April 22, 2025, Tuesday
२०८२ बैशाख ९

सिद्धबाबा सुरुङमार्ग कछुवा गतिमा

भैरहवा– बर्सेनि पहाडबाट पहिरो तथा ढुंगा झर्दा जनधनको क्षति भइरहेपछि यसको विकल्पमा सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रमा अहिले सुरुङमार्ग निर्माणको काम भइरहेको छ । तर, निर्माण कम्पनी र सरकारकै कारण कामले भने कति लिन सकेको छैन । पाँच वर्षमा सक्ने लक्ष्य राखिएको सुरुङमार्गको काम यस्तै गतिमा भए तोकिएको समयमा सक्नै मुस्किल पर्ने देखिन्छ ।

राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएको भन्दै यो बीचको १ किमी १२६ मिटर लम्बाईमा सुरुङमार्ग निर्माण थालिएको हो । करिब दुई वर्ष अघि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्ग निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो ।

Advertisement

सुरुमा सरकारले डिजाइन स्वीकृत र निर्माण कम्पनीले काम सुरु गर्नै बिलम्ब गरे । पछिल्लोपटक कामले केही गति लिए पनि सन्तोषजनक छैन । पाँच वर्षमा निर्माण सक्ने गरी सम्झौता गरिएको सुरुङमार्गको अहिलेसम्म ८ प्रतिशत मात्रै काम भएको छ । सरकारी तबरबाट पटक–पटक अनुगमन र निरीक्षण हुँदै आए पनि अहिलेसम्म पूरै डिजाइन स्वीकृत भएको छैन भने ठेकेदारले कामलाई तिव्रता दिन समेत सकेको छैन । अर्कातर्फ सरकारले सुरुङमार्गको बाहिरी क्षेत्र (पोर्टाल) को डिजाइन स्वीकृत गरे पनि भित्री भागको अझै स्वीकृत गर्न सकेको छैन । सरकार र निर्माण कम्पनी दुबैको विलम्बले निर्माण कार्य समयमै सकिनेमा शंका छ ।

सडक विभागमा महानिर्देशक सुशीलबाबु ढकालले सरकारले सबै किसिमका समन्वय गर्ने बताउँदै काममा विलम्ब नगर्न ठेकेदारलाई भनिसकेको जनाए । ‘भित्री डिजाइनको काम केही दिनमा स्वीकृत हुन्छ’, उनले भने, ‘यहाँ नयाँ प्रयोग हुने भएकाले हामीले स्वीकृत गरेर मात्रै हुँदैन । त्यसैले बाहिरी काम धमाधम गर्न निर्देश्न दिइसकेका छौं ।’ उनका अनुसार अनुगमन गरेर द्रुत गतिमा काम गर्न भनिएको छ ।

हालसम्म सुरुङमार्ग निर्माण क्षेत्रको जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे ३ किलोमिटर सडकलाई सुरक्षित बनाउने र सुरुङमार्गको प्रवेशद्वारामा केही काम भएको छ । राष्ट्रिय गौरवको यो आयोजनामा भइरहेको ढिलाईप्रति सरकार नै असन्तुष्ट छ । अघिल्लो शनिबार मात्रै सुरुङमार्गको निरीक्षणमा आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कामको गति निकै ढिलो भएकोमा ध्यानआर्कषण गराउँदै तिव्रता दिन निर्देशन दिएका थिए ।

आयोजना प्रमुख रामपुकार जैसवालले केही प्राविधिक कामले गर्दा ढिलाई भए पनि अब कामले तिव्रता पाउने जनाए । ‘अघिल्लो हप्ता विभागी मन्त्रीज्यु आएर अनुगमन गर्नुभएको छ, सरकारका तर्फबाट देखिएका बाधाव्यवधान फुकाउने कुरा भएको छ’, उनले भने, ‘अब कामले स्पिड लिन्छ, तोकिएको समयमा काम सक्ने गरी काम अघि बढ्छ ।’

सुरुङ मार्गको बीच–बीचमा ३ ठाउँमा केही भाग खुला (स्केप) राखिने छ । सुरुङको बीचमा केही घटना भइहाले त्यहीँबाट बाहिर निस्कन सकिने छ । सिद्धबाबा क्षेत्रको तीन किलोमिटर क्षेत्रमा बर्सेनि माथिबाट पहिरो र ढुंगा खसेर दुर्घटना हुँदा जनधनको ठूलो क्षति हुने गरेको छ । पछिल्लो १० वर्षमा मात्रै यो क्षेत्रमा ७० बढी नागरिकले ज्यान गुमाएका छन् । सय बढी सवारीसाधनमा क्षति पुगेको छ ।

यो सुरुङमार्ग निर्माणले खासगरी सिद्धार्थ राजमार्गले समेट्ने पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङलगायत दर्जन बढी जिल्लाबासीलाई सुविधा पुग्नेछ । तर, काममा भइरहेको ढिलाई यो सडकखण्ड प्रयोग गरेर आउजाउ गर्ने सर्वसाधारणले सुरुङमार्गमा यात्रा गर्न कहिले पाउँछन् भन्ने यकिन भने छै ।