June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

गौतमबुद्ध विमानस्थललाई चलायमान बनाउन गृहकार्य

भैरहवा– काठमाडौंलाई ट्रान्जिट बनाउँदै भैरहवाबाट अन्तर्राष्ट्रिय हवाइ यात्रुलाई गन्तब्यमा पुर्याउने वारेमा सरोकारवाला निकायले अध्ययन र छलफल सुरु गरेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन नेपालमैं पहिलो पटक ट्रान्जिटको मोडेलका वारेमा गृहकार्यको थालिएको हो ।

Advertisement

नेपाल एयरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय उडान संचालन गरेका चारवटा स्थानका लागि भैरहवाबाट उड्न चाहने अन्तर्राष्ट्रिय यात्रुलाई काठमाडौंमा ट्रान्जिट बनाउने गरि सेवा संचालन गर्ने प्रस्ताव नेपाल नागरिक उड्ययन प्राधिकरण समक्ष राखेपछि सरोकारवाला निकाय यसको गृहकार्यमा जुटेका हुन् ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका महाप्रबन्धक प्रकाशबावु तिवारीले काठमाडौंमा ट्रान्जिट हुने गरि अन्तर्राष्ट्रिय उडान संचालन गर्नका लागि आवश्यक पर्ने तयारी तथा व्यवस्थापनका विषयमा सरोकारवाला निकायबीच समन्वय र छलफलसहितको अध्ययन सुरु गरिएको बताए ।

‘नेपालमैं ट्रान्जिटको सुविधा दिँदै अन्तर्राष्ट्रिय उडान संचालन अहिलेसम्म नगरिएकाले यसवारे धेरै बिषयको व्यवस्थापन गनुर्् पर्ने हुन्छ’, तिवारीले भने, ‘गौतमबुद्ध बाहेक भविष्यमा अन्य विमानस्थललाई पनि उपयोगमा आउन मिल्ने गरि कसरी संचालनमा ल्याउन सकिन्छ ? भन्ने वारेमा हामी अध्ययन र छलफलमा जुटेका छौं ।’

उनका अनुसार, काठमाडौंमा ट्रान्जिट सुविधा दिने गरि गौतमबुद्ध विमानस्थलबाट अन्य मुलुकमा जाने हवाइ यात्रुको व्यवस्थापन गर्ने वारेमा नेपाल नागरिक उड्डययन प्राधिकरणले त्रिभुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार, अध्यगमन बिभाग, नेपाल एयरलाइन्स, अन्य बिदेशी एयरलाइन्सका प्रतिनिधि र सुरक्षा निकाय सम्मिलित एउटा समिति गठन गरेको थियो । समितिले पहिलो चरणको प्रतिबेदन तिवारी समक्ष बुझाइसकेको छ ।

नेपाल नागरिक उड्डययन प्राधिकरणका अपरेशन डाइरेक्टरको संयोजकत्वमा गठित उक्त समितिले आफू समक्ष बुझाएको प्रतिवेदनमाथि थप अध्ययन गरि अघि बढिने तिवारीले बताए । ‘यसका लागि के–कस्ता सुरक्षा संयन्त्र र पूर्वाधारको व्यवस्थापन गर्नु पर्छ ? भन्ने वारेमा सरोकारवाला निकायबीच समन्वय गर्दै थप अध्ययन गरिने छ’, तिवारीले भने, ‘काठमाडौंलाई ट्रान्जिट बनाउँदै अन्य विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडानको सुविधा उपलब्ध गराउने योजना अनुरुपको तयारी भैरहेको छ ।’

नेपाल एयरलाइन्सले हाल हप्तामा एउटा काठमाडौंबाट क्वालालाम्पुर भैरहवा हुँदै काठमाडौंसम्मको हप्ताको एउटा नियमित उडान संचालन गर्दै आएको छ । यो उडान अन्तर्गत क्वालालाम्पुरबाट भैरहवाका लागि आएका यात्रु ओर्लिएपछि खाली हुने सीटमा, काठमाडौंबाट आफ्ना उडान रहेका विदेशमा जान चाहने अन्तर्राष्ट्रिय हवाइ यात्रुलाई भैरहवाबाट राखेर सुविधा दिने योजनासहितको यो प्रस्ताव अघि सारेको हो ।

