February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

सशस्त्र प्रहरीद्वारा भन्सार गस्ती चुस्त, सामान बरामद धमाधम

भैरहवा– रुपन्देहीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वार्टरले भन्सार छलेर भित्र्याइएका सामाग्री बरामद गर्नुका साथै सीमा सुरक्षालाई प्राथमिकता दिएको छ । नाकाबाट हुने अवैध पैठारीबिरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएको सशस्त्र प्रहरीले भारतीय समकक्षीसित समन्वयमा सीमा सुरक्षालाई प्रभावकारी तुल्याइरहेको छ । यसबाहेक नागरिकको सुरक्षाका लागि जिल्लास्थित प्रशासन र अन्य सुरक्षा निकायसित समन्वयमा काम गरिरहेको छ ।सशस्त्र प्रहरीले पछिल्लो चार महिना अवधिमा ५ करोड मूल्यका भन्सार छलेर भित्र्याइएका विभिन्न सामान बरामद गरेको छ । भारतबाट भन्सार छलेर मुलुक भित्र्याउने क्रममा बरामद गरिएका यस्ता सामाग्री आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय दाखिला गरिएको गणले जनाएको छ । यसरी बरामद मध्ये घरेलु र व्यवसायिक प्रयोजनका सामाग्रीसँगै ठूलो परिमाणमा लागू औषध गाँजा छ ।

Advertisement

सशस्त्र प्रहरीले दुई महिनाअघि नाकाबाट भारत लैजान लागिएको २ सय ८७ दशमलव ४६ किलो गाँजा बरामद गरेको थियो । विभिन्न स्थानमा ट्रक परिवर्तन गर्दै नाका कटाउने तयारी गरिएका बेला सशस्त्रले जिल्लाको सिद्धार्थनगर नगरपालिका र रोहिणी गाउँपालिकाको सिमानाबाट उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरले जानकारी दिए । गाँजा ओसारपसारमा संलग्न एक भारतीय नागरिक समेत पक्राउ गरिएको थापाले बताए ।

यसबाहेक विपदका बेला बाढी तथा डुवानमा परेका व्यक्तिको उद्धार तथा वेपत्ताको खोजीमा सक्रिय रहेको उनले बताए । सीमापार अपराध नियन्त्रणका लागि भारतीय समकक्षीसित नियमित समन्वय र संयुक्त गस्ती गर्ने गरिएको बताए । सशस्त्रले प्रत्येक महिना सीमा केन्द्रित ७ दिने पैदल गस्ती गर्दै आएको थापाले बताए । ‘शान्ति सुरक्षा स्थापनाका लागि स्थानीय प्रशासन र अन्य सुरक्षा निकायसित समन्वयमा काम गरिरहेका छौं,’ उनले भने, ‘तस्करी नियन्त्रणमा विषेश ध्यान दिएका छौं ।’

सशस्त्र प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जोखिममा परेका १८ महिलाको उद्धार गरिएको जनाएको छ । विभिन्न प्रयोजनका लागि भारत लैजान लागिएका ती महिलाको उद्धारपछि बेचबिखनबिरुद्ध क्रियाशील संस्थाको जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए । ‘आगलागी नियन्त्रणका लागि गण मातहतका युनिटबाट माइकिङ, चेतनामूलक कक्षा सञ्चालन गरिएको थियो,’ उनले भने, ‘आगलागी भएका स्थानमा सशस्त्र प्रहरी परिचालन गरेर नियन्त्रण गरेका थियौं ।’