January 25, 2025, Saturday
२०८१ माघ १२

दसैंमा पनि व्यापार नबढ्दा व्यवसायी चिन्तित

भैरहवा– नेपालीहरुको सबै भन्दा ठूलो पर्व दसैं आज हो । दसैं सुरु भएसँगै बजार केही भीडभाड देखिएको थियो । तर, कोरोना अघिका वर्षहरुमा जस्तै यसपटक चाडपर्वमा बजारमा रौनक भने छैन । अहिले दसैंको आगमनसँगै पर्वहरुलक्षित उपभोग्य बस्तुहरुको आयात बढेको छ । भैरहवा भन्सार कार्यालय हुँदै गत वर्षहरुको तुलनामा चाडपर्वमा बढी विक्री हुने उपभोग्य बस्तुहरुको आयात बढेको छ । तर, व्यवसायीले भने आयात जस्तै विक्री नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

Advertisement

भैरहवा नाका हुँदै बडा दसैं, तिहार र छठ लक्षित गरी मोटरसाइकल, कार जिप, मोबाइल मात्र हैन विभिन्न प्रकारका लत्ता कपडा, खाद्यान्नहरुको आयातमा वृद्धि भएको छ । चाडपर्व लक्षित भैरहवा भन्सार कार्यालय हुँदै सबै भन्दा बढी मोटरसाइकल आयात हुने गरेको छ । आर्थिक वर्ष २०८०–०८१ मा साउन, भदौको दुई महिनामा १ अर्ब ८३ करोड ४९ लाख ३३ हजार बराबरको १७ हजार ५ सय ९५ वटा मोटरसाइकल आयत भएका थिए ।

चालु आर्थिक वर्षको २ महिनामा ३२ अर्ब ५८ करोड ७३ लाख ७४ हजार बराबरको ३१ हजार ८ सय ५९ वटा मोटरसाइकल आयात भएको भन्सार तथ्यांक छ । यस्तै गत आर्थिक वर्षको पहिलो २ महिनामा १ अर्ब ६७ करोडको ८९ हजार ७ सय मोबाईल टेलिफोनहरु आयात भएकोमा चालु आर्थिक वर्षको पहिलो २ महिनामा बढेर २ अर्ब ५५ करोड बराबरको १ लाख ३५ हजार ५० थान पुगेको छ । गत आर्थिक वर्षको साउन र भदौमा २ सय ६७ थान ईलेक्ट्रीक कार जीप आयत भएकोमा अहिले करिब दोब्बरको संख्यामा बढेर ४ सय ५२ वटा पुगेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

‘गत वर्ष ४० करोड ६० लाख बराबरको तयारी कपडा आयात भएकोमा यस वर्ष ३९ करोडको, २ अर्ब ७५ करोड बराबरको खाद्यन्न आयात भएकोमा यस वर्ष १ अर्ब ७० करोड बराबरको आयात भएको छ’, उनले भने ।

भन्सार कार्यालयले चाडपर्व लक्षित आयातमा वृद्धि भएको बताइरहँदा यसको असर भने बजारमा देखिएको छैन । दसैं भित्रि सकेको छ, दसैंमा बजारमा जुन उल्लास देखिनु पर्ने हो, त्यो अहिले देखिँदैन । अटोमोबाइल क्षेत्र मात्र हैन दैनिक उपभोग्यका सामाग्रीहरु पनि विक्री नभएको व्यसायीहरुको गुनासो छ । देशमा पूंजिगत खर्च हुन नसक्नु, निर्माण व्यवसायीहरुको रकम भुक्तानी नहुनु र उपभोग गर्ने ठूलो जनसंख्या विदेशमा रहेको कारण यहाँको बजार चाडपर्वको बेला पनि चलायमान हुन नसकेको उद्योग व्यापार संगठन, रुपन्देहीका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

कोरोना अघि दसैँ–तिहारजस्ता ठूला चाडको मुखमा बजारमा चहलपहल बढ्थ्यो । कारोबार बढी हुँदा व्यवसायी हर्षित हुन्थ । कोरोनाकाल पछि सुस्ताएको बजाए अझै तंग्रिन नसक्दा व्यवसायी निरास छन् । व्यवसायीहरूले अन्य समयमा भएको व्यापार घाटालाई दसैं लगायतका चाडले राहत मिल्ने ठानेका थिए । तर व्यापार नसुध्रिंदा निरास छन् । ‘विगतका वर्षहरूको तथ्यांक हेर्दा वर्षभरीमा हुनेमध्ये झन्डै ४० प्रतिशत कारोबार दसैँमा हुन्थ्यो’, व्यवसायी हरि थापा भन्छन्– ‘दसैँ–तिहार जस्ता पर्वमा बजारमा ग्राहकको भीड थामि नसक्नु लाग्थ्यो । यी चाडमा मीठो मसिनो खाने र नयाँ लुगा लगाउने चलन भएकाले व्यापार निकै बढ्थ्यो । यही बेला व्यवसायीलाई सामान बेच्न भ्याइनभ्याइ हुन्थ्यो । तर, यस पटक बजारमा त्यस्तो चहलपहल छैन ।’