May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

व्यवसायीले गौतमबुद्ध विमानस्थल अघि जारी धर्ना नरोक्ने

भैरहवा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा सन्तुष्ट हुन नसकेका भैरहवा क्षेत्रका व्यवसायीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अघि डेढ हप्तादेखि जारी धर्ना नरोक्ने भएका छन् । सोमबार पर्यटन मन्त्रालयको आह्वानमा भएको छलफलमा आन्दोलनको नेतृत्व गरेको सिद्धार्थ संजाल, रुपन्देहीसहित सिद्धार्थ उद्योग बाणिज्य संघ, नाट्टा लुम्बिनी प्रदेश लगायतका निजी क्षेत्रका संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि सहभागी थिए ।

Advertisement

छलफलमा पर्यटन मन्त्री सुदन किराँतीले विमानस्थललाई पूर्णक्षमतामा संचालन गर्न सरकार सकारात्मक रहेको भन्दै तत्काल दिल्ली र नोयडा उडानको प्रयास थालिने जनाएका थिए । उनले व्यवसायीलाई आश्वासन पार्दै सरकार पुरै तयारीसहति काममा लागेको जनाएका थिए । तर, यस विषयमा आन्दोलनरत व्यवसायी सन्तुष्ट हुन नसकेको सिद्धार्थ संजालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए ।

Advertisement

‘आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम छ, प्रधानमन्त्रीसँगको छलफलमा कस्तो निष्कर्ष निस्कन्छ, त्यसपछि बाँकी निर्णय लिन्छौं’, उनले भने, ‘अहिलेलाई धर्ना कार्यक्रम भने निरन्तर छ ।’ उनका अनुसार प्रधानमन्त्रीसँगको छलफलपछि कार्यक्रम कसरी अगाडि बढाउने भन्नेबारे छलफल गरेर अघि बढ्ने जनाए ।

उद्घाटन भएको डेढ वर्षसम्म पनि नियनिमत अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्य र निजी क्षेत्रको अर्बौं लगानी डुब्न लागेको भन्दै व्यवसायीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि निरन्तर दवाव दिँदै आएका छन् । लामो समयदेखि धर्ना कार्यक्रम हुँदै आएको छ भने अन्य संघसंस्थाले ज्ञापनपत्र बुझाउने लगायतका दवाव दिँदै आएका छन् ।

विमानस्थल बनाउन मुआब्जासहित करिब ४० अर्ब लगानी भएको छ । विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट यसको दोब्बर लगानी भएको छ । तर, नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा लगानी डुब्ने भन्दै व्यवसायी चिन्तामा छन् । सरकारले विमानस्थल संचालनका लागि खासै पहल नगरेको आरोप निजी क्षेत्रको छ ।