June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

मोबाइल तस्करका ‘नाइके’ विशाल जैसवाल पक्राउ, छुटाउन चलखेल

भैरहवा– भारतबाट नेपालतर्फ लामो समयदेखि मोबाइल तस्करी गर्दै आएका भैरहवाका विशाल जैसवाल पक्राउ परेका छन् । रुपन्देहीका सीमा क्षेत्रबाट चोरीतस्करी गरी जैसवालले लामो समयदेखि मोबाइल भित्र्याउँदै आएका थिए । सिद्धार्थनगर–१३ निवासी जैसवाल रुपन्देहीमा तस्करीबाट भित्रिएका मोबाइल बरामद हुँदा सधैंजसो जोडिन्छन् । तर, उनी अहिलेसम्म पक्राउ परेका थिएनन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जैसवालले अबैध रुपमा भन्सार छली चोरीपैठारी गरी लुकाइछिपाई राखेको अवस्थामा बुधबार मोबाइल बरामद गरेको थियो । मोबाइल बरामद भएपछि अनुसन्धानका क्रममा उनी जोडिएपछि पक्राउ गरिएको प्रहरी भनाई छ । सिद्धार्थनगर नगरपालिका–१३ स्थित वर्ष ४० का जैसवालले आफ्नै घरमा लुकाइछिपाई राखेको अवस्थामा विभिन्न कम्पनीका स्क्रिनटच मोबाइल बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

Advertisement

उनका अनुसार स्क्रिनटच मोबाइल ३६ थान, विभिन्न कम्पनीका सादा मोबाइल १० थान र र पावर बैँक ६ पिस बरामद गरिएको छ । यी मोबाइलको अन्दाजी मूल्य ३ लाख ३२ हजार बराबर कायम गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको छ । प्रहरीले बरामद गरेका मोबाइल र मोबाइल तस्करका नाइके भनेर चिनिने जैसवाललाई आवश्यक कारबाहीका लागि भन्सार बुझाएपछि थप अनुसन्धान सुरु भएको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत नारायण जैसीले जैसवाललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए ।

जैसवाल निकै विवादित मानिन्छन् । उनले तस्करी गरेर भित्र्याउँदै गरेको मोबाइल प्रहरीले पटक–पटक बरामद गरेको छ । यसअघि एक दर्जनभन्दा बढीपटक जैसवालले तस्करी गरेर ल्याउँदै गरेका मोबाइल बरामद भएका थिए । तर, जैसवाल भने पक्राउ पर्न सकेका थिएनन् । ‘बाटोमा मोबाइल बरामद हुने भएकाले जैसवाललाई पक्राउ गर्न विगतमा निकै कठिन थियो, मोबाइल ल्याउने तस्करहरुले नाम नै खोल्न चाहँदैनथे’, जिल्ला प्रहरी कार्यालयका एक अनुसन्धान अधिकृतले भने, ‘यसपटक जैसवालकै घरमा मोबाइल बरामद भएपछि पक्राउ गर्न सहज भयो ।’

जैसवाललाई विगतमा राजश्व छलीको आशंकका राजश्व अनुसन्धान बुटवल, आन्तरिक राजश्व कार्यालय, भैरहवाले पनि अनुसन्धान गरेको थियो । उनी कयौंपटक जरिवानामा पनि परेका छन् । तस्करीसँगै विलविजक विनै मोबाइल विक्री गरेको आरोप पनि उनीमाथि छ । एक प्रहरी अनुसन्धान अधिकृत भन्छन्, ‘रुपन्देहीमा अवैध बाटोबाट भित्रिने बोमाइलमध्ये ८० प्रतिशतमा विशालको नाम जोडिन्थ्यो तर के कारणले हो प्रहरीले पक्राउ गर्न सकेको थिएन । यसपटक प्रहरीले राम्रै एक्सन लिएर समाएको छ ।’

सुरुमा भैरहवास्थित पवन मिष्ठानको छेउमा मोबाइल पसल गर्ने जैसवालले पछि जिल्ला प्रहरी कार्यालय नजिकै पसल सुरु गरे । तर, पटक–पटक प्रहरीले मोबाइल बरामद गरे पछि अहिले पुनः पवन मिष्ठानको छेउमा पसल गरिरहेका छन् । यसका साथै उनले भारतको सुनौलीमा पछिल्लो पटक मोबाइल पसल सुरु गरेका छन् । उनले सुनौलीमा रहेको त्यही मोबाइल पसलबाट नेपालतर्फ तस्करी गरी मोबाइल पठाउने गरेको प्रहरी अधिकृत बताउँछन् ।

लामो समयदेखि मोबाइल तस्करीका नाइके भनेर चिनिने उनलाई विगतमा प्रहरीले पक्राउ गर्नसमेत नचाहेको कतिपयको भनाई छ । यसपटक प्रहरी प्रमुख एसपी भरतबहादुर विकको निर्देशनमा जैसवाललाई पक्राउ गरिएको बताइएको छ । जैसवाललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको र अनुसन्धानका क्रममा अन्य व्यक्ति पनि जोडिएमा पक्राउ गरिने भन्सारका सूचना अधिकृत जैसीले बताए ।

बिहीबार बरामद मोबाइल र जैसवाललाई प्रहरीले भन्सार कार्यालय बुझाएको थियो । जैसवाल पक्राउ परेपछि केही तस्करहरुले प्रहरी र भन्सार कार्यालयलाई प्रभावमा पार्ने प्रयास गरेको बुझिएको छ । तर, प्रहरीले जैसवाललाई छाड्न मानेन र भन्सार पठायो । त्यसपछि भन्सारमा लामो समयदेखि लिलामी सकार्ने र तस्करमा संलग्न युवाहरु जैसवाललाई छुटाउन लागेका थिए । तर, भन्सार कार्यालयले जैसवालको विगतबारे जानकारी पाइसकेकाले छाड्न मानने ।

अब जैसवाललाई बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान हुने भैरहवा भन्सार कार्यालय प्रमुख मनिराम पौडेलले बताए । उनले अनुसन्धान कसैले चाहेर प्रभावित नहुने जनाउँदै भन्सारले यसबारे सुक्ष्म अनुसन्धान गर्ने जनाए । प्रहरी र भन्सारले जैसवाललाई छाड्न नमाने पछि छुटाउन चलखेल गरेरकाहरु सफल हुन सकेनन् । स्रोतका अनुसार आर्थिकलाभ हुने देखाएर जैसवाललाई छुटाउन अझै पनि केही व्यक्ति लागिपरेका छन् । जैसवाल छुटे लाखौं रुपैयाँ दिने आश्वासन दिइरहेका छन् । तर, भन्सारले मानेको छैन । जैसवालले वार्षिकरुपमा करोडौंको मोबाइल विनाभन्सार तस्कर गरेर नेपाल भित्र्याउने गरेको आरोप छ ।