तानसेनमा प्याराग्लाइडिङको मज्जा


भैरहवा– यति बेला रुपन्देही लगायत तराईका जिल्लामा गर्मीले अत्याइरहेको छ । गर्मी छल्न तराईका बासिन्दा पहाडी जिल्लामा गइरहेका छन् । स्वदेशी मात्र नभएर सिमावर्ती भारतीय सहरबाट समेत पर्यटक पहाड उक्लिरहेका छन् । उनीहरुको गन्तव्य नजिकैको पाल्पाको तानसेन र रानीमहल हुने गरेका छन् । पर्यटक आउन थालेपछि पाल्पाका विभिन्न स्थानमा पर्यटकीय गतिविधि थपिएका छन् ।
ऐतिहाँसिक पहाडी सहर तानसेन आकासबाट घुमाउने उद्देश्यले सदरमुकाम तानसेनमा प्याराग्लाइडिङ सुरु गरिएको छ । त्यसमा उडान भर्दै आकासबाट तानसेन सहर अवलोकन गर्दा रोमाञ्च महशुष हुने गरेको छ । ‘बर्ड आई भ्यू’ मा तानसेन र श्रीगर देखिँदा छुट्टै मज्जा आउने पर्यटक बताउछन् ।
‘गुजुमुज्ज तानसेन सहर मात्र होइन, मठमन्दिर, पाल्पा दरबार, सित्तलपाटी देख्दा धेरै मज्जा लाग्यो,’ भैरहवाबाट तानसेन घुम्न गएका सिद्धार्थनगर–८, का सुभम शाहीले भने, ‘पाइलटले सबै वर्णन गर्दा गजब लाग्यो ।’ ठूलो माडी फाँटको झन् गजब लागेको उनले सुनाए ।
तानसेनको आकासमा २०७९ बैशाखबाट व्यवसायिक उडान सुरु भएको हो । ‘फ्लाई तानसेन’ ले आकास उड्दाउड्दै पर्यटकीय स्थलको जानकारी गराउने प्रचलन छ । ‘तानसेन र वरपरका दृष्यावलोकन मात्र गराउँदैन पर्यटकीय स्थलको विशेषता जानकारी गराउने गरिएको छ,’ यसका संचालक तानसेन–४, मखनटोलका रुपम कक्षपतिले भने, ‘यसले हामीलाई मात्र होइन पाल्पा आउने पर्यटकलाई नै फाइदा पुगेको छ ।’
आकासमा उड्दा रानीमहल, भैरवस्थान क्षेत्रसमेत आकासबाट देख्दा पर्यटक रमाउने उनले सुनाए । दक्षिणतर्फ माडीफाँट, तानसेन दरबार, भगवती मन्दिर, अमरनारायण मन्दिर, सित्तलपाटी, टुंडिखेल, टुँडिखेल, कारागार क्षेत्र देखिन्छ । पाल्पा राज्यका विषयमा पनि उडानका क्रममा पर्यटकलाई जानकारी दिइने गरेको छ । उडानको समय अनुसार पर्यटकलाई व्याख्या गर्ने गरिन्छ ।
‘गजब के लाग्छ भने भारतीय र तेस्रो मुलुकका पर्यटकले चासो लिएर सुन्छन्,’ उनले भने, ‘पाल्पा बाहिरकालाई व्याख्या गर्दा धेरै लोभिन्छन् ।’ तानसेन उडौं अर्थान् फ्लाई तानसेन २०७९ बैशाखमा सुरु भएको हो । अहिलेसम्म पाँच सय उडान भइसकेको छ । बतासेडाँडाबाट सुुरु हुने उडान प्रभासको रक्साहामा अवतरण हुन्छ ।
एक फ्लाईको ५ हजार ५ सय रुपैयाँ लाग्छ । मौसम र हावाको चाप अनुसार १५ देखि ३० मिनेटसम्म उडान हुन्छ । ५ हजार ५ सय मिटर उचाईसम्म जान अनुमति छ । कतिपय अवस्थामा एक घण्टासम्म पनि उडाउने गरिन्छ । एडभान्चर टुरिज्मका लागि वा प्याराग्लाइडिङ गर्ने भनेर पोखरा जानु पर्दैन भन्ने भइसकेको छ । ५ जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।
नेपाली भन्दा अत्यधिक भारतीय बढी उड्ने गरेका छन् । नेपाली र तेस्रो मुलुकका कम मात्र उड्ने चाहना राख्ने उनले बताए । भारतका अधिकांश गोरखपुर, लखनउ कानपुर, बिहारका आउने गर्छन् । अष्ट्रेलिया, बेलायत लगायत विदेशमा बस्ने नेपाली पनि धेरै इच्छुक छन् । फ्लाई तानसेनले प्याराग्लाईडिङ (टेन्डम) को व्यावसायिक उडान गर्छ ।
पाल्पामा आउनेहरुलाई नयाँपन दिन साहसिक पर्यटकीय खेल सुरु गरेको उनले बताए । उनका अनुसार एक्लै प्याराग्लाईडिङ उडाउनेलाई सोलो पाइलट भनिन्छ । पाइलटसँगै अर्को मानिस राखेर उडाउनेलाई ‘टेन्डम पाइलट’ भनिन्छ । अहिले कक्षपतिसँग दुई वटा भए पनि ५ वटा उडाउने अनुमति लिएका छन् । पछिल्लो समय सीमा नाका बजार खोज्ने क्रममा छन् । अहिले अधिकांश होटलमार्फत बुकिङ आउने गरेको छ ।








प्रतिकृया दिनुहोस्