने विश्वास व्यक्त गरे । उनका अनुसार एकैपटकमा १ सय २० जनालाई सेवा दिनसक्ने गरी डेकोरेसनसहितको पार्टेसन गरिएको छ । ‘हामी यो व्यवसायमा नयाँ हौं, त्यसैले सबैको रायसुझाव लिएर सिक्दै सुधार गर्दै जानेछौं’, उनले भने, ‘पाहुनालाई सन्तुष्टि दिन कुनै किसिमको कन्जुस्याइँ गरिने छैन ।
रेष्टुरेन्ट विस्तारै २४सै घण्टा संचालन गरिने उनले बताए । उनका अनुसार अहिले रेष्टुरेन्टमा ४० जनाले रोजगारी पाएका छन् । लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले रेष्टुरेन्टले भैरहवालाई अझै गुल्जार बनाउने बताए । उनले पाहुनाको चाहनाअनुसार सेवा दिन सके सफल भइने बताउँदै सफलताको शुभकामना दिए । विमानस्थलमा ओर्लने, भारतीय र लुम्बिनी आउने पर्यटकलाई उत्कृष्ट सेवा दिएर रेष्टुरेन्टमा तान्न सक्नुपर्ने उनको सुझाव छ ।
प्रतिकृया दिनुहोस्