नाकाको कडाइले सुनौली जाने उपभोक्तामा कमी, सर्वसाधारण महंगीको मारमा


भैरहवा– घरायसी प्रयोजनको नाममा बिना भन्सार नेपाल भित्रिने सामानमाथि भन्सार नाकामा कडाइ गर्न थालिएपछि किनमेलका लागि सिमावर्ती भारतीय बजार सुनौली, नौतनवा लगायतका स्थानमा पुग्ने नेपाली उपभोक्ताको संख्यामा धेरै कमी हुन थालेको छ ।
सामान किनमेल गर्न बिहानदेखि साँझसम्म सिमावर्ती भारतको सुनौली र नौतनवा पुग्ने नेपाली उपभोक्ताको बिगतमा जस्तै ताँती हिजोआज बेलहिया नाकामा देखिँदैन । सिमापारी पुग्ने नेपाली उपभोक्ताको संख्यामा कमी आउन थालेपछि स्वदेशमा बैध कारोवार प्रोत्साहित हुने बातावरण बनेको भन्दै स्वदेशी व्यवसायी निकै उत्साहित छन् । अर्कोतर्फ भने १ सय रुपैयाँ भन्दा माथिको सामानमा भन्सार तिराउने नियम अब्यवहारिक भएको र भन्सार नाका बाहेक दायाँवायाँका खुल्ला सिमानाबाट खुलेआम तस्करी बढ्न थालेको भन्दै सर्वसाधण स्तरमा व्यापक असन्तुष्टि बढ्न थालेको छ ।
भन्सार नाकामा लागु गरिएको यो नियमले स्वदेशी व्यापारीले मौका छोपेर मूल्य अत्याधिक बढाउन थालेको र त्यस्ता व्यापारीमाथि अनुगमन तथा कारवाही प्रक्रिया फितलो हुँदा सर्वसाधारण महंगीको मारमा पर्न थालेको गुनासो बढ्दो छ । अनुगमनको नाममा स्थानीय प्रशासन लगायतका सरोकारवाला निकायले झारा टार्ने र देखावटीका लागि कहिलेकाही मात्र अनुगमनको नाटक गर्ने गरेको भनाइ उनीहरुको छ ।
भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले भन्सार नाकामा गर्न थालिएको कडाइको सकारात्मक प्रभाव पर्न थालेको बताए । ‘घरायसी प्रयोजनका लागि भन्दै सिमापारी सामान किनमेल गर्न जाने नेपाली उपभोक्ताको संख्या दिन प्रतिदिन घट्दै गएको छ’, पौडेलले भने, ‘किनमेल गर्न पारी जानेको संख्या पहिला लस्करै हुन्थ्यो ।’
यस खालका उपभोक्ताको भिडले पहिला भन्सार नाका आसपास क्षेत्रमा इरिक्सा, मोटरसाइकल र गाडीको जाम नै लाग्ने गरेको उनले बताए । उनका अनुसार, भन्सार नाकामा कडाइ गर्दाको सुरुवातीका दिनमा भन्सार कार्यालयको यात्रु शाखामा व्यापारिक प्रयोजन बाहेक दैनिक ५ सय भन्दा धेरै भन्सार प्रज्ञापनपत्र यस खालका उपभोक्ताका लागि काटिने गर्थे । अहिले दैनिक घटेर ५० को हाराहारीमा छ । १ सय रुपैयाँ भन्दा धेरैको सामान ल्याएमा भन्सार लाग्छ भन्ने भएपछि उपभोक्ताको संख्या घटेको हो ।
घरायसी प्रयोजनका नाममा भारतीय बजारमा किनमेल गरेको मालसामान बिना भन्सार नेपाल भित्रिएर व्यापारिक कारोवार हुन थालेपछि गत बैशाख १३ गतेदेखि भैरहवा नाकामा १ सय रुपैयाँ भन्दा धेरैको सामान किनेर ल्याउँदा अनिबार्य भन्सार लगाउने गरि कडाइ गर्न थालिएको हो । घरायसी प्रयोजनका लागि भारतीय बजारमा किनमेल गरेको सामानमा १ सय रुपैयाँ भन्दा धेरैकोमा भन्सार शुल्क लगाइनु व्यवहारिक नभएको अधिकांश सिमावर्ती क्षेत्रका उपभोक्ता बताउँछन् ।
यस्ता सामानमा कम्तीमा १ हजार देखि १ हजार ५ सय रुपैयाँसम्मको सामानमा भन्सार छुट उपभोक्तालाई दिइनु पर्ने भनाइ उनीहरुको छ । ‘घरायसी प्रयोजनको नाममा पाइने भन्सार छुटको फाइदा उठाउँदै हुने व्यापारिक कारोवारलाई नियन्त्रण गर्नै पर्छ’, भैरहवा मर्निङवाक ग्रुपका पूर्व अध्यक्ष तथा नागरिक अगुवा बिजय गोबिन्द श्रेष्ठले भने, ‘तर, कहिलेकाही पारी जाने उपभोक्ताले आफ्नो घरका लागि ल्याएको सामान १ सय रुपैयाँ भन्दा धेरैको हुँदैमा भन्सार लगाइनु उति व्यवहारिक पक्ष होइन । यो छुट कम्तीमा १ हजार रुपैयाँसम्मको सामानमा हुनुपर्छ ।’
