June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन पक्राउ भयोः अर्थमन्त्री

बुटवल– अर्थमन्त्री डा.प्रकाशसरण महतले आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकै कारण त्रिभुवन विमानीथलबाट एक सय किलो सुन पक्राउ परेको दाबी गरेका छन् । सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘जब पुरस्कारको व्यवस्था गरियो, तब तस्करीको सुन बरामद भयो, अब विस्तारै तस्करी निस्तज हुँदै जान्छ ।’

Advertisement

अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने भन्दै सबैलाई ढुक्क हुन आग्रह समेत गरे । सुन बरामद प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कांग्रेस सांसद डा. सुनिल शर्माको अभिव्यक्तिबारे पत्रकारको राखेको जिज्ञासा महतले शर्माको अस्पतालले स्वास्थ्य बीमा बोर्डको बीमा रकम नपाएका कारण मनपरी बोलेको प्रस्टाए । उनले मनपरी बोल्ने चलन धेरै रहेको बताउँदै प्रमाण बिना यस्तो बोल्न नहुने बताए ।

Advertisement

‘हामीकहाँ मनपरी बोल्ने चलन छ, यसलाई रोक्नुपर्छ । प्रमाण विना बोलिने कुराको खासै अर्थ रहँदैन’, उनले भने । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतले पार्टी बैठकमा एउटा कुरा गर्ने अनि बाहिर आएर अर्को हङ्गामा गर्ने भएकाले पार्टी सभापतिले बैठक लाइभ गर्ने निर्णय गरेको बताए । पार्टीको बैठक लाइभ गर्ने निर्णयले अहिले राम्रो भएको उनको भनाई थियो । तर, सधैँ गर्ने नगर्ने भन्ने बारे भने आवश्यकता अनुसार निर्णय गरिने उनले बताए ।

अर्थमन्त्री डा.महतले मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने समेत जनाए । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको धेरै राम्रो पक्ष रहेको मन्त्री महतले दाबी गरे ।

उनले पोलिसी रेट ६.५ प्रतिशत तोक्दा बैंकले ब्याजदर स्वतः खुकुलो हुने र बजारमा पुँजी प्रवाह बढ्ने जिकिर गरे । यस्तै जग्गा कारोबार पनि सहज हुने उनको भनाई थियो । सरकारले अर्थतन्त्र सुधारका लागि विभिन्न प्रयास गरेको उनले उल्लेख गरे ।