January 25, 2025, Saturday
२०८१ माघ १३

टिप्परबाट तस्करीका सामान ढुवानी गर्ने नयाँ तरिका

भैरहवा– सामान्यतयाः ढुंगा, गिट्टी वालुवा, माटो जस्ता नदीजन्य सामानको ढुवानी गर्ने गरेका टिप्परले भन्सार छलिका सामानको ढुवानी गर्छन् भन्ने कुरा सोचिँदैन । आम मानिसको यही सोंचको फाइदा उठाउँदै तस्करले तस्करीका सामान ढुवानीमा टिप्परको प्रयोग गर्ने गरेको नयाँ कुराको खुलासा हुन पुगेको छ ।

भैरहवा हुँदै बुटवलतर्फ जाने क्रममा लु २ ख १२५३ नम्बरको टिप्परलाई भैरहवा भन्सार कार्यालयको टोलीले बेथरीमा नियन्त्रणमा लिएको पछि तस्करीको यो नयाँ तरिकाबारे रहस्य खुलेको हो । उक्त टिप्परबाट भन्सार टोलीले १५ लाख भन्दा धेरै मूल्यको भन्सार छलि गरेको कपडा र हुक्काको फ्लेबर बरामद गरेको छ । तस्करीका ति सामानसहित टिप्पर चालक रुपन्देहीको सियारी गाउँपालिका–२ निवासी ३२ बर्षीय संजित हरिजन र सहचालक उक्त स्थानकै २९ वर्षीय दीपक पत्थरकट्टालाई पनि पक्राउ परेका छन् ।

Advertisement

भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले त्यस क्षेत्रबाट केही दिन अघिदेखि टिप्परबाट भन्सार छलिका सामानको तस्करी भैरहेको सूचना प्राप्त भएको र पक्राउका लागि एक सातादेखि निरन्तर प्रयाश गर्दा पनि टिप्पर उम्किने गरेको बताए । ‘पक्राउ गर्ने एक सातादेखिको निरन्तर प्रयास बल्ल सार्थक भएको छ’, उनको भनाइ थियो ।

उनका अनुसार, हुक्काको फ्लेबर महंगो छ र आयात गर्दा अन्तशुल्क समेत लाग्ने गर्छ । टिप्परलाई माथि भन्सार छलिका दृष्टिले चेकजाँच नहुने भएकाले तस्करीको सामान ढुवानी गर्नमा तस्करले टिप्परको प्रयोग गर्ने नयाँ जुक्ती प्रयोग गरेका हुन् । पक्राउ परेका चालक र सहचालकको बयानको आधारमा यस विषयमा थप छानबिन र अनुशन्धान जारी रहेको उनले जनाए ।

व्यत्तिगत निर्माणका कार्यमा नदीजन्य सामाग्रीको ढुवानी, क्लिकंरको कच्चा पदार्थ चुन ढुंगाको ढुवानी, क्लिंकर, कोइला लगायतका सामानको ढुवानीमा रुपन्देहीमा दैनिक अनुमानित हजारको संख्यामा सयौं टिप्पर संचालनमा हुने गर्छन् । दैनिक ढुवानीमा प्रयोगमा आउने टिप्परलाई प्रयोगमा ल्याउन बेथरी आसपास क्षेत्रमा तस्करले भन्सार छलिका सामानको गोदाम बनाई दैनिक यसरी नै ढुवानी गरि गन्तब्यमा पुर्याउने गरेको हुनसक्ने अनुमान गरिएको छ ।

यस बिषयमा छानबिन तथा अनुशन्धान जारी रहेको भन्सार प्रमुख गौतमले बताए । दुई साता अघि पनि भैरहवा भन्सार कार्यालयले भन्सार छलिगरेको १० लाख रुपैयाँ मूल्यको कपडासहित एउटा ट्रक पक्राउ गरेको थियो ।