June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

भैरहवा नाकाबाट निर्यात ३८.८ प्रतिशतले बृद्धि

भैरहवा– रुपन्देहीको बेलहिया नाका हुँदै निर्यात बढेको छ । आर्थिक वर्ष २०७८–०७९ को तुलनामा आव २०७९–०८० मा ३८ दशमलव ८ प्रतिशतले निर्यात बृद्धि भएको हो । भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार, अघिल्लो आवमा ७ अर्ब ८९ करोड २३ लाख ५४ हजार रुपैयाँ मूल्यको विभिन्न नेपाली बस्तु बिदेश निकासी भएकोमा २०७९–०८० मा यो निकासी बढेर १० अर्ब ९५ करोड ७६ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

Advertisement

भन्सार प्रमुख मनिराम पौडेलले निर्यात बृद्धि हुनु सकारात्मक भएको बताए । ‘परनिर्भर भइरहेको अहिलेको अवस्थामा निर्यात बृद्धिमा खुशी हुनुपर्छ, यस्तै गरी प्रत्येक वर्ष निर्यात बढ्यो भने व्यापार घाटा पनि कम हुँदै जान्छ’, उनले भने । उनले सरकारले निर्यातलाई प्रोत्साहन गर्दै आएकाले पनि बृद्धि भएको जनाए । उनले निजी क्षेत्रलाई निर्यातजन्य वस्तु उत्पादनमा जोड दिन पनि आग्रह गरे ।

Advertisement

भन्सार अधिकृत उपेन्द्र लामिछानेका अनुसार सेन्थेटिक यार्न, खजुरको प्रशोधित तेल, खोटो रोजीन, पिना, चोकर भुस लगायतका बस्तु बेलहिया नाका हुँदै निर्यात हुने गरेको छ । गत आवबाट बेलहिया नाका हुँदै सिमेन्ट र छड पनि निर्यात भएको उनले जनाए । भन्सार तथ्यांक अनुसार सेन्थेटिक यार्न ३ अर्ब १६ करोड ५३ लाखको निर्यात भएको छ । यस्तै, खजुरको प्रशोधित तेल १ अर्ब ३ करोड, खोटो रोजीन ५४ करोड ३९ लाख रुपैयाँको निर्यात भएको छ ।

यस्तै, वनस्पती उत्पादनहरु ४६ करोड २ लाख, पिना लगायत अन्य वस्तु ४५ करोड २६ लाख, सिमेन्ट र क्लिंकर ४० करोड ९१ लाख, अल्किड रेजीन र अन्य पी.भी.सी. ३६ करोढ ८९ लाख, चोकर, भुुस ३६ करोड २० लाख रुपैयाँको निकासी भएको छ । लामिछानेका अनुसार चाउचाउ, नुडल्स, पास्ता लगायत ३२ करोड ४८ लाख रुपैयाँ र सिमेन्ट खैरो ३१ करोड ८६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सरकारले निर्यातमा केही नीतिहरु सुधार गर्दा निकासी बढेको जनाए । ‘सामान्य नीतिमा सुधार गर्दा निकासी बृद्धि भएको छ, अझै निर्यातजन्य नीति र व्यवसायीलाई प्रोत्साहन गर्ने हो भने निकासी ह्वात्तै बढ्छ’, उनले भने, ‘यसका लागि सरकार बढी जिम्मेवार बन्नुपर्छ ।’ उनले निजी क्षेत्रलाई जति प्रोसाहन गर्न सक्यो उति नै निर्यात बृद्धि हुने जनाउँदै यसका लागि वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरे ।