May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

१३ वर्षदेखि पुल अलपत्र

बर्दिया– जिल्ला सदरमुकाम गुलरियालाई बारबर्दिया नगरपालिकासित जोड्ने पुल १३ वर्षदेखि अलपत्र छ । पप्पु कन्स्ट्रसनले ०६८ सालबाट उक्त पुल निर्माण सुरु गरेको थियो । निर्माण पूरा भएर हस्तान्तरण नहुँदै शुरु गरेर ०७४ साल साउन २८ गते भाँसियो । पुल भाँसिएपछि ठूला सवारी साधनमा रोक लगाइयो । मोटरसाइकल, अटो र हलुका सवारी साधनलाई गुड्न दिइएको थियो ।

Advertisement

२०७९ साल असोज २० गते आएको बाढीले भाँसिएको पुल समेत बगाएको थियो । पुल बगाएपछि आउजाउ ठप्प भएको हो । पुल भाँसिएदेखि दर्जनौं मन्त्री र सांसदले अवालेकन गरेर निर्माण गर्ने वचन दिएका थिए ।

Advertisement

नयाँ पुल निर्माणका लागि दबाब दिन बर्दिया क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सांसद संजयकुमार गौतम गत बैशाख ३० गतेदेखि जेठ ६ गतेसम्म भत्किएको पुलमुनी आमरण अनसनमा बसेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गत जेठ ६ गते जिल्ला आएर जेठ मसान्तभित्र टेण्डर हुने लिखित सहमति गरेपछि गौतमले अनसन तोडेका थिए । अहिलेसम्म पुलको ठेक्का पक्रिया सुरु भएको छैन ।

स्थानीय सञ्चारकर्मीसित कुराकानी गर्दै मन्त्री ज्वालाले जेठ भित्र नयाँ पुलका लागि टेण्डर पक्रिया सुरु गरिने बताएका थिए । करिब ६ वर्षअघि हस्तान्तरण नहुँदै पुल भाँसिएपछि सरकारले नयाँ निर्माणका लागि चासो दिएको छैन । पुल निर्माणका लागि जिल्लास्थित संघसंस्था र उद्योग व्यापारीले समेत दबाब दिंदै आएका छन् । बाँकेको नेपालगन्जस्थित सडक डिभिजन कार्यालयले नयाँ पुल निर्माण गर्न बजेट सुनिश्चित नभएको जनाएको छ ।

उक्त कार्यालयले नयाँ पुल बनाउन गुलरिया नगरपालिका–४ र बारबर्दिया–११ जोड्न बबई नदी पुल नामाकरण गरिएको जनाएको छ । अहिलेको भत्किएको स्थान जब्दीघाटमा पुल निर्माण गर्दा कानुनी व्यवधान उत्पन्न हुने भएकाले नयाँ ठाउँ पहिचान र सर्भे समेत भइसकेको जनाएको छ । डिभिजन सडक कार्यालय प्रमुख निरज शाक्यले ४ सय मिटर लामो नयाँ पुल निर्माणका लागि करिब एक अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको बताए ।

‘स्रोत सुनिश्चिताका लागि अर्थ मन्त्रालयमा फाइल स्वीकृतका लागि गत जेठमै पठाएका थियौं,’ उनले भने, ‘अर्थ मन्त्रालयले अहिलेसम्म बजेट स्वीकृत गरेको छैन ।’ अर्थले बजेट स्वीकृत गर्न साथ नयाँ पुल निर्माण कार्य अघि बढ्ने उनले जनाए । पुल निर्माणको प्रक्रिया अघि बढाइए पनि कम्तिमा ६ महिना डिजाइन र सर्भेको काममा खर्च हुने बताए । पुल निर्माण २ वर्ष ६ महिना समय भित्र सम्पन्न गरि सक्नु पर्ने हुन्छ ।