October 15, 2024, Tuesday
२०८१ आश्विन २९

बुटवल मेडिकल कलेज निर्माण योजना अलपत्र

भैरहवा– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगरमा २०७५ चैत्र ८ मा बुटवल मेडिकल कलेजको कार्यालय भवन शिलान्यास गरे । ‘यो लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रमा नयाँ फड्को हो’, ओलीले शिलान्यासका क्रममा भनेका थिए, ‘ड्रिम प्रोजेक्ट सरकारले जसरी पनि बनाउँछ । बजेट अभाव हुन दिँदैन ।’

Advertisement

ओलीले यसो भनेको र मेडिकल कलेज कार्यालय उद्घाटन भएको पनि अहिले ठीक साढे पाँच वर्ष भएको छ । संयोग अहिले नेकपा एमाले अध्यक्ष केपी ओली नै प्रधानमन्त्री छन् । तर, मेडिकल कलेजको काम भने अघि बढ्न सकेको छैन । स्थानीय रामु घर्ती भन्छन्, ‘प्रधानमन्त्रीले नै उद्घाटन गरेपछि हामी खुशी थियौ, सरकारी मेडिकल कलेज बन्दा तिलोत्तमा क्षेत्रको मात्रै होइन् प्रदेशले नै नयाँ आयाम लिन्थ्यो । तर, विडम्बना सरकारी घोषणा अलपत्र पर्यो । जनता निरासामा छन् ।’

बुटवल मेडिकल कलेज उद्घाटनका बेला हालका अर्थमन्त्री समेत रहेका रुपन्देही २ बाट निर्वाचित विष्णुप्रसाद पौडेलले पनि जिल्ला र प्रदशेका लागि यो स्वास्थ्य क्षेत्रकै सबैभन्दा महत्वपूर्ण प्रोजेक्ट भनेर घोषणा गरेका थिए । मेडिकल कलेजको कार्यालय निकै तामझामका साथ मा उद्घाटन गरिए पनि अहिले काम अलपत्र छ । न बजेट छ, न कर्मचारी न त निर्माणको काम नै भएको छ । जसले गर्दा मेडिकल कलेज निर्माणको काम अलपत्र छ ।

बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका प्रमुख दिनेश देवकोटाले कामले खासै गति लिन नसकेको स्वीकार्छन् । ‘जुनरुपले काम हुनुपथ्र्यो, त्यो भएको छैन’, उनले भने, ‘बजेट आयो भने हामीले काम गर्ने हो ।’

उनका अनुसार यस वर्ष मेडिकल कलेज बनाउन जम्मा १० लाख मात्र बजेट छ । ‘जसरी यो आयोजनालाई बजेट हुनुपथ्र्यो, त्यो रकम सरकारले छुट्याएको छैन । अहिले विष्णु पौडेल अर्थमन्त्री हुनुहुन्छ । अब कामले गति लिने विश्वास लिएको छु, हेरौं के हुन्छ । यसका लागि हामीले पहल गरिरहेका छौं’, उनले भने।

आयोजना कार्यालयले ६ सय बेडको जनरल अस्पताल बनाउने डिपिआर तयार गरेको छ । इआइए अध्ययन गर्दा २ सय बिघा जमिनमा मेडिकल कलेज बनाउने योजना थियो । तर, वन मन्त्रालयले २ सय बिघा वन क्षेत्रमा अस्पताल बनाउन नमिल्ने भन्दै ५० बिघा जमिन मात्रै उपलब्ध गराएको छ ।

आयोजना स्थलमा ११ हजार रुख काट्नुपर्ने इआइए अध्ययनले देखाएको छ । तर, सबै रुख भने काट्नु नपर्ने आयोजनाको दावी छ । फिल्डमा देखिनेगरी काम नभएपछि आयोजना कार्यालय नै अन्यौलमा छ । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सरकारले योजना घोषणा गर्ने तर कार्यान्वयन नगर्ने परिपाटी विकास भइरहेको बताउँछन् ।

‘सरकारी यस्तो प्रवृत्तिले जनतामा निरासा छाएको छ’, उनले भने, ‘निरासालाई आशामा बदल्न तत्काल मेडिकल कलेज निर्माणको काम सुरु हुन जरुरी छ ।’ उनले अर्थमन्त्री रुपन्देहीकै भएकाले अब बजेट अभाव हुन दिन नहुने बताए । उनले तत्काल काम सुरु गरेर आशाको दियो बाल्नुपर्नेमा जोड दिए ।

आयोजनाले अहिलेसम्म डीपीआर स्वीकृत नभएको भन्दै अब कामले गति लिनेमा विश्वस्त रहेको जनाएको छ । १४ अर्बको लागतमा तिलोत्तमाको वडा नम्बर १ र ८ को शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वन क्षेत्रको २०० विगाहा क्षेत्रफलमा मेडिकल कलेज बनाउने भनिएको छ । अहिलेसम्म कार्यालय स्थापना बाहेक देखिने गरी कुनै काम हुन सकेको छैन । आयोजनाको अहिले देखिने गरी प्रगति भएको भनेकै कार्यालय उद्घाटन मात्र हो । यतिसम्म कि, कार्यालय उद्घाटन भएको करिब ५ बर्षसम्म पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)समेत पास भएको छैन ।