May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

भन्सार छलीको आशंकामा १० लाख मूल्यको चकलेट नियन्त्रणमा

भैरहवा– राजश्व अनुसन्धान कार्यालय, बुटवलले भन्सार चोरी गरेको आशंकामा भैरहवाबाट झण्डै १० लाख रुपैयाँ मूल्यको तयारी चकलेट नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डा रुपन्देहीको सहयोगमा राजश्व अनुशन्धान कार्यालयले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित भाडामा लिइ गोदाम बनाएर राखिएको घरबाट २ सय ४२ कार्टुन कोजी ब्राण्डको चकलेट नियन्त्रणमा लिएको हो ।

Advertisement

भैरहवा–परासी सडक खण्डमा रहेको उक्त घर साहबुन धुनियाको हो । उनको घर केही समय अगाडिदेखि बीरगंजका एक व्यवसायीले भाडामा लिँदै गोदामको रुपमा प्रयोग गर्दै आएका थिए । स्रोतका अनुसार, बीरगंजस्थित राजनारायण इन्टरप्राइजेज नामको फर्मले उक्त घर भाडामा लिइ शाखा गोदामको रुपमा प्रयोग गर्दै आएको थियो ।

Advertisement

राजश्व अनुसन्धान कार्यालय बुटलका प्रमुख अनुशन्धान अधिकृत पशुपतिबाबु पुरीले उक्त घरको गोदाममा भन्सार चोरी गरेको सामान रहेको आशंकामा केही दिन अघि नै सिल गरिएको र सम्बन्धित व्यवसायीलाई पत्राचार गरि बारम्बार वोलाउँदा पनि सम्र्पकमा नआएपछि स्थानीयको रोहवरमा सामान नियन्त्रणमा लिइएको बताए ।

सामानसँगै लु ५ प २४४२ नम्बरको एउटा स्कुटर पनि नियन्त्रणमा लिइएको छ । ‘नियन्त्रणमा लिइएका ति सवै सामान हाल अनुसन्धानकै क्रममा छन्’, प्रमुख अनुसन्धान अधिकृत पुरीले भने, ‘प्रमाणसहित आउनका लागि सम्बन्धित व्यवसायीलाई बोलाइएको छ ।’

घरको गोदाम शिल गरिएपछि र सम्बन्धित व्यवसायी सम्पर्कमा नआएपछि भाडामा दिइएको घरलाई रोकेर धेरै दिनसम्म राखिराख्न नहुने भएकाले सामान नियन्त्रणमा लिइएको उनले जनाए । उनका अनुसार, उक्त गोदाम शिल गरे लगत्तै सम्बन्धित व्यवसायीलाई पुसको तेस्रो सातातिर बोलाइएको थियो ।