February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

मुलुकमा पहिलोपटक सीमानाका बेलहियामा वाकथ्रु मेसिन संचालन

भैरहवा– मुलुकमै पहिलोपटक नेपाल–भारत सीमानाका रुपन्देहीको बेलहियामा वाकथ्रु मेसिन संचालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको पहल र सिद्धार्थनगर नगरपालिकाको आर्थिक सहयोगमा बेलहिया नाकामा अत्याधु्निक वाकथ्रु मेसिन राखिएको हो । बेलहियामा रहेको पुरानो गेटको बायाँ तर्फ (भारतबाट नेपाल प्रवेश गर्दा) मेसिन राखिएको छ । सम्भवतः नेपाल–भारत सीमा नाकामा यस्तो मेसिन बेलहियामा राखिएको पहिलोपकट हो । विमानस्थलहरुमा राखिए पनि अन्य नाकामा कतै नभएको प्रशासनले जनाएको छ ।

Advertisement

बुधबार गृह सचिव एकनारायण अर्यालले वाकथ्रु मेसिनको शुभारम्भ गरे । उनले मुलुकको शान्ति सुरक्षा कायम राख्न यस्ता उपकरणले महत्वपूर्ण योगदान दिने जनाए । ‘प्रमुख जिल्ला अधिकारीले नेतृत्व गरेर सीमा क्षेत्रलाई सुरक्षित गराउन गरिएको यो प्रयास सह्रानीय छ’, अर्यालले भने, ‘सबैको सहयोग भयो भने सकारात्मक र दीर्घकालीन काम गर्न सकिन्छ भन्ने यो एउटा उदाहरण हो ।’

उनले सीमा नाकाहरु व्यस्थित बनाउन गृह प्रशासनको तर्फबाट आवश्यक सबै किसिमका काम र सहयोग हुने जनाए । ‘नागरिकको जिउधनको सुरक्षासँगै मुलुकको शान्ति–सुरक्षामा विशेष ध्यान दिएर काम गरिरहेका छौं’, उनले भने, ‘यसका लागि सैब संयन्त्रले चौबीसै घण्टा खटेर काम गरिरहेका छन् ।’ उनले वाकथ्रु मेसिनले अवैध सामान मुलुक भित्रनबाट रोक्ने विश्वास व्यक्त गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले सीमा नाकालाई व्यस्थित गर्ने प्रयास स्वरुप वाकथ्रु मेसिन राखेर काम गरेको जनाए । ‘भारततर्फ जाँदा एक–एक गरेर वाकथ्रु मेसिनमा जाँच गरेर बल्ल प्रवेश दिइन्छ’, उनले भने, ‘नेकपालतर्फ आउँदा अधिकांशलाई सामान्य जाँच समेत हुँदैन । यसैले अब हरेक व्यक्ति नेपाल आउँदा उसको सम्पूर्ण सुरक्षा जाँच हुनुपर्छ भनेर वाकथ्रु मेसिन राखेका हौं ।’ उनले नेपाल प्रवेश गर्ने सबैलाई जाँच गरिने र भारततर्फ जानेलाई पनि शंका लागे त्यहाँ रहेका सुरक्षाकर्मी वाकथ्रु मेसिनमा जाँच गर्ने जनाए ।

‘मेसिन थिएन र समस्या थियो, मेसिन भएपछि जुनसुकै र जस्तोसुकै व्यक्तिलाई पनि जतिबेला पनि जाँच गर्न सकिन्छ’, उनले भने, ‘यसले रुपन्देहीसँगै अन्य क्षेत्रको सुरक्षालाई पनि मजबुत पार्न थप सहयोग मिलेको छ ।’ प्रजिअ अर्यालका अनुसार चीनमा बनेको यो वाकथ्रु मेसिन अत्याधुनिक छ । यसले दैनिक प्रयोगका वस्तुलाई डिटेक्ट गर्दैन । ‘तर, लागूऔषध, विष्फोटक पदार्थ, सुनचाँदीलाई भने डिटेक्ट गर्छ’, उनले भने, ‘यसले सुरक्षालाई मजबुत पार्दै अवैध सामान भित्रन रोक्ने अपेक्षा छ ।’

सिद्धार्थनगर नगरपालिकाको साढे ५ लाख लगानीमा प्रशासनले वाकथु्र मेसिन खरिद गरेको हो । नगर प्रमुख इश्तियाक अहम्मद खाँले सिद्धार्थनगरबासीलाई सुरक्षित र भयरहित वातावरणमा आफ्नो पेसा–व्यवसाय गर्ने तथा दैनिकी संचालन गर्ने अवस्था सिर्जना गर्न प्रशासनसँग मिलेर काम गरिरहेको बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सुरक्षा महत्वपूर्ण विषयवस्तु भएकाले यसमा नगरपालिकाले प्रशासनको आग्रहलाई स्वीकार गरेर मेसिन खरिदमा सहयोग गरेको जनाए ।