भैरहवा भन्सारद्वारा चौबीस घण्टामा तीनवटा ट्रकसहित २२ लाख बढी मूल्यको सामान बरामद
भैरहवा– दुई छुट्टाछुट्टै स्थानबाट भैरहवा भन्सार कार्यालय, बेलहियाले २४ घण्टामा तीनवटा मिनी टकसहित २२ लाख रुपैयाँ भन्दा धेरै मूल्यको भन्सार छलि गरेका सामान बरामद गरेको छ । सामान बाहेक ट्रकको मूल्य करिब १५ लाख रुपैयाँ छ ।
भन्सार कार्यालयका अनुसार, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पछाडि मर्चवार जाने सडकको गरगट्टी भन्ने स्थानबाट र रुपन्देहीको सियारी गाउँपालिकामा पर्ने अमुवास्थित भित्री गाउँबाट ति टकसहितका सामान पक्राउ परेका हुन् । पक्राउ परेका सामानमा कस्मेटिक र प्याज छन् ।
आइतवार राति साढे १२ बजेको समयमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पछाडि मर्चवार जाने सडकको गरगट्टी भन्ने स्थानबाट लु १ च ६४३० र लु १ ख ४५४६ नम्बरको मिनी ट्रकसहित ७ क्विन्टल प्याज पक्राउ गरिएको हो ।
भन्सार कार्यालयका प्रमुख नारद गौतमले भन्सार गश्ती टोलीलाई देखेपछि प्याज ढुवानी गरेका दुईवटै ट्रकका चालक फरार भएको बताए । सूचनाको आधारमा भन्सार गश्तीले दुईवटा ट्रकसहितको प्याज पक्राउ गरेको उनले बताए । ‘भन्सार गश्तीले प्रयोग गर्ने गाडीको प्रयोग गर्दा तस्करका सुराकीले टाढैबाट खबर गर्ने भएकाले गश्ती टोलीले भारतीय नम्बर प्लेटको गाडीको प्रयोग गरेको थियो’, उनले भने ।
भैरहवा भन्सार गश्ती टोलीले रुपन्देहीको सियारी गाउँपालिकामा पर्ने अमुवास्थित भित्री गाउँबाट लु १ च ४७९२ नम्बरको ट्रकसहित भन्सार छलि गरिएका ब्रा, मोजा र बेल्ट (पेटी), टेप्पर ग्लास, लेडिज सेन्डल लगायतका साढे १९ लाख भन्दा धेरै मूल्यको कस्मेटिक सामान पक्राउ गरेको हो । रुपन्देहीको रोहिणी गाउँपालिका–७ का ट्रक चालक अब्दुल अन्सारी पनि पक्राउ परेका छन् ।
भन्सार प्रमुख गौतमले चालकको बयानको आधारमा थप अनुशन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइने बताए । उनले भन्सार कार्यालयले निरन्तर गश्ती गरिरहेकाले चोरीतस्करी गर्ने पक्राउ परिरहेको जनाए । ‘हामीले गश्तीलाई निरन्तरता दिएका छौं, बेलाबेलामा सूचनाहरु पनि आउने गरेका छन्’, उनले भने, ‘सूचनालाई तुरुन्तै फलोअप गरेर काम गरिरहेका छौं ।’
प्रतिकृया दिनुहोस्