यसका लागि नेपाल एयरलाइन्सले भैरहवाबाट डिर्पाचर भएर काठमाडौं पुगेका हवाइ यात्रुलाई गन्तब्यमा पुर्याउन उडान नभएसम्मका लागि काठमाडौंमा रोकिन मिल्ने गरि ट्रान्जिट बनाउन प्रस्ताव गरेको हो । नेपाल एयरलाइन्सले काठमाडौंबाट आफ्ना अन्तर्राष्ट्रिय उडान रहेको हङकङ, दिल्ली, मुम्बइ र बैंग्लोरका लागि यो सुविधा दिन सकिने गरि योजना बनाएको छ ।

नेपाल एयरलाइन्सका प्रबक्ता रमेश पौडेलले काठमाडौंलाई ट्रान्जिट बनाउने गरि आफ्नो प्रस्ताव स्वीकृति हुनासाथ योजना कार्यान्वयनका लागि तयारी अवस्थामा रहेको बताए । हप्तामा एक पटक क्वालालाम्पुरबाट झर्ने यात्रुलाई ओराल्दैमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलायमान हुन नसक्ने र यसका लागि भैरहवाबाट बिदेश जान चाहने हवाइ यात्रुले त्यहीबाटै हवाइ सुविधा पाउनु पर्ने भनाइ उनको छ ।

‘कनेक्टिङ फ्लाइटको माध्यमबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन नेपाल एयरलाइन्सले तयार पारेको यो एउटा मोडल हो’, पौडेलले भने, ‘यो सिस्टम नेपालमा प्रयोगमा नआए पनि नयाँ होइन । नेपालबाट बिदेशका धेरै मुलुकमा जानु पर्दा पनि गन्तब्यमा पुग्नु अगावै ट्रान्जिट फ्लाइट गर्नु पर्ने हुन्छ ।’

भैरहवाबाट डिपार्चर भइ उडेको यात्रु ट्रान्जिटका क्रममा काठमाडौंमैं रहेको अवस्थामा अत्याबश्यक कारणले बहिर्गमन (एराइभल) हुनु पर्ने आकस्मिक अवस्था आएको खण्डमा कसरी मिलाउने ? भन्ने अध्यागमन सम्बन्धिको व्यवस्थापनका कारणले ट्रान्जिट उडानको योजना रोकिएको हो ।

‘अध्यागमनबाट यो समाधान हुनासाथ हामी भोलिपल्टैदेखि भैरहवाबाट कनेक्टिङ अन्तर्राष्ट्रिय उडान संचालनका लागि तयारीमा छौं’, पौडेलले भने, ‘ट्रान्जिट उडानको योजना स्विकृत भएमा नेपाल एयरलाइन्सले सुरुमा भैरहवाबाट बाटो खोलेर क्रमशः अर्को रुट खोल्दै जाने योजनामा छ ।’

अध्यागमन बिभागका महानिर्देशक झलकराम अधिकारीले ट्रान्जिट उडानको क्रममा रहेको यात्रुले अत्याबश्यक कारणले काठमाडौंबाट डिपार्चर रद्ध गरि बहिर्गमन हुनु परेमा पाउने गरि प्रबिधिक रुपमा सिस्टम मिलाउन लागिएको बताए । ‘उडान रद्ध वा डिले भएकाले अर्को दिन उड्नु पर्ने अवस्थामा सम्बन्धित एयरलाइन्सकै जिम्मा तथा व्यवस्थापनमा यात्रु रहने गरि त्यस दिनका लागि र भवितब्य तथा अत्याबश्यक काम परेको यात्रु फर्किन पाउने गरि सिस्टम मिलाउदै छौं’, अधिकारीले भने, ‘यो समस्या छिट्टै समाधान गर्ने गरि अनलाइन सिस्टममा मिलाउँदै छौं ।’