May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

२६ लाख नगदसहित कर अधिकृत पक्राउ

बाँके– आन्तरिक राजश्व कार्यालय, तुलसीपुर, दाङका कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका छन् । नेपालगन्ज विमानस्थलबाट २६ लाख रुपैयाँ नगदसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । श्री यएरलायन्सको विमानमा नेपालगन्जबाट काठमाडौं जाँदै गरेका सापकोटा विमानस्थल सुरक्षाको चेकजाँचका क्रममा पक्राउ परेका हुन् ।

बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले सापकोटाको लगेज चेकजाँच गर्ने क्रममा २६ लाख नगद फेला परेपछि नियन्त्रणमा लिइएको पुष्टि गरे । प्रहरीका अनुसार उनीसँगै काठमाडौं उड्ने तयारीमा रहेका अर्का अधिकृत दीपक पौडेल भने फरार भएका छन् । सापकोटाको लगेजमा नगद भेटिएसँगै पौडेल विमानस्थलबाट फरार भएको डीएसपी डाँगीले जनाए ।

प्रहरी स्रोतका अनुसार घुस रकम लिएर सापकोटासहित अर्का अधिकृत काठमाडौं तर्फ जाँदै थिए । यसबारे प्रहरीले गोप्य सूचना पाएको थियो । त्यसपछि प्रहरीले चेकजाँचमा कडाई गरेको थियो। विमानस्थलको कडा सुरक्षा घेरा पार गरेर अर्का अधिकृत फरार भएपछि घटना भने रहस्यमय बनेको छ ।

Advertisement