निमार्ण व्यवसायीको आन्दोलनमा लुम्बिनी इँट्टा उद्योग संघको साथ


भैरहवा– लुम्बिनी इँट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले निर्माण व्यवसायीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै समर्थन गरेका छन् । पछिल्लो समय मुलुकभरका निर्माण व्यवसायीले सरकारले भुक्तानी नदिएको भन्दै आन्दोलनमा छन् । काम गरेको रकम नपाउँदा अप्ठ्यारोमा परेको भन्दै निर्माण व्यवसायीले गर्दै आएको चरणबद्ध आन्दोलनमा इँट्टा व्यवसायीले समर्थन गरेका हुन् ।
लुम्बिनी इँट्टा उद्योग व्यवसायी संघ, रुपन्देही अध्यक्ष अजयकुमार गुप्ताले निर्माण व्यवसायीले जाहेज माग गरेर आन्दोलन गरिरहेकाले यसमा आफूहरुले समर्थन गरेको जनाए । ‘निर्माणको काम गरिसकेपछि भुक्तानी दिनु राज्यको दायित्व हो, अहिले सरकार व्यवसायीलाई भुक्तानी नदिएर चुप बसेको छ’, उनले भने, ‘यो न्याय संगत छैन । तत्काल भुक्तानी दिइनुपर्छ । निर्माण व्यवसायीको आन्दोलनमा हामीले निरन्तर साथ दिन्छौं ।’
उनले निर्माण व्यवसायीले भुक्तानी नपाउँदा इँट्टा व्यवसायीको पनि करोडौं रकम रोकिएको जनाए । उनले केन्द्र, प्रदेश र जिल्ला इँट्टा व्यवसायीले निर्माण व्यवसायीको आन्दोलनमा साथ र समर्थन दिएको बताए । ‘निर्माण कार्य सम्पन्न भइसके पश्चात पनि सरकारी निकायहरुबाट समयमा भुक्तानी नहुँदा निमार्ण व्यवसायीहरु थप मारमा परेका छन्, निमार्ण कार्यको ठेक्कापट्टामा म्याद थपको अमूर्त आदेश भएको, भुक्तानी समस्या लगायत निमार्ण उद्योगसँग सम्बन्धित ऐन नियमका बारेमा असन्तुष्टि जाहेर गर्दै निमार्ण व्यवसायी संघबाट विभिन्न चरणमा विरोध कार्यक्रमहरु भैरहेकोमा यस संघको ध्यानकर्षण भएको छ’, उनले भने ।
उनले संघको निर्णय एवं नेपाल इँट्टा उद्योग महासंघको निर्देशन अनुसार निमार्ण सामाग्रीको प्रमुख वस्तु इँट्टा पनि भएकाले निर्माण व्यवसायीको विरोधको कार्यक्रममा ऐक्यबद्धता रहेको उल्लेख गरे । ‘हामी दुई व्यवसायिक संघको घनिष्ठ सम्बन्ध रहिआएको तथ्यलाई दृष्टिगत गरी जारी निमार्ण व्यवसायी संघबाट हुने विरोधका कार्यक्रमलाई यस इँट्टा उद्योग व्यवसायी संघबाट ऐक्यवद्धता जाहेर गर्दै नैतिक तथा भौतिक समर्थन गरेका हौं’, अध्यक्ष गुप्ताले भने । उनले सबै इँट्टा व्यवसायीलाई पनि विरोध र आन्दोलनका कार्यक्रममा ऐक्यबद्धता जनाउन भनिएको जानकारी दिए ।








प्रतिकृया दिनुहोस्