May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै भैरहवामा बिरोध प्रदर्शन

भैरहवा- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार उदाशिन रहेको भन्दै निजी क्षेत्रले यसको बिरोधमा शुक्रवार भैरहवामा बिशाल बिरोध र्याली प्रदर्शन गरेको छ ।

Advertisement

विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको माग उनीहरुले गरेका छन् । सिद्धार्थ सञ्जाल, रुपन्देहीको अगुवाइमा जिल्लाका विभिन्न ३२ वटा संघसंस्था र सर्वसाधारणले बिरोध प्रदर्शन गरेको हुन् । बिरोध प्रदर्शनमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय, प्रदेश सभा सदस्य हेमा वेलवासै, देवीप्रसाद चौधरी, सिद्धार्थनगर नगरपािलकाका प्रमुख इश्तियाक अहमद खान, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने र स्थानीय तहका जनप्रतिनिधि पनि सहभागी थिए ।

Advertisement

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा संचालन र नियमित अन्तर्राष्ट्रिय उडान गर्न माग गर्दै गत कात्तिक १३ गते चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो । बिहान ११ बजे भैरहवाको देवकोटा चोकबाट सुरु भएको उक्त र्याली  मिलन चोक, दुरसंचार चोक, नारायणस्थान, बर्मेलीटोल हुँदै बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने सवै बक्ताले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा संचालन र नियमित अन्तर्राष्ट्रिय उडान हुनु पर्ने माग गरेका थिए । यसका लागि सरकारले चासाे र पहल गर्नु पर्ने भनाइ उनअंहरुको थियो ।

माग पूरा नगर्दासम्म आन्दोलन जारी रहने सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । यसअघि सञ्जालले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाएर अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गरेको थियो ।

`एक महिनाअघिदेखि आन्दोलन घोषणा गरेर प्रधानमन्त्री, पर्यटन मन्त्री लगायत् सरोकारवाला निकाय सवैमा ज्ञापनपत्र पनि बुझायौं तर माग सम्बोधन गर्ने तर्फ कुनै पहल र सरोकार राखेको पाइएन’, ज्ञवालीले भने, `माग पुरा गराउनका लागि सडकमा उत्रिनुको विकल्प भएन ।’

माग सम्बोधन नभए उद्योगी व्यवसायी, विभिन्न संघसंस्थाले विमानस्थलमा धर्ना दिने र आन्तरिक उडान ठप्प पार्नेसम्मका दबाबमूलक आन्दोलन घोषणा गरिएको छ । सञ्जालका प्रचारप्रसार संयोजक मधु पन्थीले सञ्जालको चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत आउँदो मंसिर २४ गते विमानस्थलमा धर्ना कार्यक्रम रहेको बताए ।