May 21, 2024, Tuesday
८ जेष्ठ २०८१, मंगलवार

बेलहिया नाका हुँदै ४ अर्ब ६१ करोड सिमेन्ट, क्लिंकर र धागो निर्यात

भैरहवा– रुपन्देहीको बेलहिया नाका हुँदै ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेन्थेटिक यार्न (धागो), सिमेन्ट र क्लिंकर निर्यात भएको छ । चालु आर्थिक वर्षको ९ महिनामा भैरहवा नाका (बेलहिया) हुँदै उक्त रुपैयाँ बराबरको सिमेन्ट, क्लिंकर र धागो निर्यात भएको हो ।

Advertisement

यो अवधिमा २ अर्ब ४० करोड रुपैयाँबराबरको ११ हजार ९ सय १० टन सेन्थेटिक यार्न (धागो) निर्यात भएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । ‘यो नाकाबाट नियमितरुपमा धागो निर्यात भइरहेको छ, यसले ब्यापार घाटा कम गर्न ठूलो सहयोग गरेको छ’, उनले भने ।

Advertisement

भन्सार कार्यालयका अनुसार ९ महिनामा १ अर्ब २७ करोड रुपैयाँ बराबरको ६ लाख २९ हजार टन सिमेन्ट निर्यात भएको छ । यस्तै, ९३ करोड ११ लाख रुपैयाँ बराबरको २ लाख ८० हजार टन क्लिंकर निर्यात भएको गौतमले जानकारी दिए । यो नाका हुँदै निर्यात हुने सामानहरूमा सबैभन्दा बढी हिस्सा सेन्थेटिक यार्नको छ । भैरहवा क्षेत्रमा रहेको उद्योग जगदम्बा स्पिनिङ मिल्सले उत्पादन गर्ने सेन्थेटिक यार्न लामो समयदेखि निर्यात हुँदै आएको छ ।

भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा ३ अर्ब १६ करोड मूल्य बराबरको १४ हजार ९३६ टन सेन्थेटिक यार्न निर्यात भएको थियो । सेन्थेटिक यार्न यो नाका हुँदै भारत तथा टर्किसम्म निर्यात हुने गरेको छ । केही वर्षअघिसम्म सिमेन्ट तथा क्लिंकरका लागि भारतकै भर पर्नु परेकामा आयातलाई प्रतिस्थापन गर्दै अघिल्लो वर्षदेखि भारत निकासी हुन थालेको सिमेन्ट तथा क्लिंकरको निर्यात पनि बढ्दै गएको छ ।

गत आर्थिक वर्षको १२ महिनामा ३१ करोड ८६ लाख रुपैयाँ बराबरको सिमेन्ट मात्र निकासी भएकोमा चालु वर्षको ९ महिनामा १ अर्व २७ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा ९३ करोड ११ लाख रुपैयाँ बराबरको क्लिंकर भारत निर्यात भएको छ ।

सरकारले बजेटमार्फत विभिन्न वस्तुहरू तोकिएको परिमाणमा बढी निकासी गरे ८ प्रतिशत नगद अनुदान दिने घोषणा बजेटमा गरिएको छ । सोही अनुसार उद्योगहरूले भारततर्फ निकासी बढाइरहेको गौतमले बताए । सरकारले क्लिंकर, सिमेन्ट, स्टील, फुटवेयर, प्रशोधित पानीसहितका ८ वस्तु तथा सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस आउटसोर्सिङ जस्ता निकासीमा उच्च सम्भावना रहेका वस्तु तथा सेवा तोकिएको परिमाण मूल्यबराबरका निकासी गरी ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेको छ ।

बेलहिया नाका हुँदै अर्घाखाँची सिमेन्ट, शुभश्री जगदम्बा, पाल्पा तथा सर्वोत्तम सिमेन्ट भारत निकासी हुँदै आएको छ । यहाँबाट निर्यात हुने सिमेन्टको मुख्य बजार भारत उत्तर प्रदेश राज्यका, महाराजगन्ज, सिद्धार्थनगर, गोरखपुर तथा वरपरकाका जिल्ला छन् ।