May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

विमानस्थल संचालनार्थ आन्दोलनप्रति पोखरेली पर्यटन व्यवसायीको समर्थन, पूर्वप्रधानमन्त्री भट्टराईको चासो

भैरहवा– गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै भैरहवामा जारी राखिएको आन्दोलनप्रति पोखरेली पर्यटन व्यवसायीले पनि समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् । आन्तरिक पर्यटन प्रबद्र्धनका लागि होटल संघ पोखरा नेपालले शनिवार भैरहवामा आयोजना गरेको ‘जाउ है पोखरा’ अभियान कार्यक्रममा पोखरेली पर्यटन व्यवसायीले भैरहवाको आन्दोलनप्रति आफ्नो समर्थन रहेको जनाए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पनि त्यही अवस्था रहेको र परि आएमा पोखरामा पनि समान खालको आन्दोलन सुरु गरिने चेतावनी समेत उनीहरुले दिए ।

Advertisement

‘पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको अवस्था एउटै खालको हो’, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि जारी राखिएको आन्दोलनप्रति हाम्रो पनि साथ छ ।’ पोेखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि नियमित अन्तर्राष्ट्रिय उडान संचालनका लागि पोखराका पर्यटन व्यवसायी तथा नीजि लगानी क्षेत्रबाट सोधखोज र नियमित खबरदारी गर्ने काम भैरहेको उनले बताए । उनका अनुसार, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि हस्ताक्षर संकलन अभियान, अनशन, घेराउ जस्ता कार्यक्रम गरिएको थियो ।

Advertisement

भ्रमण बर्ष, पर्यटन बर्ष जस्ता विभिन्न नाममा राज्यले पर्यटन व्यवसायीलाई लगानी गर्न उत्साहित बनाउने तर पर्यटन व्यवसाय थलिएको वेलामापनि संरक्षणका लागि कुनै कार्यक्रम ल्याउन नसकेको गुनासो उनले गरे । ‘पोखरामा पनि अन्तर्राष्ट्रिय उडान नियमित गर्नेतर्फ सरकारले पहल नगरेमा यहाँ जस्तै आन्दोलन सुरु गरिने छ’, उनले भने ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष ओमनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल भनेर सरकारले अरवौंको लगानी गर्ने र त्यही अनुरुप विमानस्थल संचालन गर्न पहल नगर्ने समस्या पोखरा र भैरहवाको समान रहेको बताए । ‘हाम्रो पनि धैर्यताको बाँध फुटेमा ठूलो आन्दोलन गर्न बाध्य हुने छौं’, श्रेष्ठले भने, ‘यहाँको आन्दोनप्रति हाम्रो ऐक्यबद्धता छ ।’

पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पर्यटन क्षेत्रको प्रबद्र्धनका लागि बिद्यमान समस्या र चुनौतीको सामाधानका लागि आपसमा सहकार्य गरेर अघि बढ्ने बताएका छन् । मंसिर २९ गतेदेखि थालिएको उक्त अभियान पुस ४ गतेसम्म भैरहवा हुँदै नेपालगञ्ज, धनगढी र महेन्द्रनगरसम्म पुर्याउने योजना पोखरा होटल संघको छ । शुन्य अवस्थामा रहेको पोखराको आन्तरिक पर्यटनलाई कसरी चलायमान बनाउने ? भनेर झण्डै २ दशकअघिदेखि पोखराका पर्यटन व्यवसायीले जाउ है पोखरा अभियान संचालन गर्दै आएका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडान गर्न सरकार उदाशिन रहेको भन्दै सिद्धार्थ सञ्जाल रुपन्देहीको अगुवाइमा सरकारलाई दवाव श्रृजना गरि माग पुरा गराउन मंसिर २२ देखि चरणबद्ध आन्दोलन सुरु गरिएको हो । आन्दोलन अन्तर्गत अहिले भैरहवामा बिमानस्थल अगाडि धर्ना जारी राखिको छ ।

सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले आृदो पुस २ गतेसम्म पनि माग पुरा गर्नेतर्फ सरकारले चासो नदेखाएमा बृहत आन्दोलनतर्फ उन्मुख हुँदै आन्त्रिक उडान पनि ठप्प पार्ने चेतावनी दिए ।

पूर्व प्रधानमन्त्री भट्टराईको चासो
यसैबीच शनिवार नै भैरहवा आइपुगेका पूर्व प्रधानमन्त्री बावुुराम भट्टराईले आधुनिक अर्थतन्त्रको केन्द्र अव काठमाडौंमा मात्रै सिमीत राखेर नुहने भएकाले आर्थिक बिकासका पूर्वाधार बिकेन्द्रिकरण गर्ने सोंच अनुरुप भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण भएको बताए ।

‘बुद्ध जन्मस्थल लुम्बिनीको सेराफेरो नेपालकै सवैभन्दा ठूलो आर्थिक विकास केन्द्र बन्न सक्छ भन्ने मान्यता राख्ने मान्छे म हो’, आन्दोलनरत सिद्धार्थ सञ्जालका पदाधिकारीसँगको भेटघाटमा भट्टराईले भने, ‘तर दुर्भाग्य विभिन्न बहानाले हुन सकिरहेको छैन । केही त बाह्य कारणले भए पनि राज्यले उच्च स्तरमा बसेर डिप्लोम्याटिक तबरबाट हल गर्ने बिषय हो ।’

उनको भनाइमा भारतसँगको सिमा नजिक बिमानस्थल हुनु र सुरक्षा लगायतका भूराजनीतिक बाह्य कारण भए पनि यसलाई सरकारले उच्च प्राथमिकताको आधारमा दुई मुलुकबीच उच्च स्तररीय बार्ताबाट टुंग्याउन सकिन्छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थललाई चलायमान बनाउन भिसा, स्वास्थ्य जाँच लगायतका पूर्वाधार सरकारले स्वतः तयार पार्ने बिषय भएको उनले बताए । बिमानस्थल पूर्ण संचालनका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे ।