June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

पशु क्वारेन्टाइनले नाकामा निगरानी गर्दा लाखौं रुपैयाँको मासुजन्य वस्तु बरामद

भैरहवा– पछिल्लो एक वर्षमा पशु क्वारेन्टाइन कार्यालय, भैरहवा, रुपन्देही र यस मातहतका चेकपोष्टले लाखौं रुपैयाँ बराबरको अवैध बोइलर कुखुरा, माछा, मासु, बंगुर नष्ट गरेको छ । आर्थिक वर्ष २०७९–०८० मा भैरहवा कार्यालयसहित बेलहिया, कविलपस्तुको कृष्णनगर तथा पश्चिम नवलपरासीको महेशपुर पशु क्वारेन्टाइन चेकपोष्टले ठूलो परिणाममा अवैध पशुपंक्षी तथा मासुजन्य पदार्थ नष्ट गरेको हो ।

Advertisement

पशु क्वारेन्टाइन कार्यालय, रुपन्देहीका प्रमुख बरिष्ठ पशु चिकित्सक डा.भक्त निउरेले भारतीय बजारबाट चोरीतस्करी गरी नेपाल भित्र्याइएका र भित्र्याउँदै गरेका पशुपंक्षी तथा मासुजन्य पदार्थ कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर नष्ट गरेको जनाए ।

Advertisement

‘हाम्रो तीन स्थानमा रहेका चेकपोष्टसँगै भैरहवा कार्यालयबाट पनि अवैध मासुजन्य पदार्थ भित्रिन नदिन सीमा क्षेत्रमा निगरानी गर्ने गरेका छौं’, डा.निउरेले भने, ‘हामीले निगरानी गर्दा र अवैध बाटोबाट भित्रिएका उक्त अवैध मासुजन्य पदार्थ बरामद गरी खानयोग्य नहुने भएपछि नष्ट गर्ने गरेका छौं ।’ उनले सुरक्षा निकायले पनि बेलाबेला अवैध कुखुरा लगायतमा मासुजन्य वस्तु नियन्त्रणमा लिएर नष्ट गर्दै आएको जनाए । उनले पछिल्लो वर्षमा बरामद गरिएको मासुजन्य वस्तु लाखौं रुपैयाँको रहेको जनाए ।

क्वारेन्टाइनविनै अवैध बाटोबाट भित्रिएका मासुजन्य पदार्थ खानका लागि योग्य नहुने उनले जनाए । ‘अवैध बाटोबाट मरे, सडेगलेको, विषादी प्रयोग गरेर भित्र्याइन्छ, यस्तो मासुजन्य पदार्थ सेवन गर्नुहुँदैन’, उनले भने, ‘उपभोक्ता सचेत हुने हो र अवैध बाटोबाट आएको मासुजन्य पदार्थ सेवन नगर्ने हो भने धेरै मात्रामा नियन्त्रण गर्न सकिन्छ ।’ उनले बेलाबेलामा उपभोक्तालाई सचेतसमेत गराउँदै आएको जनाए ।

डा.निउरेका अनुसार पछिल्लो एक वर्षमा चेकपोष्ट बेलहियाले ९ हजार ९६५, कृष्णनगरले ९ हजार एक सय र महेशपुरले २ हजार ८ सय गरी जम्मा २१ हजार ८६५ बोइलर कुखुराका अवैध चल्ला नियन्त्रणमा लिएर नष्ट गरिएको छ । यस्तै ठूला बोइलर कुखुरा यी पोष्टले २२ हजार ८७ गोटा नष्ट गरेका छन् । यसमा बेलहियाले ११ हजार ५१४, कृष्णनगरले १ हजार ६०९ र महेशपुरले ८ हजार ९६४ गोटा बरामद गरेका थिए ।

यस्तै, खाने माछा बेलहियाले १ हजार ४२५, कृष्णनगरले ३ सय र महेशपुरले २ हजार १२० गरी ३ हजार ८४५ किलो नष्ट गरिएको क्यारेन्टाइन प्रमुख डा.निउरेले जानकारी दिए । उनका अनुसार कुखुराको मासु बेलहियाले १ हजार २९६ किलो र कृष्णनगरले १५ किलो गरी १ हजार ३११ ीकलो नष्ट गरिएको छ भने बंगुरको मासु महेशपुरले २३० किलो नष्ट गरेको छ ।

यस्तै, कुखुराको सेतो अण्डा कृष्णनगरले ४५० गोटा र महेशपुरले १ हजार ६५० गोटा बरामद गरी नष्ट गरेको छ । महेशपुर चेकपोष्टले ७५० किलो सिद्रा माछा पनि बरामद गरी नष्ट गरेको डा.निउरेले जानकारी दिए । एक्वैरियम सजावटी माछा बेलहियाले ५६१ गोटा बरामद गरी नष्ट गरेको उनले बताए । ‘हामीले अवैध मासुजन्य पदार्थ भित्रिन नदिन नाकाहरुमा निकै कडाई गरेका छौं, त्यसैले कारबाहीको भागिदार बन्न भन्दा यस्तो अवैध क्रियाकलापमा नलाग्न म सम्पूर्णमा अनुरोध गर्छु’, उनले भने ।