June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

लुम्बिनीमा ६४ प्रतिशत मात्रै रोपाइँ

भैरहवा– धान उत्पादन क्षेत्रका रुपमा रहेको लुम्बिनी प्रदेशमा रोपाइँको गति अझै सुस्त छ । लामो समयदेखि तराईका जिल्लामा वर्षा नभएपछि खेत बाँझैं भएका हुन् । साउनको पहिलो सातासम्म पर्याप्त वर्षा हुन सकेको छैन । सिचाइँ सुविधा नभएका खेत बाँझैं छन् । प्रदेशस्थित कृषि तथा भूमि मन्त्रालयकाका अनुसार साउन पहिलो सातासम्म ६४ प्रतिशतमात्रै रोपाइँ भएको छ ।

Advertisement

प्रदेशमा धान खेती हुने कुल ३ लाख ११ हजार ४२ हेक्टरमध्ये असार मसान्तसम्म १ लाख ९९ हजार ३४६ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले जानकारी दिए । असार १५ गतेसम्म यहाँ ११ प्रतिशतमात्रै रोपाई भएको थियो । मरासिनीका अनुसार प्रदेशमा सबै भन्दा धेरै धान रोपाइँ कपिलवस्तु र सबै भन्दाकम रुकुमपूर्वमाहुने गरेको छ ।

Advertisement

कपिलवस्तुमा ७० हजार ७० हेक्टर क्षेत्रफलमाधान रोपाइँ हुन्छ भने रुकुमपूर्वमा १ हजार ४१९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । जसमध्ये कपिलवस्तुमा अहिलेसम्म ४५ हजार ५४६ हजार हेक्टर क्षेत्रफल अर्थात् धान रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत रोपाइँ भएको छ भने रुकुमपूर्वमा १ हजार २७७ हेक्टर अर्थात् ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

त्यस्तै रुपन्देहीमा अहिलेसम्म ७५ प्रतिशत रोपाइँ सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ४७ हजार ६२३ हेक्टरमा रोपाइँ भएको छ । त्यस्तै धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ३० प्रतिशत र बर्दियामा ७४ प्रतिशत रोपाइँ सकिएको छ । दाङ जिल्लामा धान रोपाइँ हुने कुल ३७ हजार ४३० हेक्टर क्षेत्रफलमध्ये ११ हजार २२९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ भने बर्दियामा ४९ हजार ३३ हेक्टर क्षेत्रफलमध्ये ३६ हजार २८४ हेक्टरमा अर्थात् ७४ प्रतिशत रोपाइँ सकिएको छ ।

बाँकेमा धान उत्पादन हुने ३३ हजार हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म १४ हजार ८५० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । जुन धान उत्पादन हुने क्षेत्रफलमध्ये ४५ प्रतिशत मात्रै हो । पश्चिम नवलपरासीमा धान रोपाइँ हुने २० हजार ५०० हेक्टर क्षेत्रमध्ये १४ हजार ३५० हेक्टर अर्थात् ७० प्रतिशतमात्रै रोपाइँ भएको प्रवक्ता मरासिनीले बताए ।

लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सबै भन्दा धेरै धान उत्पादन हुने जिल्ला गुल्मीमा ६०.५ प्रतिशत रोपाइँ सकिएको छ । गुल्मीमा ८ हजार ६७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ भने असार सकिँदा ५ हजार २०२ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ सकिएको छ ।