May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

पर्यटन मन्त्रालय र निजी क्षेत्रबीच छलफल: गाैतमबुद्ध बिमानस्थल नियमित संचालन हुनेमा ढुक्क हुन आग्रह

भैरहवा- भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नियमित संचालन गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायहरुसंग छलफल गरेको छ । साेमबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित सरोकारवालासँगको छलफलमा बिमानस्थललाई कसरी नियमित गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको गौतमबुद्ध बिमानस्थल, भैरहवाका महाप्रबन्धक हंसराज पाण्डेले बताए ।

Advertisement

सिद्धार्थ संजाल रुपन्देहीले बिगत लामो समयदेखि बिमानस्थल नियमित रुपमा संचालनको माग गर्दै धर्ना कार्यक्रम गरिरहेको समयमा पर्यटनमन्त्री सुदन किराँतीले पौष २ गते सरोकारवाला निकायहरुसंग छलफल गरेर निकास निकाल्ने प्रतिबद्धता जनाएका थिए । जसअनुसार मंसिर २७ गते सिद्धार्थ संजाल रुपन्देही, सिद्धार्थ उद्योग बाणिज्य संघ, नाट्टा लुम्बिनी प्रदेश लगायत निजी क्षेत्रलाई पत्राचार गरी सोमवार मन्त्रालयमा छलफल आयोजना गरिएको हो ।

Advertisement

पर्यटनमन्त्री किराँतीको अध्यक्षतामा बसेको बैठकमा पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, श्रम, रोजगार तथा नागरिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, नेपाल नागरिक उड्डयन प्रधिकरणका महाप्रबन्धक प्रदीप अधिकारी, सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवाली, सिद्धार्थ होटल एशोसिएनका अध्यक्ष तथा धर्ना कार्यक्रमका संयोजक चन्द्रप्रकाश श्रेष्ठ, उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौपाने , सोट्टो नेपाल लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष संजय बजिमय, चेम्बर अफ कर्मस लुम्बिनी प्रदेशका सदस्य खिमबहादुर खत्री, नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्त, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ , लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवाली, भैरहवा भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थी, सिदार्थ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आर्चाय, महासचिव कृष्णप्रसाद घिमिरे लगायतको उपस्थिति थियो ।

कार्यक्रममा गौतम बुद्ध विमानस्थलाई नियमित संचालनका लागि के गर्न सकिन्छ भन्ने बिषयमा बिमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले संचालन, चुनौति र अवसरका बिषयमा प्रस्तुती गरेका थिए । कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले भैरहवा बिमानस्थलबाट उड्ने प्यासेन्जर सुल्क घटाएर र त्रिभुवन बिमानस्थलबाट उड्ने प्यासेन्जरको बिमानस्थल सुल्क बढाएर भैरहवाको बिमानस्थललाई नियमित गराउन प्रस्ताव राखेका थिए । कार्यक्रममा बुद्ध एयरका प्रबन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले भैरहवाबाट नोयडा बिमान संचालन गर्न आफूहरु तयार रहेको बताए ।

केन्द्र सरकारले बिकेन्द्रीकरणको नीति नलिँदा गौतमबुद्ध बिमानस्थल संचालन हुन नसकेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए । संघले अझै पनि राजधानी केन्द्रित काम गर्दा गौतमबुद्ध बिमानस्थल संचालनमा आउन नसकेको बताए । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सबै सरकारले गर्छ भनेर बस्न नहुने बताए । सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले राजधानीका केही ब्याक्तिहरुको दवावका कारण बिमानस्थल संचालन हुन नसकेको बताए । बिमानस्थलसंग सरोकार राख्ने सबै निकायहरु तत्काल भैरहवामा खोल्नु पर्नेमा जोड दिए । बिमानस्थललाई हेरेर भैरहवाका ब्यावसायीहरुले अर्बाैं लगानी गरेको र त्यो ढुब्ने अवस्थामा आएको ज्ञवालीले बताए ।

सिद्धार्थ संजालका बरिष्ठ उपाध्यक्ष तथा धर्ना कार्यक्रमका संयोजक चन्द्र प्रकाश श्रेष्ठले बिमानस्थल संचालनमा राजधानीबाटै असहयोग भएकाले सरकार गंभिर बन्नु पर्ने बताए । `हामी भैरहवामा सात हजार पर्यटकहरुलाई एकैसाथ स्वागत गर्न सक्दछौं, पूर्वाधारको कुनै कमी छैन´, श्रेष्ठले भने । अन्तर्राष्ट्रिय उडानमा रहेका बिमानहरुलाई भैरहवा जानै पर्ने बाध्यकारी नीति बनाएर भैरहवा पठाउनु पर्नेमा उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले जाेड दिए ।

गौतमबुद्ध बिमानस्थल संचालनका लागि बाहिरी पूर्वाधार छैन भनेर प्रचार गर्नु गलत भएको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । छलफल कार्यक्रममा बोल्दै पर्यटनमन्त्री किराँतीले गौतमबुद्ध बिमानस्थल नियमित संचालन हुनेमा ढुक्क रहन आन्दोलरत पक्षलाई आग्रह गरे । म आजैदेखि काममा लागेँ, तपाईंहरु हेर्नुहोस्, यसको रिजल्ट तपाईंहरुले तुरुन्तै देख्नुहुने छ´, उनले भने,आजबाट गौतमबुद्ध बिमानस्थल नियमित गर्नेमा सबै निकायहरुसंग छलफल सुरु भयो, हामी छिट्टै भैरहवा दिल्ली, भैरहवा नोयडा उडान गर्दछौं।´