May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

भैरहवामा लुम्बिनी प्रादेशिक महोत्सव सुरु

भैरहवा– रुपन्देहीको भैरहवामा छैटौं लुम्बिनी प्रादेशिक महोत्सव सुरु भएको छ । एकै थलोबाट उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीको आयोजनामा महोत्सव सुरु भएको हो । मंगलबार महोत्सवको उद्घाटन गर्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले निजी क्षेत्रको समस्या समाधानमा सरकार लागि परेको बताए ।

Advertisement

‘पुनर्कर्जा दिने कुरा होस् वा विमानस्थललाई पूर्णक्षमतामा चलाउने कुरा होस्’, उनले भने, ‘सरकार समग्र अर्थतन्त्रमा देखिएका समस्या समाधानमा कटिबद्ध छ ।’ उनले निजी क्षेत्रको साथ विना मुलुक समृद्ध हुन नसक्ने बताउँदै सरकार सधैं सहयोग हुने बताए । ‘केही समस्या देखिएका छन्, विस्तारै समाधान पनि हुँदैछन्’, उनले भने, ‘आत्तिहाल्नुपर्ने अवस्था पक्कै पनि छैन ।’

Advertisement

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले सरकारले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको दावी गरिन् । उनले संघले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिने कुरामा समेत कुनै कन्जुस्याइँ नगरेको दावी गरिन् ।

चेम्वर अफ कमर्शका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले सरकारले निजी क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाए । यस्तै अवस्था रहे मुलुक कयौं दशक पछि धकेलिने जनाउँदै उनले यसतर्फ सचेत रहन सरकारलाई आग्रह गरे । निजी क्षेत्र डुवे सरकार पनि डुब्ने उनको चेतावनी छ ।

संगठनका अध्यक्ष एवं मेला मूल आयोजक समिति संयोजक दर्पण श्रेष्ठले लामो समयदेखि आर्थिक क्षेत्र ठप्प हुँदा निरास बनेका उद्येगी, व्यवसायी, उपभोक्ता, कृषक सबैलाई एकै थलोमा जम्मा गरेर स्वदेशी उत्पादनको प्रबद्र्धन गर्न महोत्सव आयोजना गरिएको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा संचालन नहुँदा निजी क्षेत्रको अर्बौं लगानी डुब्ने खतरा बढेको बताए । सरकार सहयोगी बनेर समग्र अर्थतन्त्रमा देखिएका समस्या समाधानमा लाग्नु पर्नेमा उनले जोड दिए ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थल नचलेकै कारण धेरै व्यवसायी डुब्ने र विस्थापित हुने अवस्था आएको जनाए । उनले सरकारको पटकपटक ध्यानआकर्षण गरे पनि कहीकतैबाट सुनुवाई नभएको गुनासो गरे । संगठनका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले महोत्सवमा कृषिलाई बैज्ञानिक तथा व्यवसायीकरण गर्ने र गर्नमा सहयोग पुर्याइने जनाए । आधुनिक उपकरण, नवीन प्रविधि, औद्योगिक उपकरणहरुका बारेमा उद्यमी व्यवसायी तथा कृषकलाई जानकारी समेत गराइने उनको भनाई छ ।

उनले उत्पादक र उपभोक्ताबीच सिधा सम्पर्क गराई उपभोक्तामुखी क्रियाकलापमा वृद्धि गराई स्थानीय वस्तुको बजार व्यवस्थापनमा महोत्सवले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । भण्डारीले विमानस्थल संचालन नहुँदा व्यवसायी जोखिममा रहेको सुनाए । २५ देखि ३० करोडको कारोबार हुने विश्वास गरिएको महोत्सवमा ३ सय ५० स्टल छन् । महोत्सवमा करिब तीन लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।

परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी राष्ट्रिय साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहन र प्रर्वद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएका छन् । महोत्सव मार्फत् लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलहरुको विकास गर्ने र लुम्बिनीलाई यस क्षेत्रको आर्थिक पर्यटन विकासको मेरुदण्ड बनाउन प्रयास गरिने आयोजकले जनाएका छन् ।

महोत्सव उद्घाटनका अवसरमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साह, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहम्मद खाँ, आयोजक संस्थाका निवर्तमान अध्यक्ष अनलिकुमार ज्ञवाली, निजी क्षेत्रका अगुवा तथा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले यस्ता व्यापार मेलाले आर्थिक गतिविधि चलायमान बनाउने जनाए । उद्घाटन अघि भैरहवाको देवकोटाचोकदेखि महोत्सवस्थल सिद्धार्थनगर–८, अंचलपुरसम्म बाजागाजासहित र्याली निकालिएको थियो ।