May 21, 2024, Tuesday
८ जेष्ठ २०८१, मंगलवार

दिनदिनै आगलागी, दमकल पुर्‍याउनै धौं-धौं

भैरहवा– रुपन्देहीको सियारी गाउँपालिका अन्तर्गत गडसरीमा गत मंगलबार दिउँसो आगो लाग्यो । स्थानीयले जिल्ला प्रशासन र प्रहरीमा फोन गरेर दमकल उपलब्ध गराइदिन अनुरोध गरे । प्रशासन र प्रहरीले जिल्लामा रहेका सबै दमकल व्यस्त रहेकाले तत्काल उपलब्ध गराउन नसकिने जानकारी दिए ।

Advertisement

स्थानीयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दमकल भए पनि उपलब्ध गराउन अनुरोध गरेका थिए । विमानस्थल संवेदनशील क्षेत्र भएकाले तत्काल दमकल परिचालन गर्न सम्भव नहुने जानकारी गराएपछि स्थानीय निराश बने । जिल्लामा एकैपटक धेरै स्थानमा आगो लाग्ने गरेको छ । ग्रामीण क्षेत्रमा खेतबारीमा लगाइएको आगो फैलिएर बस्तीमा पुग्ने गरेको छ ।

Advertisement

रुपन्देहीका सिमावर्ती पालिकामा धेरै आगोको समस्या देखिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका, सम्मरीमाई, मर्चवारी, कोटहीमाई, सियारी, रोहिणी लगायत गाउँपालिकामा धेरै आगजनीका घटना भइरहेका छन् । ती पालिकामा स्थानीयले गहुँका नलमा आगो लगाउँछन् । त्यहीँ आगो फैलिएर बस्तीमा पुग्ने गरेको छ । आगोका कारण जिल्लामा घर, गोठ, अनाज, लत्ताकपडा जलेर नष्ट भएका छन् । दुई साता अघि रोहिणीमा भएको आगजनीमा परेर बस्तुभाउ र पन्क्षी समेत मरेका छन् ।

प्रत्येक वर्ष हिउँद याममा आगोका घटना बढ्ने भए पनि रुपन्देहीका पालिकाले दमकल खरिदलाई महत्व दिएका छैनन् । समस्या परेपछि अत्तालिने गर्छन् । दमकल समयमा उपलब्ध नहुँदा क्षति बढ्ने गरेको छ । रुपन्देहीमा अहिलेसम्म बुटवल, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर, तिलोत्तमा र देवदहले दमकल खरिद गरेर चलाइरहेका छन् । जिल्लाका १६ पालिकामै आगलागीको समस्या भए पनि दमकल खरिदलाई प्राथमिकता दिएको पाइँदैन । अप्ठयारो परेका बेला हारगुहार गर्छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सैनामैना, सियारी, गैडहवा, कंचनले संयुक्त लगानीमा एउटै दमकल किनेर चलाइरहेका छन् । रोहिणी र ओमसतियाले १५ दिन अघि दमकल खरिद गरेका थिए । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले दमकल नरहेका नगर र गाउँपालिकामा आगोको समस्या रहेको बताए । सकभर एउटा नभए दुई पालिकाले संयुक्त लगानी गरेर भए पनि दमकल खरिद गर्नुपर्ने निर्णय गरिएको अर्यालले बताए ।

रुपन्देहीमा अहिले आयाल निगममा एउटा र विमानस्थलमा ३ वटा दमकल छन् । ती दमकल भने अति संवेदनशिल अवस्थामा समय र परिस्थिति हेरेर मात्र बाहिर निकाल्न मिल्ने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । जिल्लामा आगलागीबाट डेढ सय बढी घरमा क्षति पुगेको छ भने करिब ७ करोड बराबरको धनमान नष्ट भएको छ ।