April 23, 2025, Wednesday
२०८२ बैशाख १०

फूलबारीमा पर्यटकको भीड

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिका–२, स्थित मणिमुकुन्द सेन पार्क (फूलबारी)मा आन्तरिक पर्यटकको ओइरो लागेको छ । यो पार्क आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने ठूलो उद्यान हो । बुटवल सामुदायिक वनभित्र रहेको फूलबारी २० हेक्टरमा फैलिएको छ । २०५४ देखि मणिमुकुन्द शेन पार्क स्वायक्त रुपमा चलिरहेको पार्कका उपाध्यक्ष माधव श्रेष्ठले बताए ।

पंचायतकालमा महारानी ऐश्वर्यको नाममा रहेको पार्कको प्रजातन्त्र स्थानापछि मणिमुकुन्द शेन नामकरण भएको उनले बताए । राजाको पालाको अंग्रेजसंग लडाई हुंदा गोली लागेको दरबारको भग्नावशेष, शिव मन्दिर, नारायण मन्दिर, वनस्पती तथा चिडियाघरले पर्यटक आकर्षित गरिरहेको उनले बताए । फुलबारीस्थित सेल्फी जोन, बाल उद्यानले पर्यटक तान्ने उनले बताए ।

Advertisement

‘वार्षिक ६ लाख पर्यटक आउँछन्,’ उनले भने, ‘वार्षिक तीन करोड रुपैयाँ आम्दानी हुन्छ ।’ २६ जना कर्मचारी रहेका छन् । पार्कमा पुरातत्व सम्बन्धित मानिसको आगमन बाक्लै हुने उनले बताए । फूलबारीका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट व्यवस्था गरेको उनले बताए । बुटवल–७ र ८ को बीचमा रहेको हिलपार्क रुपन्देहीको मुख्य पर्यटकीय गन्तव्य हो ।

२०५६ सालमा बुटवल हिलपार्क परिषदको नामबाट दर्ता भएर सञ्चालनमा आएको थियो । यो पार्क चुरेमा रहेकाले ‘स्वास्थ्यका लागि पार्क’ भन्ने नारा स्थापित बनेको पार्कका अध्यक्ष भीम तुलाचनले बताए । बिहान ४ बजे पार्कको ढोका खुलेपछि भीड लाग्छ सुरु हुन्छ । बिहानी हिंडाई, व्यायाम तथा योग ध्यान गर्ने र नृत्य सहितको व्यायाम गर्नेको भिड लाग्छ । उनीहरुले शुल्क तिर्नुपर्दैन । १० बजेदेखि अपरान्ह ४ बजेसम्म प्रवेश शुल्क लाग्छ । प्रति व्यक्ति ३० रुपैयाँ दरले टिकट लाग्छ । दैनिक ६ सय पर्यटक आइरहेको तुलाचनले बताए ।

‘आन्तरिक र बाह्य पर्यटक आउछन,’ उनले भने, ‘वातावण तथा पार्कमा राखिएका विभिन्न मूर्तिले पर्यटक तानेका छन ।’ शिवनगर सामुदायिक वनको १५ र लक्ष्मीनगर आर्दश सामुदायिक वनको १५ गरी ३० हेक्टरमा हिलपार्क फैलिएको छ । पार्कमा हाइकिङ र व्यायामका लागि धेरै आउने उनले बताए । बालबालीकालाई खेलाउन मिल्ने, विभिन्न फुल तथा वनस्पतीका बिरुवा रोपेर पिक्निक खान मिल्ने ४ वटा सेड समेत रहेको उनले जानकारी दिए । उनका अनुसार पार्कमा वार्षिक २३ लाख खर्च हुन्छ भने २७ लाख रुपैयाँ आम्दानी छ ।