बाढी पीडितद्वारा पक्की तटबन्ध माग


बर्दिया– जिल्लाका बाढी पीडितले खोला र नदी नियन्त्रणका लागि पक्की तटबन्ध निर्माणको माग गरेका छन् । जिल्लामा रहेका कर्णाली, बबई, औराही लगायत नदी र खोलाले वर्षेनि गर्ने कटानले तटीय बासिन्दा डुवानको मारमा परिरहेकाले पक्की तटबन्ध माग गरेका हुन् ।
गुलरिया नगरपालिका–११, ईन्द्रपुरका शौकत अली गद्दीले वर्षेनि आउने बाढीले यस क्षेत्रका सयौं विघा जमिन डुवानमा पर्ने भएकाले स्थायी पक्की तटबन्ध आवश्यक भएको बताए ।
बारबर्दिया–८, भगतपुरका चन्द्रबहादुर सुनार साउन २८ गतेदेखि सरस्वती आधारभूत विद्यालयमा आश्रय लिएका छन् । पाँच दिनअघि पथरैया र औरी खोलामा आएको बाढीले सुनार लगायत ५० घर डुवानमा पर्यो । हुनत वर्षेनि वर्षायाममा आउने बाढीले यहाँ डुवान हुने गर्छ । घर भित्रका खाद्यान्य लगायत सामान सुरक्षित निकाल्न नपाउँदै बाढीले क्षती पुराउँदै आएको छ ।
गत आर्थिक वर्ष बबई, भादा र ओराही नदी व्यवस्थापन आयोजनाले पर्याप्त बजेट निकासा नहुँदा लक्ष्य अनुसार तटबन्ध गर्न सकेन । बजेट निकासा नहुँदा प्रयागपुरको कटान क्षेत्र तटबन्ध गर्न नसक्दा साउन २८ गतेको बाढी पसेको थियो । यसैगरि गौरी र पशुहाटमा तटबन्धको काम पनि पर्याप्त बजेट निकासा नहुँदा अधुरो रह्यो । आयोजनाका ईन्जिनियर कपिन्द्रबहादुर रावलले पण्डितपुर देखि लटकनियासम्म कुल २८ किमी तटबन्ध बनाउने लक्ष्य रहेको बताए ।
बबई सिंचाई आयोजनाले बबई, भादा नदीको उत्तर तर्फको तटबन्धको काम गर्दै आएको छ । गत आवमा बजेटको अभावले गुलरिया–११ को ईन्द्रपुरमा तटबन्ध नगर्दा बाढीले सयौं विघा खेतमा लगाएको धानवाली डुवानमा परेको थियो । बाढीले दजनौं घर डुवानमा परेको थियो । गुलरिया–नेपालगन्ज सडक खण्डको ईन्द्रपुरदेखि लालपुरसम्म डुवानमा परेको थियो ।
बबई नदीको भादा पुल पनि तटबन्ध नहुँदा जोखिममा परेको छ । बबई सिंचाई आयोजना प्रमुख शुशील देवकोटाले बजेटको अभावमा गत आवमा तटबन्धको काम नभएको बताए । यस चालु आवमा तटबन्धका लागि बजेट निकासा भए काम शुरु गर्ने उनले जनाए ।








प्रतिकृया दिनुहोस्