May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

अझै अघि बढ्न सकेन नौमुरे जलविद्युत् आयोजनाको काम, बजेट फ्रिज

भैरहवा– चुनावका बेला सधैं नारा बन्ने ‘नौमुरे’ बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम कछुवा गतिमा छ । आफूले जिते आयोजना सम्पन्न गर्न भूमिका खेल्ने आश्वासन बाँड्ने नेताहरु अहिले बेवास्ता गरिरहेका छन् । चुनावको मुखमा आयोजनाबारे खुबै नारा लगाएका अर्घाखाँचीबाट प्रतिनिधिसभामा निर्वाचित छोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएपछि अहिले पुर्पक्षका लागि थुनामा छन् ।

Advertisement

काँग्रेस नेतृ एवं पूर्वउपसभामुख पुष्पा भुसालले पनि चुनावमा आयोजनालाई एजेण्डा बनाएकी थिइन् । उनी चुनावमा हारे पनि अहिले उनको पार्टी काँग्रेस सरकारमा छ, तर आयोजना निर्माणमा पहलकदमी गरेकी छैनन् ।

Advertisement

लुम्बिनी प्रदेशका पाँच जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने यो आयोजना अहिले अलपत्र जस्तै छ । अर्घाखाँचीको शीतगंगा नगरपालिका–८, सातमारामा रहेको आयोजनाको गत आर्थिक वर्ष २०७९–८० मा बजेट नै फ्रिज भएको छ । आयोजनाका अनुसार ८२ प्रतिशत रकम फ्रिज भएको हो । आयोजनाले १७ दशमलव ४७ प्रतिशत रकम मात्र खर्च गरेको छ । आयोजनाको काम अघि बढ्न नसक्दा बजेट फ्रिज भएको हो ।

स्थानीयले आयोजनाबारे नेताहरुले आश्वासन मात्रै बाँड्ने गरेको गुनासो गरेका छन् । सम्भाव्यता अध्ययनअनुसार सात वर्षभित्र आयोजना सम्पन्न हुने लक्ष्य लिए पनि उद्देश्यअनुरुप काम भने हुन सकेको छैन । कार्यालयका प्रमुखदेखि अन्य कर्मचारीले तलब भत्ता खानुबाहेक अन्य प्रगति शून्यजस्तै छ । बजेट हुँदाहुँदै काम गर्न नसक्नु कार्यालयको कमजोरी रहेको स्थानीय बासिन्दा बताउँछन् ।

अघिल्लो आवमा चालु र पुँजीगत गरेर ५ करोड ७९ लाख ५३ हजार रकम विनियोजन भएकामा जम्मा एक करोड १८ लाख ७६ हजार रुपैयाँ मात्रै खर्च भएको नौमुरे बहुउद्देश्यीय आयोजना अर्घाखाँचीका प्रमुख जयराम प्रजापतीले बताए । ‘काम अगाडि बढ्न नसकेपछि बजेट खर्च गर्न नसकिएको हो’, उनले भने, ‘हामीले काम सुरु गर्न पहल गरेका छौं तर अगाडि बढ्न सकेको छैन ।’

आयोजनाका अनुसार चालु खर्चतर्फ एक करोड ८५ लाख ५३ हजार विनियोजन भएकामा ४२ लाख ६९ हजार खर्च भएको छ । दरबन्दीअनुसारका कर्मचारी नहुँदा चालु खर्चको रकम फ्रिज भएको आयोजनाको पुँजीगततर्फ चार करोड ९४ लाख विनियोजन भएकामा ७६ लाख सात हजार मात्र खर्च भएको देखिन्छ । कार्यालयको पाँच करोड ६० लाख ७७ हजार फ्रिज गएको हो । जुन कूल बजेटको ८२ दशमलव ५३ प्रतिशत रकम हो ।

आयोजनाको मुख्य काम बाँकी नै रहे पनि अन्य कार्य अगाडि बढेको कार्यालय प्रमुख प्रजापतीले बताए । ‘रिभर ट्रेनिङ वर्कको डिजाइन तयार पार्ने कार्य, आयोजना क्षेत्रको जग्गा अधिग्रहणसम्बन्धी कार्य, जलाधार क्षेत्र संरक्षणसम्बन्धी कार्य, जलाशयको परिधि छुट्टाउने कार्य, शीतखोला पुलको डिजाइन तयार पार्ने कार्यजस्ता काम सम्पन्न भएको छ’, उनले भने । उनका अनुसार बाँकी काम सुरु गर्नेबारे अझै कुनै ठेगान छैन । यसले यहाँका बासिन्दामा निराशा बढाएको छ ।