भन्सार नाकामा कडाइ गरिएपछि दायाँवायाँका खुल्ला सिमानाबाट चोरी तस्करी बढ्न थालेको र तस्करलाई छुट हुन थालेको आम सर्वसाधारणको गुनासो बढेपछि यसवारेमा भैरहवा मर्निङवाक ग्रुपले स्थानीय उद्योग वाणिज्य संघमा गइ ध्यानाकर्षण गराएको उनले बताए । भन्सार नाकामा कडाइ गरिएपछि भैरहवा लगायतका आसपास क्षेत्रका अधिकांश किराना तथा खुद्रा पसलमा दैनिक प्रयोजनका सामानको मूल्यमा अत्याधिक बढाइन थालेको गुनासो स्थानीय उपभोक्ताले गरेका छन् ।
‘पहिला ७० रुपैयाँमा पाइने सामानलाई अहिले १ सय २० रुपैयाँ लिन थालेका छन्’, सिद्धार्थनगर नपा–९ की गृहिणी अस्मिता घिमिरेले भनिन्, ‘किन यति धेरै लिएको ? भनेर पसलेसँग सोध्दा अहिले मूल्य बढेको छ भनेर जवाफ दिन्छन् ।’ सरोकारवाला निकायले नियमित र प्रभावकारी रुपमा बजार अनुमगन नगर्दा भन्सार नाकामा गरिएको कडाइले यतातिरका व्यापारीले मौकामा चौका हान्न थालेको बुझाइ उनको छ । कैयन् व्यापारीले खुल्ला सिमानाबाट तस्करी गराएर सामान भित्र्याउने र अधिकतम मूल्य, उपभोग गर्न मिल्ने मिति लेखिएको स्टिकर उप्काएर आफूखुशी मूल्यमा सामान बिक्री गर्न थालेको गुनासो उपभोक्ताले गर्न थालेका छन् ।
बिना भन्सार धेरै मूल्यको सामान नेपाल भित्रिने परिपाटीलाई निरुत्साहित गर्न नेपाली पक्षबाट गरिएको कडाइप्रति सिमावर्ती भारतका व्यवसायी भने निकै असन्तुष्ट छन् । नेपालतर्फ गरिएको यो कार्यबाट किनमेल गर्न भारतीय बजार पुग्ने नेपाली ग्राहकको कमीले व्यवसायमा असर पर्न थालेपछि भारतीय व्यवसायीले नेपालतर्फ लागु गरिएको यो कार्यको बिरोध गर्न थालेका हुन् ।
घरायसी प्रयोजनका नाममा किनमेलका लागि दैनिक कतिजना नेपाली सिमापारीको भारतीय बजारमा पुग्ने गर्थे ? भन्ने आधिकारीक तथ्याँक कतै पनि छैन । भारतको सुनौली बजार ९० प्रतिशत भन्दा धेरै नेपाली उपभोक्तामाथि निर्भर बजार हो । ‘बिना भन्सार भित्रिने सामानलाई भन्सार तिराउने कार्यक्रम निकै प्रभावकारी बनेपछि त्यसलाई बिथोल्न विभिन्न गलत आरोप हामी नेपाली व्यवसायीमाथि लगाउन थालिएको छ’, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘यस कार्यक्रमलाई बिथोल्न सिमावर्ती भारतीय केही व्यवसायीले नेपाल भारतमा आवतजावत गर्नमैं बाधा हुन थालेको भनेर राजदुतावासम्म गलत पत्राचार गरिएको छ ।’
उनले पनि नेपाली उपभोक्ता पहिलाजस्तो किनमेलका लागि सिमावर्ती भारतीय बजारमा पुग्ने परिपाटीमा कमी आएको बताए । सशस्त्र प्रहरी बल २७ नम्बर गणका एसपी दीपककुमार थापाले बिना भन्सार सिमा क्षेत्रबाट हुने व्यापारिक कारोवार नियनत्रणका लागि सशस्त्र प्रहरीको ठूलो जनशक्ति नै परिचालन गरिएको बताए । ‘बिना भन्सार नेपाल छिराइएका धेरै मूल्यका सामानमाथि कडाइ गर्न थालिएपछि फरेनी बजारमा ३० प्रतिशत भन्दा धेरै व्यापारिक स्टल खाली हुन थालेका छन्’, उनले भने, ‘किनमेलका लागि त्यहाँ जाने नेपाली उपभोक्ता पनि कम हुन थालेका छन् ।’








प्रतिकृया दिनुहोस्