June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

विकास नभएपछि प्रदेश राजधानीका बासिन्दामा निरासा

भैरहवा– लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीका बासिन्दाले बिकासको अनुभूति गर्न सकेका छैनन् । राजधानी स्थापनापछि बिकासले गति लिने विश्वास गरेका उनीहरु अहिले सडक ग्राभेल र पक्की निर्माण गर्न सकस झेल्नु परेपछि निरास छन् ।

Advertisement

अस्थाई मुकाम बुटवलबाट राजधानी सारेपछि तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले भालुवाङ र देउखुरीलाईृ आधुनिक सहर बनाउने घोषणा गरेका थिए । गुरुयोजनामा आधारित नदी तटको सहर निर्माण गर्ने बताएका थिए । सहरको नसांकन देखाएका थिए । त्यस विपरित राप्ती प्राविधिक शिक्षालयमा पूर्वाधार निर्माणका काम भइरहेका छन् । अहिले मन्त्रालयका घर बनाउने काम चलिरहेको छ । अहिले मन्त्रालाय, संसद भवन र मुख्यमन्त्री कार्यालय रहेका स्थान डुवानमा पर्ने गरेका छन् ।

Advertisement

राजधानी दाङ पुगेपछि स्थानीयले सरकारी नम्बर प्लेटका गाडी, सांसद र मन्त्री गाडीमा ओहोरदोहोर गरेका देख्ने गरेका छन् । राप्ती उपत्यकालाई आधुनिक सहर बनाउने भन्दै प्रदेश सरकारले दाङको राप्ती गाउँपालिकाका ९ वटै वडा, गढवा गाउँपालिकाको १, २ र ३ नम्बर वडा र अर्घाखाँचीको शितगंगा नगरपालिका– ८ र ९ वडाको जग्गा रोक्का गरेको थियो । प्रदेश सरकारले लगाएको उक्त रोक अझै फुकुवा गरिएको छैन । जसले गर्दा स्थानीयले आफ्नै जमिन इच्छानुसार प्रयोग गर्न पाएका छैनन् ।

प्रदेश सरकारको राजधानी आसपास क्षेत्रमा औधोगिक क्षेत्र विस्तार गर्ने आशामा राप्ती उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं व्यवसायी जगत पोखरेलले बताए । राजधानी आएपछि केही होटल खुले पनि अन्य क्षेत्रमा विकास हुन नसकेको उनले बताए । ‘विकासको सुरुवात प्रदेश सरकारबाट अझै भएको छैन, मन्त्रालयकै पूर्वाधार बन्दैछन्,’ उनले भने, ‘विस्तारै विकास होला भन्ने आशा त छ तर, नीजि क्षेत्रको विकासको बाधक जग्गा कारोबार रोक्का नै भयो । ३५ महिनासम्म जग्गा रोकिँदा बैंकबाट ऋण ल्याएर होटल, रिसोर्ट सहित अन्य धेरै उद्योग सञ्चालन हुने थिए ।’

रोकले गर्दा नीजि क्षेत्रबाट हुने बिकास रोकिएको उनले बताए । प्रदेश सरकारले मुख्यमन्त्री सहित मन्त्रालय र सम्बन्धित कार्यालयको भवन निर्माण गर्दैछ, कार्यालय स्थापित भएका छैनन । प्रदेश सरकारले जग्गा रोक्का गरेर नीजि क्षेत्रलाई काम गर्नबाट बञ्चित तुल्याएको स्थानीय बासिन्दाले बताएका छन् ।

सरकारले आफ्नै पहलमा राजधानीको मुहार फेर्ने योजना बनाएको पाइँदैन । राजधानी क्षेत्रमा गुणस्तरीय शिक्षा, विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा लगायत पूर्वाधार विकासका काम सुरु नै नभएको स्थानीय बासिन्दाको भनाई छ ।