May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

वर्षौ बित्यो, हुलाकी सडक सुध्रिएन

परासी– पश्चिम नवलपरासीका बासिन्दाले वर्षौदेखि साँघुरो र जीर्ण हुलाकी सडक स्तरोन्नतीको माग गर्दै आएका छन् । सवारी साधनको चाप भए पनि वर्षौदेखि मार्ग सुधार हुन सकेको छैन । पछिल्लो पटक बुटवल–नारायणगढ खण्ड बिस्तार थालिएपछि विकल्पको रुपमा हुलाकी सडक प्रयोग हुन थालेको छ ।

Advertisement

केही वर्षदेखि हुलाकी सडक स्तरोन्नतीको काम भइरहेको छ । तर, उक्त कामले गति लिन सकेको छैन । पश्चिम नवलपरासीमा निमार्णाधीन हुलाकी सडक निमार्णले गति लिन नसक्दा स्थानीयले भने सास्ती भोग्नु परेको छ । प्रतापपुर गाउँपालिकाको कठहवादेखि सुस्ता गाउँपालिकाको बेलाटारीसम्म २७ करोडको लागतमा निमार्ण हुन लागेको सडक निमार्णले गति लिन सकेको छैन ।

Advertisement

पश्चिम नवलपरासीमा हुलाकी सडक स्तरोन्नतिले गति लिएन । ९ किलोमिटर सडक निमार्णको काम सम्पन्न हुनुपर्ने समयमा जम्मा ४० प्रतिशत मात्र काम भएको छ । २०७७ सालमा निमार्ण सुरु भएर २०७९ असार मसान्तसम्ममा सम्पन्न हुनुपर्ने काम पूरा नभएपछि दोस्रो पटक म्याद थपको तयारी छ ।

ठेकेदार कम्पनीले भने नदीजन्य पदार्थको अभावको बहाना बनाउँदै काममा ढिलाइ गरेको छ । सडक निमार्णको जिम्मा पाएको बज्रगुरु महालक्ष्मी जेभी कम्पनीले लिएको छ । यसैगरी जिल्लाको सदरमुकाम परासीदेखि गोपीगन्जसम्मको ११ किलोमिटर हुलाकी सडक निमार्णको काम नौ वर्ष हुँदा समेत सम्पन्न भएको छैन ।

हुलाकी सडक आयोजना निर्देशनालय कपिलवस्तुका इन्जिनियर युवराज पाण्डेका अनुसार हुलाकी सडकको काम सोचेअनुसार अगाडि बढ्न नसकेको बताए । कामलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई बारम्बार छलफल र निर्देशन दिइएको पाण्डेले बताए । विभिन्न स्थानमा निमार्ण सामग्री राख्ने र कल्भर्ट निमार्णका लागि सडक भत्काएर नपुर्दा हिलो र धुलोले आवातजावतमा समस्या आएको स्थानीयको गुनासो छ ।

स्थानीय महेश यादवले भने, ‘वर्षभरी हिलोले हैरानी भयो, हिउँद लाग्यो धुँलोले बसिसक्नु र हिंडिसक्नु छैन । आवतजावत गर्ने मानिससँगै सडक छेउका बासिन्दालाई निकै समस्या छ ।’ ठेकेदारलाई काममा तिव्रता दिन धेरैपटक आग्रह गर्दासमेत बेवास्ता गरेको स्थानीयले बताए । यहाँ वरिपरीका वस्ती धुलोले ढाकिएका छन् । साइकल, मोटरसाइकल र पैदलयात्री धुलो ढपक्कै ढाकिन्छन् ।