May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

पर्यटन प्रवर्द्धनका लागि वास्तविक आवश्यकता पहिचान गर्न नसक्दा लगानी उपलब्धिबिहीन

भैरहवा- पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि बास्तविक आवश्यकताको पहिचान गर्न नसक्दा गरिएका सरकारी लगानीको प्रतिफल उपलब्धिमूलक हुन नसकेको पर्यटन क्षेत्रमा संलग्न व्यवसायी तथा बिज्ञले बताएका छन् ।

Advertisement

उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा भैरहवामा जारी छैठौं लुम्बिनी प्रादेशिक महोत्सवका अवसरमा आइतवार महोत्सव स्थलमा आयोजित पर्यटन प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागी पर्यटन व्यवसायी तथा बिज्ञले पर्यटन प्रवर्द्धनका लागि निजी स्तरबाट पनि आफ्नो भूमिका निभाउनु भन्दा सरकारको मुख ताकेर बस्ने परिपाटीको अन्त्य हुनु पर्ने धारणा व्यक्त गरे ।

Advertisement

लुम्बिनी प्रदेश पर्यटन विकास समितिका प्रमुख रामु जोशीले पर्यटन प्रवर्द्धनका लागि नीजि क्षेत्रले बास्तविक आवश्यकताको पहिचान गरि अनुरुप सरकारसंग माग नगर्दा सरकारी लगानजी उपलब्धिमूलक हुन नसकेको बताए । उनका अनुसार, नीजि पर्यटन व्यवसायी र स्थानीय तहको माग अनुरुप लुम्बिनी प्रदेश सरकारले गत बर्ष १ सय ३५ जनालाई स्थानीय पर्यटक पथप्रदर्शक (लोकल टुर गाइड) को तालिम दिएकोमा यतिबेला १५ जनामात्र क्रियाशील रहेको र तालिम लिएका अन्य कता छन् ? कुनै अत्तोपत्तो छैन ।

`अहिले पनि लोकल टुर गाइड तालिमको माग गरिएका फाइल मन्त्रालयमा चाङका चाङ छन्’, उनले भने, `पर्यटनको विकासका लागि सही आवश्यकताको पहिचान गर्न सकिएन ।’
लुम्बिनीमा बौद्ध पुजाको आयोजना गरेमा बुद्धिष्ट पर्यटकको ताँती लाग्ने भन्दै गत बर्ष स्थानीय पर्यटन व्यवसायीको माग बमोजिम प्रदेश सरकारले १ लाख रुपैयाँ उपलब्ध गराएकोमा कुनै पनि काम हुन नसकेको बताए । लुम्बिनी प्रदेशमा १ सय ८३ वटा पर्यटकीय गन्तब्य स्थल रहेको र अधिकांश गन्तब्यमा परेका स्थलको बास्तविक महत्वको प्रमाणित नै हुन नसकेको उनले जनाए ।

`स्थानीय तहबाट पर्यटकीय गन्तब्यको सूचिमा समावेश गराउन भन्दै दवाव आउने गर्छ तर ति स्थलको महत्व केहो ? भन्ने वारेमा आधिकारिक पुष्टि केही हुँदैन’, उनले भने, `कतिपय मेला महोत्सव पनि कृषि र पर्यटन मेलाका नाममा पैसा कमाउने माध्यममात्र बन्ने गरेका छन् ।’

बुटवलका पर्यटन तथा होटल व्यवसायी माधव नेपालले पर्यटन प्रवर्द्धन गोष्ठि र औपचारिक कार्यक्रमबाट मात्रै नहुने भएकाले सम्पदाको संरक्षण गर्न जरुरी भएको बताए । `धन्न हाम्रा पुर्खाले बिगतमा धेरै मेहनत र कष्ट गरेर विभिन्न सम्पदा र धरोहर बनाइदिएछन्,’ उनले भने, `उतिबेला बनाइएका सम्पदाको संरक्षण गर्न नसकेर सरकारको मुख ताकेर बस्ने गरेका छौं ।’

०६२-०६३ को जनआन्दोलनपछि कुनै पनि दल र सरकारले हेर्ने लायक कुनै पनि सम्पदाको निर्माण र पर्यटन प्रवर्द्धनका काम गर्न नसकेको दावी उनले गरे । गौैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमति बनाउनका लागि बैदेशिक रोजगारीका लागि जाने हरेकको पासपोर्ट भैरहवाबाटमात्रै प्रकृया अगाडि बढ्ने खालको नीति सरकारले कम्तीमा एक बर्षका लागि अनिवार्य गराउने गरि पहलको माग गर्न आग्रह गरे ।

`यो बिमानस्थलमा  संचालनमा नआएको भन्ने भनाइप्रति म असहमत छु, मात्र अन्तर्राष्ट्रिय उडान नियमति हुन नसकेको हो’, उनले भने, `अन्तर्राष्ट्रिय उडान नियमित बनाउने मागको नाममा बिमानस्थल बन्द गर्ने भनिएको आन्दोलनको स्वरुप परिवर्तन गरेर दवाव दिन सकिन्छ ।’  सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले गौैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा संचालन हुन नदिनुको पछाडी काठमाडाैंका आठ-दश जना ठूला पर्यटन व्यवसायीको हात रहेको आरोप लगाए । `ति ठूला व्यवसायीले सवै ठूला दललाइ चुनावको वेला मोटो मोटो रकम उपलब्ध गराउने गरेका छन्’, उनको आरोप थियो, `ति व्यवसायी आफ्नो कमाइ अन्यत्र जाने डरले काठमाडौं बाहिर चल्न दिँदैनन् ।’

पर्यटन व्यवसायी संजय बजिमयले गौैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउने तर्फ सरकारको ध्यान नगएकाले आउँदो २४ गतेदेखि बिमानस्थल बन्द गर्ने बताए । गौैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अनाबश्यक कर्मचारी धेरै भएकाले बेकामे अवस्थामा रहेको र बेलहियामा रहेको अध्यागमन कार्यालयमा कर्मचारी कम भएर पर्यटकलाई सेवा सुविधा उपलब्ध गराउन नसकेको बताए । संगठनका अध्यक्ष दर्पण श्रेष्ठले लुम्बिनी प्रदेशमा भौगोलिक विविधता र सम्पदा र संस्कृतिमा धनि भएर पनि पर्यटक भित्राउन र बसाउन नसकिएको बताए ।