May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

३५ वर्षदेखि अपुरो बबई सिंचाई आयोजना

बर्दिया– राष्ट्रिय गौरवको बबई सिंचाई आयोजनाले निर्माण थालेको ३५ वर्ष बितिसक्दा पनि पूर्णता पाएको छैन । आयोजनाका अनुसार अहिलेसम्म ६९ दशमलव ३० प्रतिशत भौतिक पूर्वाधारका काम भएका छन् । बबईको पानीबाट जिल्लाका पूर्वी र पश्चिम क्षेत्रको ३६ हजार हेक्टर क्षेत्रफलमा सिंचाई गर्ने उद्देश्यले ०४५ सालमा यसको निर्माण सुरु भएको थियो ।

Advertisement

निर्माण सुरु भए लगत्तै बबई सिंचाई आयोजनाको बॉधसहितको पुल निर्माण भएको थियो । त्यस समय पूर्व–पश्चिम राजमार्गको परेवाओडारमा ६३ करोड ८५ लाख लागतमा सिंचाईको बॉधसहितको पुल निर्माण गरिएको थियो । २०५० सालमा साढे ५ किमी मूल नहरको शुरुको खण्ड निर्माण गरि मौजदा झेना, पदनाहा र राजकुलोमा पानीको सुविधा पुराउँदै आएको थियो । प्रथम चरणको बाँकी काम पुरा गर्न कुवेत कोषबाट ऋण लिने सम्बन्धी कारवाही हुँदा भारतको विरोधले सहयोग प्राप्त हुन सकेको थिएन ।

Advertisement

२०५१ साल चैत ९ गते बबई मूल नहरको काम सम्पन्न गर्न तात्कालीन सरकारले राष्ट्रिय अभियानका रुपमा काम सञ्चालन गरिएको थियो । त्यस पछि ९–१० महिना स्थानीयबासी, कर्मचारी, राजनीतिक दल, सुरक्षाकर्मी लगायत शिक्षकले श्रमदान गरेका थिए । त्यसका बाबजुत निर्माण कम्पनीबाट काम गराउँदा ३४ किमी मूल नहर निर्माण गर्न ३० वर्ष लागेको हो । बबई आयोजनाले पूर्व तर्फको २१ हजार हेक्टर र पश्चिम तर्फ १५ हजार हेक्टर क्षेत्रफल कृषि योग्य जमिनमा सिंचाई पुर्याउने उद्देश्यका साथ ०४५ सालदेखि काम शुरु भएको हो । पूर्वतर्फ ३४ किमी मूल नहर निर्माण भइसकेको छ । पश्चिमी मूल नहर कुल ४१ किमी मध्ये ३० किमी निर्माण भइसकेको छ ।

गुरुयोजना अन्तर्गत मुआब्जाका समस्याले पश्चिम क्षेत्रको मूल नहर निर्माणले गति लिन सकेको छैन । बजेटको अभावले पनि पश्चिम तर्फ नहरको प्रणाली विस्तार हुन सकेको छैन । आयोजना प्रमुख शुशिल देवकोटाले लक्ष्य अनुसार काम गर्न हरेक वर्ष २ अर्व बजेटको आवश्यकता भएको बताए । गत आवमा १ अर्व ५० करोड बजेट थियो । ०८०–०८१ मा घटेर ६० करोड रकम विनोयोजित भएकोले लक्ष्य अनुसार काम हुन सक्दैन’, उनले भने, ‘ठेकेदार कम्पनीलाई गत आवको २५ करोड भुक्तानी दिनु पर्दा ३५ करोड बचत हुन्छ ।’

यो रकमले नहर निर्माणको दायित्व पुरा नहुने उनले बताए । आयोजनाको म्याद गत वर्ष सकिएपछि ०८२–०८३ सम्म थप गरिएको छ । उक्त अवधिमा मूल नहर लगायत शाखा, प्रशाखाको संरचना बनाई सक्ने लक्ष्यसहित १८ अर्व ९६ करोड ३० लाख रकमको गुरुयोजना स्वीकृत भएको थियो । हालसम्म १२ अर्व ५ करोड खर्च भएको आयोजनाले जनाएको छ । स्रोतका अनुसार अर्थ मन्त्रलयले गत असार ३० गते सिंचाईको बजेट सडकमा रुपान्तरण गरिएको छ । मूल संगै शाखा नहर निर्माण भए पनि बबईमा पर्याप्त पानी नहु‘दा किसानले वर्ष भरी किसानले उचित प्रतिफल पाउन सकेका छैनन् ।

बॉके र बर्दिया समेतलाई पर्याप्त सिंचाई हुने भन्दै सुर्खेतमा निर्माणाधिन भेरी, बबई डाइभर्सनको काम भइरहेको छ । यो डाइभर्सन निर्माण हुनासाथ बबईमा बाह्रै महिना सिंचाईका लागि पर्याप्त पानी हुने आयोजना प्रमुख रामकृष्ण घोरासैनी बताउ‘छन् । ‘बबई खहरे खोला भएकोले पहाडमा पानी नपरे सम्म पर्याप्त पानी हुदैन,’ उनले भने, ‘भेरी बबई डाइभर्सन तयार भए सदाका लागि समस्या समाधान हुने छ ।’ आव ०८२–०८३ सम्म भेरी बबई डाइभर्सनको काम सम्पन्न भइसक्ने अनुमान सिंचाईका प्राविधिक बताउँछन् ।

नहरमा वालुवाको खासै समस्या छैन । अहिले १८ क्युमेक्स पानी बगिरहेको छ । पानी पर्याप्त नहुँदा पूर्वको मूल नहरको पुछारसम्म बग्न सकेको छैन । विगतमा थोरै बजेटसँगै काम शुरु गरेका कारण नहर निर्माणले खासै गति लिएको थिएन । सशस्त्र द्वन्द्वका समय काम नहुनु, ०७१ सालमा आएको बाढीले भौतिक संरक्षणा क्षती पुराएको र कोभिडका समय काम प्रभावित भएका कारण ढिलासुस्ती भएको आयोजनाको भनाई छ । अहिलेसम्म बबई सिंचाई आयोजनाले पानीको शूल्क उठाएको छैन । पानीको शुल्क उठाउन नसकेर काम प्रभावित नभएको आयोजना प्रमुख देवकोटाले बताए । ‘अब शुल्क उठाउने तयारीमा लागेका छौ,’ उनले भने, ‘यसका लागि उपभोक्ता समितिको बैठकमा छलफल गरिने छ ।’