बौद्ध विश्वविद्यालय र सिद्धार्थ बिजनेस ग्रुपबीच सहकार्यः विद्यार्थीलाई पढ्दै, कमाउने अवसर
भैरहवा– सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीमा ब्याचलर इन हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट (बीएचटीएम) पढाइने हुने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ हस्पिटालिटीको सहकार्यमा यहाँस्थित पाँचतारे होटल सिद्धार्थ भिलासामा आगामी मंसिरदेखि पढाइ संचालन गर्न लागिएको हो ।
सिद्धार्थ बिजनेस ग्रुपले पत्रकार सम्मेलन गरी बौद्ध विश्वविद्यालयको सहकार्यमा ४ वर्षे ब्याचलर इन हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट (बीएचटीएम) पढाउन लागिएको जनाएको हो । ‘बौद्ध विश्वविद्यालय र सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीबीच सहकार्यमा विद्यार्थीले पढ्दै, सिक्दै, कमाउने अवसर पाएका छन्, यो घोषणा गर्न पाउँदा हामी निकै खुशी छौं’, सिद्धार्थ भिलासाका अप्रेशन प्रमुख लक्ष्मण थापाले भने ।
ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपाने बीएचटीएम अध्ययन गर्ने विद्यार्थीलाई बौद्ध दर्शनसमेतको सैद्धान्तिक र व्यावहारिक ज्ञानका साथ पढ्दै कमाउँदै गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच सम्झौता र सहकार्य भएको जनाए । ‘विद्यार्थीले चार वर्षे कोर्समा पहिलो सेमेस्टरमा बौद्ध दर्शनसँगै होटल व्यवस्थापनबारे आधारभूत ज्ञान लिनेछन् । दोस्रो सेमेस्टरदेखि उनीहरुले पढ्दै, पैसा कमाउन सक्ने गरी कोर्स डिजाइन गरिएको छ’, उनले भने ।
विद्यार्थीको ज्ञान, सीप र व्यवहार तीन वटै पक्षको प्रभावकारी सिकाइ र मूल्यांकन हुने गरी कोर्स डिजाइन गरिएको बौद्ध विश्वविद्यालयका प्रध्यापक श्रीप्रसाद भट्टराईले जानकारी दिए । ‘पहिलो वर्षको पढाई मंसिरको पहिलो साताबाट सिद्धार्थ भिलासामा सुरु हुनेछ । हस्पिटालिटी क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र स्वदेशमै उनीहरुलाई टिकाइराख इन्स्टिच्युटसँग सहकार्य गरिएको हो’, उनले भने ।
कोर्समा विद्यार्थीले पर्यटन व्यवस्थापन पनि पढ्न पाउनेछन् । विद्यार्थीले पढाइका लागि लाग्ने कुल खर्च ७ लाख मध्ये अधिकांश खर्च पढाइ पूरा गर्दा कमाई गर्न सकुन् भन्ने उद्देश्य रहेको न्यौपानेले बताए । विद्यार्थीले सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका विभिन्न होटल, रिसोर्ट एवं क्याफेमा प्रयोगात्मक कक्षा लिादै तिरेको शुल्कको ७० प्रतिशत सम्म कमाउन सक्ने व्यवस्था मिलाइएको छ ।
