January 25, 2025, Saturday
२०८१ माघ १३

बौद्ध विश्वविद्यालयको ध्यान बुटवलतिर, लुम्बिनीको केन्द्रीय क्याम्पस रित्तिँदै

भैरहवा– लुम्बिनी बौद्ध विश्वविद्यालयले केन्द्रीय कार्यालय लुम्बिनी बिकास कोष परिसरमा स्थापना गर्यो । उक्त कार्यालय केही समयअघिसम्म लुम्बिनीस्थित पर्सा बजार नजिकै केन्द्रिय क्याम्पस परिसरमा रहेको पुस्ताकालय भवनमा थियो । केन्द्रीय पुस्तकालय भवनबाट कार्यालय बिकास कोष परिसरमा सारेको विश्वविद्यालय प्रशासनले अब केन्द्रिय क्याम्पसमा पठपाठन हुँदै आएका विषय समेत बुटवलस्थित सीटी क्याम्पसमा सार्न थालेपछि स्थानीय आक्रोशित बनेका छन् ।

Advertisement

केन्द्रीय क्याम्पसमा बौद्ध दर्शन मात्र पढाउने जनाउँदै लामो समयदेखि सञ्चालन भइरहेका विषयमा भर्ना रोकिएको छ । घर नजिकको क्याम्पसमा रचनात्मक र आवश्यक विषय थप गरेर पढाउनु पर्नेमा भर्ना नै रोकिएपछि स्थानीय सरोकारवालाले बिरोध सुरु गरेका छन् । लुम्बिनीमा संरचना निर्माण गर्ने तर स्थानीयलाई बेवास्ता गर्न थालेपछि उनीहरु बिरोधमा उत्रिएका हुन् ।

स्थानीय बासिन्दा, नागरिक समाज, वर्तमान तथा पूर्व विद्यार्थी समाजले प्रशासन मार्फत् विश्वविद्यालयका उपकुलपतिलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पुगेर उनीहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । उक्त पत्रमा विश्वविद्यालयले लुम्बिनीस्थित केन्द्रीय क्याम्पसमा स्थानीय विद्यार्थीको आवश्यकता अनुसारका विषय थप गरेर पठनपाठन सञ्चालन गर्नु पर्नेमा लामो समयदेखि पढाई भइरहेका बीएआरडी र बीटीटीएम विषयमा भर्ना नखुलाइएको बारे आपत्ती प्रकट गरेका छन् ।

उनीहरुले भर्ना नखुलाउनुको कारण माग गरेका छन् । साथै क्याम्पसमा बीएएलएलबी लगायत कार्यक्रम सञ्चालन गरिनुपर्ने माग गरेका छन् । उनीहरुले उठाएका विषयमा एकसाता भित्र विश्वविद्यालयको जवाफ माग गरिएको ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रममा सहभागी राज यादवले बताए ।

लुम्बिनीमा रहेको केन्द्रीय क्याम्पसमा २०७१ सालदेखि पठनपाठन हुँदै आएका विषयमा चालु शैक्षिक शत्रका लागि भर्ना नखोलिएपछि स्थानीयले बिरोध जनाएका हुन् । उनीहरुले क्याम्पस र विश्वविद्यालय प्रशासनलाई ज्ञापनपत्र बुझाएर भर्ना सञ्चालन गर्न माग गरेका छन् । क्याम्पस प्रशासनले एक्कासी भर्ना रोकेपछि स्थानीय विद्यार्थी मर्कामा परेको जनाउँदै पठनपाठनलाई निरन्तरता दिन माग गरेका छन् ।

लुम्बिनीस्थित केन्द्रीय क्याम्पसमा पुरातत्व शास्त्र अध्ययन गरिरहेका छात्र सन्दीप गुप्ता र स्थानी युवा काशिम खानले क्याम्पस प्रशासनलाई बुझाएको ज्ञापन पत्रमा २०७१ सालदेखि पढाई भइरहेका बीएआरडी, बीटीटीएम विषयकालागि चालु शैक्षिक सत्रमा भर्ना आह्वान नगरिएको उल्लेख गरिएको छ । उनीहरुले लामो समयदेखि पढाई हुँदै आएका विषयमा तत्काल भर्ना आह्वान गर्न माग गरेका छन् ।

यी विषयमा भर्ना खुलाउनुका साथै स्थानीयका लागि आवश्यक विषयमा पठनपाठन सञ्चालन गर्न उनीहरुले माग गरेका छन् । आगामी दिनमा एक वर्षे शिक्षा संकाय र कम्प्युटर विषयमा पढाई सञ्चालन गर्न माग गरेका छन् । उनीहरुका अनुसार केन्द्रिय क्याम्पसमा पढाई हुँदै आएका विषयलाई विश्वविद्यालय प्रशासनले बुटवलस्थित सीटी क्याम्पसमा पढाउने गरि भर्ना स्थगित गरिएको हो । यसले लुम्बिनीका विद्यार्र्थी मारमा परेको उनीहरुको भनाई छ । क्याम्पस प्रशासनको निर्णयले केन्द्रीय क्याम्पस रित्तिने र बुटवलको सिटी क्याम्पस भरिने अवस्था आएको छ ।