May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

लुम्बिनी प्रादेशिक महोत्सवः सुस्ताएको बजार गुल्जार बनाउने कडी

भैरहवा– छैटौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) महोत्सवको तयारी पूरा भएको छ । भोलि (मंसिर ६)देखि हुने महोत्सवले यस क्षेत्रमा सुस्ताएको आर्थिक गतिविधिलाई गुल्जार बनाउने विश्वास गरिएको छ । महोत्सव आयोजक संस्था चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही ) ले मेलास्थल सिद्धार्थनगर–८ स्थित अंचलपुरमा मंगलबार पत्रकार सम्मेलन गरी मेलाको सबै तयारी भएको जनाएको हो ।

Advertisement

संगठनका अध्यक्ष एवं मेला मूल आयोजक समिति संयोजक दर्पण श्रेष्ठले लामो समयदेखि आर्थिक क्षेत्र ठप्प हुँदा निरास बनेका उद्येगी, व्यवसायी, उपभोक्ता, कृषक सबैलाई एकै थलोमा जम्मा गरेर स्वदेशी उत्पादनको प्रबद्र्धन गर्न महोत्सवले योगदान दिने बताए । ‘हाम्रो उद्देश्य भनेकै भैरहवा, रुपन्देही र समग्र प्रदेशसँगै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने हो’, उनले भने, ‘विषम् परिस्थितिमा पनि बजारलाई गुल्जार बनाउन प्रयास गरेका छौं ।’

Advertisement

उनले भोलि उद्घाटन हुने महोत्सव मंसिर १८ गतेसम्म चल्ने बताए । महोत्सवमा कृषि, पर्यटन, उद्योग, अटो, आइटी लगायतका स्टल रहनेछन् । बिहान ९ बजे देवकोटा चोकदेखि मेलास्थलसम्म र्याली निकालिने छ । अहिले महोत्सवस्थलमा सचिवालय, मंच, स्टल लगायतका संरचना तयार भइसकेका छन् । ‘थोरै बाँकी कामहरु छन्, ती सबै साँझसम्म सकिन्छन्’, अध्यक्ष श्रेष्ठले भने । यस्तै महोत्सव प्रवेशस्थलमा विमानको आकृतिको द्वार बनाइएको छ । ‘विमानस्थल संचालनका लागि दवाव स्वरुप हामीले प्रवेशस्थलको गेट जहाज जस्तो बनाएका हौं’, उनले भने ।

संगठनका पूर्वअध्यक्ष एवं सांस्कृतिक कार्यक्रम संयोजक नारायणप्रसाद भण्डारीले उत्पादक र उपभोक्ताबीच सिधा सम्पर्क गराई उपभोक्तामुखी क्रियाकलापमा वृद्धि गराई स्थानीय वस्तुको बजार व्यवस्थापनमा महोत्सवले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । ‘कृषिलाई बैज्ञानिक तथा व्यवसायीकरण गर्ने र गर्नमा सहयोग पुर्याइनेछ’, उनले भने, ‘आधुनिक उपकरण, नवीन प्रविधि, औद्योगिक उपकरणहरुका बारेमा उद्यमी व्यवसायी तथा कृषकलाई जानकारी समेत गराइनेछ ।’

परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी राष्ट्रिय साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहन र प्रर्वद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको उनले जनाए । ‘महोत्सव मार्फत् लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलहरुको विकास गर्ने र लुम्बिनीलाई यस क्षेत्रको आर्थिक पर्यटन विकासको मेरुदण्ड बनाउन हाम्रो प्रयास रहन्छ’, उनले भने ।

संगठनका निवर्तमान अध्यक्ष अनिलकुमार ज्ञवालीले मेला मेलामा रूपन्देही जिल्लामा रहेका पर्यटकीय स्थल लुम्बिनी, देवदह आदिको प्रचार–प्रसार गरिने जनाए । सिद्धार्थनगर क्षेत्रलाई पर्यटकीय, औद्योगिक र व्यापारिक सहरका रुपमा रुपान्तरण गर्न पहल हुनेछ । पछिल्लो समय सुस्ताएको आर्थिक क्षेत्रमा चहलपहल ल्याउनुका साथै उपभोक्तालाई स्वदेशी उत्पादनको प्रयोगमा प्रोत्साहन गर्न महोत्सव फलदायी हुने उनले जनाए ।

महोत्सवमा करिब तीन लाख अवलोकनकर्ता आउने र २५ देखि ३० करोडको कारोबार हुने विश्वास आयोजकको छ । महोत्सवमा ३ सय ५० स्टल रहने संगठनकी महासचिव लक्ष्मी अधिकरीले जानकारी दिइन् । उनका अनुसार जेष्ठ नागरिक तथा शारीरिक अशक्त (अपाङ्ग) का लागि निःशुल्क प्रवेशको वयवस्था गरिएको । शनिवार र नेपाल सरकारको विदाको दिन बाहेक अन्य दिनहरुमा बिहान ९ बजेदेखि ११ बजेसम्मका लागि सबैलाई निःशुल्क प्रवेश व्यवस्था मिलाइएको छ । भोलि मध्यान्न महोत्सवको उद्घाटन संघीय सरकारका उद्योगमन्त्री रमेश रिजालले गर्नेछन् ।