बौद्ध विश्वविद्यालयका अनुसार पाठ्यक्रमका लागि सम्बन्धित विज्ञहरुसँग कार्यशाला, गोष्ठीहरु गरेर राय सल्लाह सुझाव लिएर कोर्स तयार गरिएको छ । यस अन्तर्गत विद्यार्थीले पहिलो सेमेस्टरमा प्राथमिक, दोस्रो सेमेस्टेरमा आधारभूत, तेस्रो सेमेस्टेरमा एडभान्स, चौथो सेमेस्टरमा विशेषज्ञता, पाँचौ सेमेस्टरमा अपरेसन, छैटौं सेमेस्टरमा व्यवस्थापक तालिम लिने छन् । यसका लागि उनीहरुलाई होटलका विभिन्न विभागहरुमा तालिम दिइनेछ । साथै विद्याथीले कक्षा कोठामा सैद्धान्तिक ज्ञान पाउनेछन् भने बाँकी अवधिमा अतिरिक्त काम गरी कमाउन सक्नेगरी पाठ्यक्रम तयार गरिएको छ ।
यस कार्यक्रममा विद्यार्थीलाई ‘शैक्षिक कर्जा’ ब्यबस्थाको पनि योजना बनाइएको छ । यस सहकार्य अन्तर्गत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई पढ्नका लागि बैंकबाट कर्जा प्रवाहका लागि सहजीकरण गरिने विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले बताए । साथै उनीहरुले पढाइका अवधिमा कमाएको पैसा किस्ताका रुपमा तिर्न पनि सक्नेगरी योजना पनि बनाइएको उनले जनाए ।
अध्ययनका लागि फारम भर्ने विद्यार्थीलाई प्रवेश परीक्षा र अन्तर्वार्ताबाट छनोट गरिनेछ । एउटा सेसनमा बढीमा ४० जना विद्यार्थी राखिनेछ । सम्पूर्ण प्रयोगात्मक कक्षा र कार्यगत तालिम होटलमा हुनेछ । साथै होटेल प्राङ्गणको छुट्टै भवनमा सैद्धान्तिक कक्षा, पुस्तकालय, स्टुडियो ल्याब र प्रशासनिक क्रियाकलापहरु प्रयोजनमा कार्यालय सञ्चालन गरिने सिद्धार्थ भिलाषाका प्रबन्ध निर्देशक इन्द्रलाल न्यौपाने (महेन्द्र) बताए ।
अध्ययन पूरा गरिसक्दा यस क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन होस् भन्ने चाहना रहेको उनले बताए । ‘प्लस टुपछि उच्च शिक्षाका लागि प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी विदेश पलायन भइरहेका छन् । यस सहकार्यमार्फत विद्यार्थीले पढ्दै, कमाउँदै गर्न पाउने भएकाले उनीहरुलाई केही हदसम्म भए पनि स्वदेशमै रोक्न सकिने विश्वास छ’, न्यौपानेले भने, ‘विद्यार्थीको प्रयोगात्मक कक्षाको आबद्धताका आधारमा क्रेडिट आवर गणना हुन्छ र थप समय काम गरी वर्किङ आवरका आधारमा कमाउन सक्नेछन् ।
बौद्ध दर्शनका विविध आयाममा अध्ययन, अनुसन्धान र सहकार्य गर्ने उद्देश्यका लागि सिद्धार्थ बिजनेस गु्रपसँग सहकार्य गरिएको आचार्यले बताए । ‘विश्वविद्यालयले अझ धेरै प्राज्ञिक विशिष्टता हासिल गर्दै सक्षम र सबल जनशक्ति उत्पादन गर्न र समग्र व्यवसायिक क्षेत्रले लाभ प्राप्त गरोस् भनेर सहकार्य गरिएको हो’, आचार्यले भने ।
यस प्रकारको डिग्रीबाट अझ धेरै प्राज्ञिक विशिष्टता हासिल गर्दै सक्षम र सबल जनशक्ति उत्पादन हुने र समग्र सेमिनार, व्यावसायिक क्षेत्रले लाभ प्राप्त गर्ने अपेक्षा लिएको होटलले जनाएको छ । यसले विद्याथीहरूलाई खानपान, आवास, उड्डयन, साहसिक पर्यटन र टूर अपरेशनहरूमा व्यवस्थापकीय साथै उद्यमशीलताका क्षेत्रमा काम गर्न जनशक्ति तयार गर्ने अपेक्षा राखिएको छ ।
प्रतिकृया दिनुहोस्